‘यति पैसाले के पुग्छ भनेर टिप्स दिने यात्रु पनि हुन्छन्’

मङ्गलबार, १० भदौ २०७६, ११ : ०१ शुक्रवार
‘यति पैसाले के पुग्छ भनेर टिप्स दिने यात्रु पनि हुन्छन्’

कृष्णबहादुर थापा, नाइट ट्याक्सी, चालक बा२ज २०८८

ट्याक्सी क्षेत्रमा कसरी आइयो ?
विदेशमा कमाएको थोरै पैसा थियो।  नेपालमा आएपछि त्यो पैसा केमा लगानी गरेर आफ्नो रोजगार आफैँ सिर्जना गर्नसक्छु भन्ने लाग्यो। साथीभाइको सल्लाहअनुसार ट्याक्सी चलाउन थालेँ। थोरै लगानीमा पुरानो मोडलको ट्याक्सी किनेँ। पछि त्यो ट्याक्सी बेचेर  लोन लिएर नयाँ ट्याक्सी किनेँँ। अहिले किस्ता तिर्न नसकेर हैरान भएको छु।

विदेशमा पनि ट्याक्सी नै चलाउनुहुन्थ्यो  कि ? के काम गर्नुहुन्थ्यो ?
मलेसिया गएको थिएँ। त्यहाँ ग्लोप्स कम्पनीमा ५ वर्षसम्म काम गरेँ। मैले पहिला पनि गाडी चलाउने भएकोले जानेको सीपमै मन जाँदो रहेछ। विदेशबाट नेपाल आई ट्याक्सी पेसामा आएको हुँ। अहिले यो ट्याक्सी पनि ऋणमै रहेको छ। १८ प्रतिशत ऋण सहकारीलाई बुझाइरहेको छु। सुरुवातको समयमा त ठिकै थियो। तर अहिले ट्याक्सी चलाएर टिक्न मुस्किल पर्न थाल्यो।

मुस्किल हुनुको कारण ?
पछिल्लो समय सरकारले भाडा समायोजन गरिदिएको छैन। अर्को कुरा १ जना ,२ जना यात्रु पाउन पनि मुस्किल छ। हाम्रा प्यासेन्जर टुटल पठाओले ओसार्न  थालेपछि हामीलाई गाह्रो भएको छ। आक्कलझुक्कल मात्र प्यासेन्जर पाउन थालियो। यसकारण पनि हाम्रो पेसा धराशयी बन्दै गएको छ।

हाउमचमा कत्तिको परियो त ?
आफू जस्तो प्यासेन्जर त्यस्तै खालको टिप गर्ने चालक हुँ म। म यात्रुले त्यतिकै जाऊँ भने पनि ओके मिटरमा जाऊँ भने पनि ओके। अहिलेसम्म म हाउमचका नाममा नढाटी भन्नु पर्दा समातिएको छैन।

ट्याक्सी चालक बेलुका नाइटमा लुटिने कुटिने गरेका समाचार आइरहन्छ। तपाईंं यस्तो समस्यामा पर्नुभएको छ कि छैन ?  
मलाईभन्दा पनि साथीहरुलाई कहिले कता कहिले कता लगेर कुटेका छन्, लुटेका छन्। मलाई भने यस्तो समस्या परेको छैन। तर, मलाई ठग्ने भने धेरै नै छन्। यो ठाउँमा जाउँ भनेर लैजाने, त्यहाँ गएपछि एकछिन है भनेर भित्र गएका नफर्किएर उताको उतै जाने गरेका छन्। धेरै पटक रित्तो हात फर्किनु परेको छ।

दुईजना केटीहरुले ठमेलबाट पाटन जाऊँ भने। मैले पनि उनीहरुलाई पाटन लिएर गएँ। कहिले यता भन्छन् कहिले उता। यता फर्काउनुहोस् भनेर थर्काउँछन्। घरि कता लान्छन् घरि कता लान्छन्। घरि वान वे पु-याएर दाइ एकछिन है पैसा लिएर आउँछु भनेर एकजना भित्र छिरिन्। एकछिनमा ओए तँ आइजा त मैले त पैसा भेटिन यस्तै के भनेर बोलाइन्। दुवैजना भित्र छिरेका कता पसे पसे। मलाई डुलाउँदा डुलाउँदा गरेर मिटरमा त्यस्तै हजार जति उठिसकेको थियो। यस्ता घटना धेरै छन्।
 
सबैभन्दा राम्रो प्यासेन्जर भेटिएका छन् कि छैनन् ?
छन् नि। मैले यही रातोपुलबाट मेडिसिटी जाँदा मिटरको भन्दा सय रुपैयाँ बढी दिने पनि यात्रु भेटिनुभएको छ। भाइ तिमीहरुलाई यति पैसाले पुग्दैन भनेर सय रुपैया बढी दिएका थिए। यसरी दिनेहरुको लिष्ट लामै हुन्छ। तर नदिइकन या भाडामा किचकिच गर्ने पनि हुन्छन्। एकपटक मैतिदेवीबाट एकजना भिआइपी खाले मान्छे हुनुहुन्थ्यो। सायद सरकारी जागिरे जस्तो लाग्छ मलाई। उहाँले फ्यान, टिभी के–के सामान  डिकीभरि हाल्नुभयो। लु भाइ पुतलीसडक जाऊँ भन्नुभयो। मैले हुन्छ भनेर गएँ। मिटरमा जाँदा ६३ रुपैयाँ उठ्यो।  तर उहाँले ६३ रुपैयाँ दिनुको सट्टा लु भाइ भनेर ६० रुपैयाँ दिएर जानुभयो। यस्ता खालका प्यासेन्जर पनि धेरै हुन्छन्।

Leave A Comment