राष्ट्रपति गिज्याइएको किताब भाइरल

शनिबार, ०७ भदौ २०७६, ११ : ५५ शुक्रवार
राष्ट्रपति गिज्याइएको किताब भाइरल

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई किन सम्मान गर्नुपर्छ र किन उनी विश्वासयोग्य छन् भनी लेखिएको १९० पृष्ठको किताब यतिबेला भाइरल भएको छ।

रमाइलो त के छ भने यो पुस्तकको जम्मा पृष्ठ १९० भए पनि १८८ पृष्ठ पूरै खाली छ।

यो पुस्तकका लेखक ३० वर्षीय विल्यम थम्स हुन्। उनले लेखेको पुस्तकको नाउँ, ‘किन राष्ट्रपति बोल्सनारो सम्मान, विश्वास र इज्जत गर्न योग्य छन्’ राखिएको छ। यो पुस्तक विवादास्पद राजनीतिज्ञको पक्षमा नभई विपक्षमा लेखिएको हो।

‘खासमा यी राष्ट्रपति यति पत्रु छन् कि यिनी कुनै सम्मानका योग्य छैनन्,’ थम्सले भने, ‘यिनका बारेमा दुई पेजमा मैले केही शब्द प्रस्तुत गरेको छु र बाँकी सबै खाली राखेको छु किनभने बाँकी पाठकहरुले थप्दा पनि हुन्छ।’

त्यसो त यो पुस्तक २०१९ को शुरुमा नै निस्किएको भए पनि यसमाथि कसैको नजर पुगेको थिएन। पछिल्लो समयमा सामाजिक सञ्जालमा भाइरल भएपछि भने उनको यो कामको सराहना ह्वात्तै बढेको थियो।

थम्सको यो कार्यलाई केहीले निकै सराहना गरेका छन्। केहीले त यसलाई भाइरल बनाउन भूमिकासमेत खेलेका छन्, भनेका छन्, ‘यो अहिलेसम्म राष्ट्रपतिका बारेमा निस्किएका किताबहरुमध्ये सबैभन्दा उत्कृष्ट किताब हो। यत्तिको गतिलो मूल्याङ्कन यसअघि कहिल्यै भएको थिएन।’

अमेजन डटकमको पुस्तक बिक्री सूचीमा यसलाई पाँच तारे रिभ्यु दिइएको मात्र छैन, तीन सयभन्दा बढी मानिसले यस किसिमको व्यंग्यकारितालाई उत्तम शैली मानेका छन्।

बोल्सोनारो सेनाका क्याप्टेनसम्म भएर सांसद बनेका थिए। उनी जनवरीमा नयाँ राष्ट्रपतिका रुपमा चुनिएका थिए। उनलाई ब्राजिलको डोनाल्ड ट्रम्पका रुपमा पनि चिनिन्छ।

यसअघि अमेरिकामा पनि डोनाल्ड ट्रम्पलाई जिस्क्याउँदै सन् २०१६ मा लेखक डेभिड किङले खाली पृष्ठका पुस्तक ‘ह्वाई ट्रम्प डिजर्भ ट्रस्ट, रेस्पेक्ट एन्ड एडमाइरेसन’ निकालेका थिए। त्यस्तै २०१७ मा माइकल जे नोल्सले २६६ पृष्ठको ‘रिजन्स टु भोट फर डेमोक्रेट्सः अ कम्प्रिहेन्सिभ गाइड’ पुस्तक निकालेका थिए।

Leave A Comment