बिजुली चम्कँदा झस्कने नेता

शुक्रबार, १३ भदौ २०७६, १२ : १७ शुक्रवार
बिजुली चम्कँदा झस्कने नेता

राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिले भुलेको बाटो पुनः फेला पारेको छ। यो हामीले भनेको होइन, स्वयं पार्टी अध्यक्ष कमल थापाले भनेका हुन्। विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले ‘ड्राइभर होइन बाटो नै फेर्नुपर्छ’ भनेर देशको सर्वोच्च नेताका रुपमा राष्ट्रपतिभन्दा पनि राजालाई नै स्थापित गर्नुपर्ने घुमाउरो भाषण गरेपछि राजनीतिक वृत्तमा निकै ठूलो तरङ्ग उठ्यो। कतिसम्म भने सत्ताधारी पार्टीका सहअध्यक्ष रहेका डबल नेकपाका प्रचण्डसमेत झस्किए।

त्यसै पनि थापा मौकामा चौका हान्ने व्यक्तिका रुपमा चिनिन्छन्। सरकार तीव्र अलोकप्रियताको ओरालोमा रहेका बेला व्यंग्य गर्न किन छाड्थे ! जनतामा रहेको व्याप्त निराशा चिर्नका लागि सरकारको नेतृत्व नै नभई व्यवस्था नै परिवर्तन गर्नुपर्ने भाषण ठोक्न भ्याइहाले। कतिसम्म भने उनले त ‘कांग्रेस र कम्युनिस्टले मुलुकलाई हिँडाइरहेको बाटो नै गलत भएको’ टिप्पणी गर्न भ्याए।

केपी ओली पहिलोपटक प्रधानमन्त्री बन्दा उनले राजतन्त्रको मुखौटो उतारेर गणतन्त्र मान्छु भन्दै सरकारमा गएका थिए। यतिबेला सत्ताको स्वादको तिर्खा स्वाट्ट बढेर हो कि जनतामा व्याप्त निराशालाई क्यास गर्न हो, उनले कुण्ठा पोख्ने नै भए।

थापाको भाषणले सबैभन्दा बढी झस्काउने त प्रचण्डलाई नै हो किनभने राजा फ्याँक्ने सबैभन्दा ठूलो क्रेडिट उनकै पोल्टामा जो छ ! अझ यस्तो बेलामा बगेको खोलो त १२ वर्षपछि फर्कन पनि के बेर !

प्रचण्ड पनि के कम ! उनले पनि थापालाई झस्काउन पटाका होइन, ठूलै बम पड्कादिए। त्यो बम भनेका पूर्व राजा ज्ञानेन्द्र हुन्। उनले भनेछन्, ‘नारायणहिटीबाट नागार्जुन धपाइसकेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई बढी बकबक गरिरहे नागार्जुनबाटै निकाल्न सक्छौँ।’

प्रचण्ड कति तर्सिएछन् भने थापातर्फ इंगित गर्दै उनले ‘जिन्दगीभर तानाशाहको चाकडी गर्नेहरु अहिले सरकार र व्यवस्थाकै विरोधमा प्रचार गरिरहेको’ वाणी छोडेछन्।

सबैभन्दा रमाइलो त के छ भने देशै संघियतामा गैसकेर त्यसको अभ्याससमेत गरिरहेको छ। यस्तो अवस्थामा नेपालमा राजसंस्था ब्युँतिने सपना देख्नु र सपनाका कुरालाई लिएर ट्याउँट्याउँ गर्नु त्यतिधेरै पाच्य देखिँदैन।

तर प्रचण्डको होश कस्तो छ भने, राजसंस्थाको चर्चा मात्र हुँदा पनि ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सिन्छ’ भन्ने उखानलाई बेलाबेलामा सम्झाउने गर्छन्। उनी आफैँ साँच्चै झस्किएका हुन् वा अरुलाई झस्काउन खोजेका हुन्, त्यो त उनी नै जानून्।
तर चाहिँ पक्का हो, यी दुईको दोहोरीमा रमाइलो त जनतालाई नै हुने हो !

Leave A Comment