मन नमिलेको नेकपा

शुक्रबार, ३१ साउन २०७६, ११ : ३२ शुक्रवार
मन नमिलेको नेकपा

बढो सकसले बल्ल बल्ल पूर्व एमाले र पूर्व एकीकृत माओवादीको टाउको मिल्दैछ। जिल्ला तहबाट मिलाउँदै ल्याएको टाउको केन्द्रमा अझै मिल्न सकेको छैन। प्राविधिक रुपमै भए पनि सकसका साथ दुई टाउके दललाई एक टाउके मनाउन शीर्ष नेता मरिहत्ते गरेर लागेका छन् उता सामाजिक सञ्जालमा पूर्व एमाले र पूर्व माओवादी भिडेर हैरान।

गाउँतहका कार्यकर्ता त भिडेकै छन्। हुँदाहुँदा केन्द्रकै नेताहरु पाखुरा नै सुर्कासुर्की गरेर गर्नेलाई भन्दा देख्नेलाई लाज झैँ गरिरहेका छन्। अझ रमाइलो कुनै पूर्व एमाले पूर्व माओवादीको पक्षमा उभिएका छन्, कोही पूर्व माओवादी पूर्व एमालेको नेताको पक्षमा उभिएर दाँतमा हानौँ दाँतमा भने जस्तो प्रतिक्रया दिइरहेका छन्। यसै साता हेरौँ न फेसबुकमा पूर्व एमालेतिरका केन्द्रीय सदस्य सूर्य थापा र पूर्व माओवादीतिरका भ्रातृ संगठन प्रमुख दीपशिखाबीच भाले भिडन्तै भयो।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो जीवनकालभर एक लपेटा नखाएको र कसैलाई लपेटा नलगाएको अभिव्यक्ति दिएपछि थापाले सार्वजनिक रुपमै जनयुद्धका क्रममा प्रचण्डकै आदेशमा हजारौँ मारिएको हैन भनेर लेखिदिए। थापाले विगत बिर्सन नहुने सुझाव के दिएका थिए दीपशिखाको पारो तातेछ। शब्दको पाखुरी सुर्कीहाले फेसबुकमा।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका युवा संघ नेपालका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले अभिव्यक्ति सैह्य नहुने टिप्पणी मात्र गरेनन् पार्टीको जिम्मेवारी त्याग गर्नसमेत सुझाए।

उनले फेसबुकमा लेखे ‘सूर्य जी, पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्षप्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन। पार्टी अनुशासन, आत्मानुशासन नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ।’

पद छाड्न सुझाव आएपछि थापा मौन बस्लान् भनेको त बसेनन्। उल्टो जवाफी फायर खोले ‘दीपशिखाले अनुशासन र मर्यादा सिकाउने ? कति हाँस्नु? यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको ?’ दुई केन्द्रीय सदस्य भिडेपछि उनका समर्थक भिड्ने नै भए। अहिलेसम्म पनि भिडिरहेका छन्।

थापाको अभिव्यक्तिलाई लिएर पूर्व माओवादी समूहका नेता कार्यकर्ताहरुले थापाको विरोध गर्दै पार्टीबाट कारबाही गर्न फेसबुकमा माग गरेका छन्।

पूर्व एमाले समूहका नेता तथा कार्यकर्ताहरुले थापाको भनाइलाई समर्थन गर्दै प्रचण्डको विरोधमा उत्रिएका छन्।
 

Leave A Comment