‘इन्जिनियरिङको स्कोप राम्रो’

आइतबार, ०१ भदौ २०७६, १२ : ४० शुक्रवार
‘इन्जिनियरिङको स्कोप राम्रो’

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानमा २१ वर्ष सेवा गरेका प्रदीपकुमार पौडेल १८ वर्षदेखि पूर्वाञ्चल विश्वविद्यालयमा आबद्ध एक्मी इन्जिनियरिङ कलेज, काठमाडौंमा संलग्न छन्। इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक ललितपुर, पूर्वाञ्चल क्याम्पस धरानमा क्याम्पस प्रमुखको भूमिका निर्वाह गरिसकेका पौडेलसँग इन्जिनियरिङ विषय अध्यापन गराएको चार दशकको अनुभव छ। करिब दुई दशकदेखि सञ्चालन भएको एक्मी कलेजमा पौडेल प्रिन्सिपलको जिम्मेवारीमा छन्। पौडेलसँग एक्मी  इन्जिनियरिङ कलेजले सञ्चालन गरेका शैक्षिक कार्यक्रमलगायत समग्र इन्जिनियरिङ क्षेत्रका बारेमा प्रिन्सिपल पौडेलसँग शुक्रवार साप्ताहिकका लागि गरिएको कुराकानी :

यहाँ आबद्ध कलेजमा के कस्ता शैक्षिक कार्यक्रमहरु छन् ?
ब्याचलर्सका तीनवटा र मास्टर्सका दुईवटा प्रोग्राम छन्। स्नातक तहमा सिभिल, कम्प्युटर र आर्किटेक्चर इन्जिनियरिङका कक्षाहरु सञ्चालन गरेका छौं। ती कार्यक्रम बिहान साढे नौ बजेदेखि बेलुका साढे पाँच बजेसम्म चल्छन्। बेलुका साढे पाँच बजेदेखि साढे आठ बजेसम्म एमएस्सी इन इन्जिनियरिङ म्यानेजमेन्ट र एमएस्सी इन इन्फरमेसन सिस्टम इन्जिनियरिङका कक्षाहरु सञ्चालन गर्दै आएका छौं।

विद्यार्थीहरुले इन्जिनियरिङ किन पढ्ने ?
इन्जिनियरिङको स्कोप बृहत् छ। नेपाल निर्माणको चरणमा भर्खर प्रवेश गरेको छ। सिभिल इन्जिनियर जति भए पनि नपुग्ने अवस्था छ। सडकदेखि हाइड्रोपावरसम्म जताततै आवश्यकता छ। आउँदो पचास वर्षका लागि सिभिल इन्जिनियरिङको माग घट्ने देखिँदैन। आर्किटेक्ट इन्जिनियरको कुरा गर्दा विगतमा घर, पुल पुलेसा डिजाइन गर्दा सिभिल इन्जिनियरले डिजाइन गर्थे। स्टक्चर डिजाइन सिभिलले गर्छ। कसरी राम्रो बनाउने, कसरी खाली ठाउँलाई उपयोग गर्ने काम आर्किटेक्चर इन्जिनियरले गर्छ। यसले गर्दा आर्किटेक्टको पनि माग बढिरहेको छ। नेपालमा आर्किटेक्चर इन्जिनियरिङ पढाउने कलेजको संख्या पनि कम छ। कम्प्युटर इन्जिनियरिङको त झन् कुरा गर्नै परेन। कम्प्युटर इन्जिनियरिङको प्रयोग कहाँ हुन्छ भन्दा पनि कहाँ प्रयोग हुँदैन भन्ने अवस्था छ। आइटीको नेपालमा मात्र नभएर विदेशमा पनि उत्तिकै महत्व छ।

प्रदीपकुमार पौडेल, प्रिन्सिपल, एक्मी इन्जिनियरिङ कलेज, काठमाडौं।

इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीले के अवसर पाएका छन् ?
इन्जिनियरिङ अध्ययन गरेका विद्यार्थीमध्ये ३० देखि ३५ प्रतिशत विद्यार्थीले स्वउद्यम सञ्चालन गरेर अरुलाई रोजगारी दिएका छन्। इन्जिनियरिङ सर्टिफिकेट लिएर जागिर खोज्न हिँड्ने विधा होइन आफैँ उद्यमी बनेर अरुलाई रोजगारी दिने स्थान त्रिएट गर्ने विधा हो। त्यसले गर्दा इन्जिनियरिङमा रोजगारी नपाएर बस्नुपर्ने समस्या छैन।

यी शैक्षिक कार्यक्रममा भर्ना भएर अध्ययन गर्नका लागि के आवश्यक छ ?
ब्याचलर्स प्रोग्राममा भर्ना हुन एसइई गरेपछि तीन वर्षको डिप्लोमा गरेको हुनुपर्छ वा एसएइई पछि प्लस टूमा साइन्स पढेको विद्यार्थी हुनुपर्छ। पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन लिएको हुनाले त्यहाँ फिजिकल ग्रुप मात्र नभएर बायो ग्रुपले पनि पढ्न पाउँछ।

यहाँको कलेजमा कति विद्यार्थी अध्यापन गराउन सक्ने क्षमता छ ? कहिलेदेखि भर्ना सुरु गरेर कक्षा सञ्चालन गर्नुहुन्छ ?
ब्याचलर्स सिभिल इन्जिनियरिङमा एक सय ४४ जना, कम्प्युटरमा ६० र आर्किटेक्टमा ४० वटा गरी दुई सय ४४ वटा कोटा रहेको छ। मास्टर्सका दुईवटै प्रोग्राममा २०/२० वटाका दरले ४० वटा कोटा छन्। अहिले भदौबाट ब्याचलर्सका प्रोग्राम सुरु हुँदैछ। भदौ १ गते र डबल दस्तुर तिरेर भदौ ८ गतेसम्म फारम भर्न पाइन्छ। भदौको अन्तिममा प्रवेश परीक्षा हुन्छ। मास्टर्सका कक्षाका लागि मंसिरमा प्रवेश परीक्षा भएर पुस, माघबाट पढाइ सुरु हुन्छ।

