आर्यनले दिएको पहिलो टिप्स

मङ्गलबार, ०३ भदौ २०७६, ११ : २३ शुक्रवार
आर्यनले दिएको पहिलो टिप्स

सयौं गीतहरुमा स्वर दिएकी शान्तिश्री परियार ‘बोल माया’, ‘गलबन्दी’ गीतबाट श्रोता दर्शकमाझ लोकप्रिय बनेकी छन्। परियारले थुप्रै दोहोरीसाँझमा दोहोरी गीत गाएकी छन्, उनैसँग भोला अधिकारीले गरेको नाइट लाइफ कुराकानी :  

मलाई सानैदेखि गायन क्षेत्रमा रुचि थियो। सानैदेखि स्कुलमा गाइरहेकी हुन्थेँ। स्कुलमा हुने गायन प्रतियोगितामा सधैँ पहिलो नै हुन्थेँ। म रोल्पामा जन्मेकी भएर पनि होला गाउँमा सिक्न पाइनँ। काठमाडौं आउने त सपना मात्रै थियो। जिल्ला स्तरीय गायन प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुन्थेँ। यसरी १३ वर्षको उमेरदेखि मैले लाइभ दोहोरी गीतमा भाग लिन थालेकी हुँ। रोल्पा जिल्लामा टपमै आउँथेँ। मध्यपश्चिमाञ्चल दोहोरीमा दोस्रो, तेस्रोमा त सधैँ पर्थेँ। गायनकै सिलसिलामा एकजना प्रकाश दाइले तिम्रो आवाज धेरै मिठो छ। तिमी यहाँ बसेर हुँदैन। काठमाडौं गएर गीत गायौ भने चर्चित बन्न सक्छौ भन्नुभयो। उहाँ मार्फत म काठमाडौं आए। काठमाडौं आएपछि एकजना रीता खड्का भन्ने दिदी हुनुहुन्थ्यो। उहाँ पनि दोहोरीसाँझमै काम गर्नुहुँदो रहेछ। प्रकाश दाइ र  उहाँको सहयोगमा बालाजुमा त्रिवेणी त्रिशुली भन्ने दोहोरीसाँझ थियो। त्यहाँ मैले १७ दिन जति काम गरेँ। काठमाडाैँ आउने बित्तिकै मैले यही दोहोरीसाँझमा गाउने अवसर पाएँ। तर यहाँ खासै गेष्टहरु नआउने कलाकार भएर गाउने काम गर्नुहुँदो रहेछ। यहाँको गायन मलाई ठिक लागेन र त्यसपछि बाग बजारमा रहेको  ‘रमाइलो चौतारी दोहोरीसाँझ’ मा काम गरेँ। यो अहिले पनि बाग बजारमै रहेको छ। मेरो करियर यहीँबाटै सुरुवात भएको हो।

१६  वर्षदेखि दोहोरीसाँझमा

मैले १६ वर्षे कलिलो उमेरदेखि नै दोहोरीसाँझमा गाउन थालेकी हुुुुँ। तर मैले राम्रो साथ सपोर्ट र कलाकार चिन्न थालेको भने रमाइलो चौतारी दोहोरीसाँझबाट हो। यहाँ मेरो तलब ४ हजार थियो। यो दोहोरीसाँझमा गेष्टहरु पनि धेरै आउने, साहुले तलब पनि समयमै दिनुहुन्थ्यो। तर बालाजुमा काम गर्दा त मैले तलबै पाइनँ। त्यहाँ तलब नआउनेजस्तो वातावरण बुझेँर एकजना चिनेको दिदीमार्फत बागबजारको दोहोरीसाँझमा आएकी हुँ।  यो दोहोरीसाँझ एम श्रेष्ठ सरको हो। उहाँले मलाई गायन क्षेत्रमा निकै सहयोग गर्नुभयो।

