डान्सबारबाट फिल्म क्षेत्रमा

मङ्गलबार, १० भदौ २०७६, ११ : २९ शुक्रवार
डान्सबारबाट फिल्म क्षेत्रमा अभिनेता रोहित रुम्बा ।

२०५८ मा ‘ द मार्सल आर्टस् ’ फिल्मबाट डेब्यु गरेका अभिनेता रोहित रुम्बा रात्रिकालीन दैनिकीमा खुबै रमाउँछन्। उनीसँग शुक्रवारकर्मी भोला अधिकारीले बाँडेको नाइटलाइफ अनुभव:
 
१७, १८ वर्षको उमेरदेखि नै नाइट लाइफ रमाइलो लाग्थ्यो। डिस्को, डान्सबार गइन्थ्यो। अहिले लाउन्जबार भन्ने आएको छ, त्यता पनि गइन्छ। गजलबारमा पनि उत्तिकै रमाइलो लाग्छ। रातभरि घुमिरहेको हुन्छु, कहिले दरबारमार्ग कहिले ठमेल। सुत्ने समय बिहानको ५,६ बजे नै हो। सुटिङ छैन भने दिउँसो १ बजे  उठ्ने। आज पनि १ बजे नै उठेर आएको हुँ।

कहिलेकाहीँ मनमा कुरा खेल्न थाल्यो भने नाइटमै गाडी निकाल्छु र पूर्व हिँडिहाल्छु। मेरो घर भक्तपुर भए पनि मलाई पूर्वको धरान, धनकुटालगायतका क्षेत्र खुब मन पर्छ। झापा पनि गइरहेको हुन्छु। जता गए पनि रात्रीकालीन माहोलमा मनोरञ्जन गर्न छाड्दिन। तर मदिरा पिएको छैन है अहिलेसम्म। आफूले मदिरा नपिए पनि पिएकोहरुसँग बस्दा रमाइलो लाग्छ।

फिल्मी कलाकारै साथी
नाइट लाइफमा धेरै जसो नेपाली कलाकारहरुसँगै हिँडेको हुन्छु। नेपालका पूर्व स्टारदेखि लिएर अहिलेका चलेका कलाकारसँग पनि हिँडेको छु। ८० प्रतिशत नेपाली फिल्म क्षेत्रका कलाकार, निर्देशकलगायत अभिनेत्रीहरु नाइट लाइफका मेरा साथी हुनुहुन्छ। आर्यन सिग्देल, बुद्धि तामाङ, गौरव पहारी, निराजन प्रधानलगायतकासँग गइरहन्छु। मेरा धेरै साथीहरु अल्कोहल पिउने नै हुनुहुन्छ। तर पिएर अहिलेसम्म बबाल भने भएको छैन।

३६ हजार टिप्स
३, ४ वर्षअगाडिको कुरा हो। टिप्स त दिइरहेको हुन्छु तर अलिक बढी टिप्स दिएको भने त्यही बेला हो। मसँग त्यो बेला पैसा टन्नै थियो। त्यो बेलामा एकजना साथीलाई लिएर ठमेलमा साथीको रेस्टुरेन्टमा गइयो। दसैंको फुलपातीको अघिल्लो दिन थियो त्यो। लाउन्जबारमा एकजना लेडिज गायिकाले लोक दोहोरी गीत ‘चाँगुनारायण थान’ गाइरहनुभएको थियो। मलाई उहाँले गाएको गीत एकदमै मन प-यो। मैले उहाँलाई ३६ हजार टिप्स दिएँ। त्यो बेला एउटा भाइ र म गएका थियौँ। मैले रक्सी नखाए पनि जुससुस खाएर   दुईजनाको बिल नै ५२ हजार उठेको थियो।

डान्सबारमा पनि नाचेँ
२२ वर्षअगाडि डान्सबारमा पनि नाचेको छु। म लामो समय त नाचिन त्यस्तै ६,७ वर्ष जति नाचेँ। सुरुवातमा न्युरोडमा रहेको एउटा डान्सबार थियो। अहिले मैले त्यो डान्सबार भुलेँ। म काठमाडौंका डान्सबारमा ८ वटा जतिमा नाचेँ होला। म फिल्म क्षेत्रमा आएको नै डान्सबारबाटै हो। 

प्रायः काठमाडाैंका धेरे जसो डान्सबारमा नाचेको छु। क्यासिनोमा पनि नाचेको छु। मैले डान्स गर्ने डान्सबारहरु करिब–करिब बन्द भइसके। त्यहीँ नाच्नेहरुले अहिले डान्सबारहरु खोलेर बसेका छन्। मसँग र मेरो बेलाका डान्सबारमा क्यासिनोमा नाच्नेहरु नै चर्चित हिरो–हिरोइन छन्।

अहिलेका मै हुँ भन्ने हिरो हिरोइनहरु पनि त्यो बेलामा मसँग डान्सबार र क्यासिनोमा नाचेर हिँडेका थिए। अहिले आफूलाई डान्सबारबाट आएको हुँ भन्न सक्दैनन्। त्यही भएर म उहाँहरुको नाम भने भन्दिनँ। उहाँहरु भने सुपर स्टार हुनुभयो म भने उहाँहरुको जस्तो उचाइमा पुग्न सकिन।

म प्रायः बलिउड नायक शाहरुख खानको स्टायलमा नाच्थेँ। पहिला डान्सबारमा नाच्ने भन्दा साह्रै रेक्स्पेक्ट गर्थे। अहिलेको जस्तो थिएन। एभरेष्ट, सोल्टी लगायतमा मेरो ग्रुपको डान्स हुन्थ्यो। मेरो रोहित डान्स ग्रुप नै थियो नि। पछि पो फिल्म खेल्न आएँ।

Leave A Comment