अन्यभन्दा यहाँको कलेजमा के फरक छ ? विद्यार्थी किन आउने ?
विद्यार्थीका  लागि उपयुक्त शैक्षिक वातावरण छ। पूर्वाधारमा हामी अब्बल छौं। इन्जिनियरिङमा नभई नहुने प्रयोगशाला हो। सबै इन्जिनियरिङ विषयमा सतप्रतिशत प्रयोगात्मक रुपमा प्रयोगशालामा अभ्यास गराउँछौं। इन्जिनियरिङमा दक्ष जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षा दिनु आवश्यक हुन्छ। त्यसका लागि हामीसँग क्वालिफाइड जनशक्ति छ। ब्याचलर्स लेभलको अध्ययनका लागि अहिले विदेश जानु पर्दैन। गुणस्तरमा कम्प्लेन गर्ने ठाउँ छैन। विद्यार्थीले पाठ्यक्रमबाहेक अतिरिक्त शिक्षा लिन चाहन्छ। खेलुकुदका लागि पूर्वाधार छ।

रिजल्ट कस्तो छ ?
दक्ष जनशक्ति उत्पादन गरेका छौँ। यहाँ अध्ययन गरेका विद्यार्थी स्वदेशसहित विदेशमा उत्कृष्टता हासिल गरेका छन्। सरकारी कार्यालयमा राम्रो ओहदामा पुगेका छन्। हाम्रै कलेजमा अध्ययन गरेका मध्यम विद्यार्थी अस्ट्रेलियामा गएर मेलवर्न युनिभर्सिटी टप गरेका छन्। जहाँ छन् त्यहाँ राम्रो गरेर बसेका छन्।

विद्यार्थीले कलेज छनोट गर्दा के कुरामा ध्यान दिनुपर्छ ?
सम्बन्धित कलेजले सञ्चालन गरेका फेकल्टी र ल्याब, त्यहाँ अध्यापन गराउने शिक्षक पनि हेर्नुपर्छ। प्रयोगात्मक अभ्यास गर्ने उपकरण छ कि छैन। त्यहाँ कस्तो पठनपाठन भइरहेको छ विद्यार्थीसँग बुझ्ने। यो कलेजमा जाँदा मेरो शैक्षिक करिअर राम्रो हुन्छ भन्ने निश्चित भएपछि मात्र कलेज भर्ना हुनुपर्छ। इन्जिनियरिङ रहरले मात्र नपढौं। विद्यार्थीको चाहना राखेको अवस्थामा इन्जिनियरिङमा पठाउनु पर्छ। विद्यार्थीलाई अध्ययन गर्न चाहेको विषयको बारेमा अध्ययन गर्ने मौका दिनुपर्छ।

मुलुकको शैक्षिक प्रणालीलाई कसरी हेर्नु भएको छ ?
नेपालमा सरकारी कलेजले विद्यार्थी धान्न सक्ने अवस्था छैन। मुस्किलले १५/२० प्रतिशत सरकारी कलेजले धानेको होला अरु सबै प्राइभेटले धानेको छ। सरकारले कन्ट्रोलिङ मेकानिज हुनुपर्छ। जुन विश्वविद्यालयले सम्बन्धन दिएको छ त्यसले नियमन गर्नुपर्छ। शिक्षामा प्रयोगात्मक अभ्याससहित अध्ययन गर्दा इन्टर्नसीपको कुरा पनि उठिरहेको छ। कक्षाकोठामा मात्र सीमित भयो कि भन्ने आरोप पनि छ। अध्ययन सकाउँदासाथ काम गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिनुपर्छ।

शैक्षिक क्षेत्रमा सुधार ल्याउन नीतिगत क्षेत्रमा सुधार गर्नुपर्ने पक्ष केही छ कि ?
इन्जिनियरिङ क्षेत्रका कलेजको तर्फबाट कुरा गर्नुपर्दा दक्षजनशक्ति उत्पादनमा सरकारले सघाउनु पर्छ। इन्जिनियरिङका प्रयोगशालामा भएका उपकरण महँगा हुन्छन्। ती उपकरण आयातमा छुट दिए कलेजले आवश्यकताअनुसार पर्याप्त उपकरण ल्याएर विद्यार्थीले अझ बढी सिक्न सक्थे। निजी कलेजमा जुन पूर्वाधार निर्माण गरेका छन्। सरकारी कलेजले पनि गुणस्तर सुधार गर्नुपर्ने अवस्था छ।

निजी कलेज धेरै नाफामुखी भए भन्ने आरोप छ नि ?
निजी क्षेत्रले कलेजमा गरेको लगानी समाज सेवाका लागि मात्र होइन। सेवासहित नाफाको अपेक्षा हुनुलाई स्वाभाविक मान्नु पर्छ। निजी भन्ने प्रतिफल नलेउ भन्न मिल्दैन। लगानी गरेपछि प्रतिफल हेर्छ। मुनाफा मात्र हेर्नेलाई नियमन पनि गर्नुपर्छ। धेरै नाफामा मात्र ध्यान दियो भने विद्यार्थी पनि आउँदैनन्।

Leave A Comment