पछि एकै ठाउँमा गाइरहन मन लागेन र ठमेलको नगरकोट दोहोरीसाँझमा गएँ। नगरकोट दोहोरीसाँझमा पनि तलब राम्रै थियो। केही समय अगाडि मैले त्यहाँ पनि गाउन छोडेकी छु। मैले दोहोरीसाँझमा गाउन नै छोडेको भन्न त मिल्दैन। अहिले पनि नगरकोट दोहोरीसाँझ त होइन पहिला कै ‘रमाइलो चौतारी दोहोरीसाँझ’मा जाने गर्छु। तर जागिरकै हिसाबले होइन।

मलाई यो स्थानसम्म पु-याएको दोहोरीसाँझबाटै हो। यहाँ गाउदा लोकदोहोरी कलाकारहरुको एउटा प्लेटफर्म नै तयार भयो। ‘बोल माया’ पछि मेरा गीत हिट भए। त्यसका कारण अहिले गीत रेकर्डिङमा व्यस्त भएँ। अहिले दैनिक ३,४ वटा गीत रेकर्ड भइरहेका छन्।

रात्रिकालीन काममा हेर्ने दृष्टिकोण फरक
दिउँसै त छोरी मान्छेलाई काम गर्न जाँदा मान्छेले हेर्ने दृष्टिकोण फरक हुन्छ भने रातिमा काम गर्ने अझ दोहोरीसाँझमा भन्दा नाक खुम्च्याइ हाल्छन्। दोहोरीसाँझमा होस् या डान्सबार आफूलाई कसले कसरी हेरिरहेको छ र म कसरी सेफ हुने भनेर जान्नुपर्छ। अर्काकोमा काम गर्नु भनेको जागिर हो। जागिरमा गएपछि समयमा खान, सुत्न पाइँदैन। तर कोसँग कसरी आफू बच्ने र कसले कस्तो नजरले हेरिरहेको छ त्यसलाई ख्याल गर्ने हो।

आर्यन सिग्देलले दिएको २५० टिप्स
दोहोरी गाउदा सवालको जवाफ फर्काउँदा गेष्टहरूलाई राम्रो लाग्यो भने टिप्स दिनुहुन्थ्यो। मैले पनि टिप्स धेरै पाएकी छु। कतिले बैनी तिम्रो गायन एकदमै राम्रो छ। पछि तिमीले राम्रो गाउछौँ भन्दै अलि अलि टिप्स दिइरहनु हुन्थ्यो। प्रायः टिप्सका लागि भनेर स्टेजको कुनामा थाली राखिएको हुन्थ्यो। त्यहाँ आएको टिप्स हामी सबैले बाँड्ने गथ्र्यौँ।

रमाइलो चौतारीमा पहिलोपटक मेरो  भागमा त्यस्तै २५० रुपैयाँ टिप्स परेको थियो। त्यहाँको एकजना गुरु दाइ भन्ने हुनुहुन्थ्यो। दोहोरीसाँझ बन्द भएपछि म गाडीमा गएर बसिहाले। उहाँले लु बैनी तिम्रो भागमा २५० परेको छ भनेर दिँदा म निकै लजाएकी थिएँ। मलाई थाहा थिएन। यसरी टिप्स पाइन्छ भन्ने। टिप्स पाएपछि यति खुसी भए कुरै छैन।

बागबजारमा रहेको ‘रमाइलो चौतारी’ दोहोरीसाँझमा गाइरहेको समयमा अभिनेता आर्यन सिग्देल आउनुभएको थियो। मैले उहाँको बारेमा दोहोरी गाइदिएकी थिएँ। तिमी अहिले सिरियलको हिरो छौ कुनै दिन फिल्मको हिरो बन्नेछौ भनेर मैले उहाँलाई दोहोरीमै भनेकी थिए। उहाँले मलाई बोलाएर राम्रो गाउदीरहेछौ फुच्ची भोलिका दिनमा राम्रो सिङ्गर बन्नु भनेर २५० रुपैयाँ हातमा दिनु भएको थियो। यो मलाई अहिले पनि उत्तिकै  यादगर छ।

Leave A Comment