रियोकी कान्छी खेलाडी

शुक्रबार, २१ साउन २०७३, १२ : ३४ कमल खत्री , Kathmandu
रियोकी कान्छी खेलाडी

आजबाट खेलकुदको महाकुम्भ ओलम्पिक सुरु हुँदैछ । ब्राजिलको रियो दी जानिरोमा हुने ओलम्पिक २०१६ ले करिब दुई हप्ताभन्दा बढी विश्वको ध्यानलाई केन्द्रित गर्नेछ । ओलम्पिक सुरु हुनअघि नै खेलाडीबारे चर्चा हुन सुरु भइसकेको छ ।
ब्राजिल र बार्सिलोनाका स्टार नेइमार रियो ओलम्पिकमा धेरैले पछ्याइरहेका खेलाडी हुन् । साउदी अरबकी पहिलो पुस्ताकी खेलाडी साराह अल अटारले दोस्रो पटक ओलम्पिक खेल्दा विधा परिवर्तन गर्दै म्याराथनमा भाग लिने भएकी छिन् । नेइमार, साराहजस्ता खेलाडी ओलम्पिक सुरु हुनअघि नै चर्चाको विषय बनेका छन् । ओलम्पिक सुरु हुनअघि चर्चित हुनेमा खेलाडीमा नेपाली खेलाडी गौरिका सिंह पनि हुन्  । गौरिका रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी भएको आयोजकले जनाएको छ ।
गौरिका पछिल्लो समय नेपाली पौडीकी आशा लाग्दी खेलाडी हुन् । उनले प्राप्त गरेको सफलताले नेपाली पौडीमाथि थुप्रै चुनौती र महŒवाकांक्षा पलाएका छन् ।
छ महिनाअघि भारतमा सम्पन्न १२ औँ दक्षिण एसियाली खेलकुद (साग) मा सनसनीपूर्ण नतिजा निकाल्दै सबैलाई आश्चर्यमा पारेकी थिइन् उनले । तर, ओलम्पिकमा भने उनी उमेरका कारण चर्चामा छिन् ।
गौरिकाले ओलम्पिकमा आइतवार एक सय मिटर ब्याक स्ट्रोकको हिट्समा प्रतिस्पर्धा गर्नेछिन् । त्यही दिन उनले १३ वर्ष २ सय ५५ दिन पूरा गर्ने छिन् ।
रोयट्र्ससँग कुरा गर्दै गौरिकाले पहिलो पटक सुन्दा विश्वास गर्न गाह्रो भएको बताएकी छिन् । ‘मेरो उमेर सानो छ । तर, म नै रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी छु भन्दा विश्वास लागेको थिएन,’ मातापितासँगै बेलायत बसोवास गरिरहेकी गौरिकालाई उद्धृत गर्दै रोयट्र्सले उल्लेख गरेको छ, ‘मैले महिना दिनअघि थाहा पाउँदा अचम्म लागेको थियो ।’
गत वर्ष वैशाख १२ को विनाशकारी भूकम्पमा नेपालमा रहँदाको अवस्थालाई पनि रोयट्र्ससँगको कुराकानीमा गौरिकाले स्मरण गरेकी छिन् । ‘त्यो साँच्चै डरलाग्दो अवस्था थियो । हामी पाँचौँ तलामा थियौँ,’ उनले सम्झिइन्, ‘भाग्यवश, अरूको घरजस्तो हाम्रो घर भत्किएन ।’
छोरी रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी भएमा गर्व गर्दै गौरिकाका पिता पारसले भने, ‘उनी विशेष छिन् । उनी रियो ओलम्पिककी कान्छी खेलाडी भन्दा विश्वास गर्ने गाह्रो लागिरहेको छ । अब उनले ओलम्पिकको दबाब कसरी खेप्छिन् त्यो हेर्नुछ ।’
दुई वर्षको उमेरबाट परिवारसाथ बेलायत बस्दै आएकी गौरिकाले छ महिनाअघि १२ औँ सागमा नेपालका लागि एक रजत पदकसहित चार कास्य जितेकी थिइन् । सागमा नेपाललाई व्यक्तिगत पदक दिलाउने गौरिका पहिलो खेलाडी हुन् । उनले २०० मिटर व्यक्तिगत मिड्लेमा रजत तथा ५०, १०० र २०० मिटर ब्याकस्ट्रोकमा कास्य जितेकी थिइन् ।

 

Leave A Comment