के गर्दा गाली बेइज्जती ठहर्छ

बुधबार, ११ भदौ २०७६, १२ : ५० शुक्रवार
के गर्दा गाली बेइज्जती ठहर्छ

स्विकृती बराल,अभिवक्ता

हरेक नागरिकलाई सम्मानका साथ बाँच्न पाउने अधिकार नेपालको संविधानले दिएको छ। ज्यान र सम्पत्तिको जस्तै ऐनले ख्यातिको पनि सुरक्षा प्रदान गरेको छ किनभने हरेक व्यक्तिलाई आफ्नो मान, सम्मान र ख्याति अति नै प्रिय लाग्छ। कुनै पनि व्यक्तिको ख्यातिमा क्षति पुग्नुलाई कानुनले अपराधको रुपमा लिएको  छ। कानुनअनुसार कसैले कसैलाई गाली गर्न हुँदैन। कसैले कसैलाई होच्याउने नियतले बोली वा वचनले अपमानजनक शब्द प्रयोग गरेमा त्यस्तो बोलीलाई कानुनले गाली मानेको छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २ मा गाली बेइज्जतीसम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ।

व्यक्तिको ख्यातिको विरुद्धमा कसुर गर्नेलाई सजाय गर्ने सम्बन्धमा यस परिच्छेदमा कानुनी व्यवस्था गरिएको छ। कसैले कसैलाई गाली गरेको कुरा प्रमाणित भएको खण्डमा कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दस हजार रुपैँयासम्म जरिवाना वा दुवै सजाय हुन्छ।

कानुनले गाली र बेइज्जतीको भिन्नाभिन्नै परिभाषा गरेको छ। दफा ३०६ को उपदफा १ (क) अनुसार अरुको इज्जतमा धक्का पु-याउने नियतले वा धक्का पुग्न सक्छ भन्ने जानीजानी वा विश्वास गर्ने मनासिव कारण भए लेखेर, आचरण वा आकार वा चिह्न वा प्रचारप्रसारद्वारा वा अरु कुनै किसिमबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले त्यस्तो व्यक्तिलाई अरुको दृष्टिमा निजको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउने गरी चरित्र हत्या गरेमा वा निजको शरीर सामान्यतः घृणित अवस्थामा छ भने अरुलाई विश्वास पर्ने गरी दोष लगाएमा वा त्यस्तो दोष लगाएको कुरा प्रचार–प्रसार वा प्रकाशन गरेमा वा कसैको बेइज्जती हुने साधनको रुपमा प्रयोग गरिएको कुनै चिज जानीजानी बिक्रीवितरण गरेमा वा व्यङ्ग्य गरी वा घुमाउरो पाराले कुनै आक्षेप लगाएमा कानुनले बेइज्जती गरेको मान्दछ तर कानुनबमोजिम कुनै कसुरको अनुसन्धान गर्नु वा त्यस्तो आधार मानिसलाई कानुनबमोजिम अभियोग लगाउनुलाई बेइज्जती मानिँदैन।

त्यस्तै सर्वसाधारणको हितका लागि प्रमाण र आधारसहित आवश्यक भएमा कुनै व्यक्तिसँग सम्बन्धित साँचो कुराको प्रकाश गरेमा वा सोको प्रकाशन गरेमा बेइज्जती मानिँदैन तर झुठो व्यहोरा प्रकाशित गर्नेले भने गाली बेइज्जतीअन्तर्गत पाउने सजायको भागिदार हुनु पर्दछ।

कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ तर विद्युतीय वा अन्य आम सञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुन्छ। कसैले कसैलाई बेइज्जती गरे वा गराएको ठहरिएमा बेइज्जती गरिएको व्यक्तिलाई कसुरको गम्भीरता, त्यस्तो व्यक्तिको प्रतिष्ठामा पर्न गएको असर तथा विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरेको भएमा त्यस्तो कुरा समेतलाई विचार गरी कसुरदारबाट मनासिव क्षतिपूर्ति र त्यस्तो व्यक्तिलाई कसुरदारबाट मुद्दामा लागेको खर्चसमेत भराउनु व्यवस्था कानुनले गरेको छ । मरिसकेको कुनै व्यक्तिलाई बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको नजिकको हकवालालाई त्यस्तो क्षतिपूर्ति र मुद्दामा लागेको खर्चको रकम भराई दिनुपर्ने कानुनी प्रावधान रहेको छ।

गाली बेइज्जतीसम्बन्धी मुद्दामा कसुर भएको कुरा थाहा पाएको मितिले तीन महिना नाघेपछि उजुर लाग्दैन।

Leave A Comment