परिणाम कसरी ल्याउने?

शुक्रबार, १३ भदौ २०७६, ०१ : ०४ प्रकाश जंग थापा
परिणाम कसरी ल्याउने?

यो समाज, देश र संसार परिणाम चाहन्छ, आश्वासन होइन। परिणाम ल्याउनु भनेको प्रभाव बढाउनु हो। परिणाम उन्मुख हुन वा अपेक्षित परिणाम दिन नसक्ने व्यक्ति प्रभावशाली हुन सक्दैन। यस्ता व्यक्तिलाई उति महत्व, मूल्य र मान्यता दिइँदैन। अर्को शब्दमा भन्नुपर्दा यस्ता व्यक्ति जहाँ गए पनि अस्वीकृत हुन पुग्छन्। जिम्मेवारीबाट हटाइने सम्भावना उच्च रहन्छ। कतिपयलाई त बिना पूर्व जानकारी बर्खास्त गरिन्छ। यति मात्र होइन, परिणाम ल्याउन असक्षम व्यक्तिले जे कार्य गरे पनि, जस्तै ठूलो परियोजनामा संलग्न भए पनि असफलता पाउँछ। संक्षेपमा भन्दा यस्तो व्यक्तिले आफ्नो जीवनको रथ अगाडि बढाउन सक्दैन।

परिणाम किन आउँदैन ?
प्रायः मानिस कल्पनाको फोकाभित्र बाँच्न रुचाउँछन्। भनाइको तात्पर्य, सहजताको सुरक्षा घेरा तोड्न चाहँदैनन्। त्यही फोकालाई सर्वस्व ठान्छन् र त्यही फोकाभित्र रमाइलो मान्छन्। कल्पना र वास्तविकताबीच कुनै सम्बन्ध राख्दैनन्। उनीहरु बढीभन्दा बढी कल्पना मात्र गर्छन्। विचार विमर्श गर्छन्। सुझाव आदानप्रदान गर्छन् तर कार्य भने गर्दैनन्। जसकारण कुनै परिणामको सङ्केत देखिँदैन। यो कुरालाई क्लेअर ग्रेभ्सको स्पाइरल डाइनामिक्स मोडेलबाट वर्णन गर्न सकिन्छ। स्पाइरल डाइनामिक्सले मानिसको मनोवैज्ञानिक विकासक्रम आठ चरणमा हुने देखाएको छ। जसमध्य ‘हरियो चरण’ एक हो। हरियो चरण मनोवैज्ञानिक विकासको दृष्टिअनुसार निकै माथिल्लो चरण मानिन्छ। यद्यपि यस चरणमा रहने मानिसले आकर्षक परिणाम भने दिन सकिरहेका हुँदैनन्।

हरियो चरणमा अवस्थित मानिस संसारप्रति चिन्तित हुन्छन्। उनीहरु आफ्नो मात्र होइन, सारा मानिस, समाज तथा अरु देशको पनि उत्तिकै ख्याल राख्छन्। समानुभूति भावलाई बढावा दिन्छन्। परोपकारी कार्यमा अत्यधिक रुचि राख्छन्। अफ्रिकाका गरिब बच्चालाई सहयोग गर्न, लोप हुन लागेका जीवजन्तुको संख्या बढाउन, वातावरण संरक्षण गर्न निकै अग्रसरता देखाउँछन्। त्यसैगरी हरियो चरणका मानिस सम्बन्ध र संवादलाई महत्व दिन्छन्। आध्यात्मिक प्रवचन दिँदै हिँड्छन्। यो चरणमा अवस्थित मानिस सकारात्मक नियत राख्ने भए पनि, आदर्शवादी भए पनि, सामूहिक सरसल्लाह गर्ने, एकअर्कामा आइडिया सेयर गर्ने स्वभावको भए पनि एउटा समस्या छ। उनीहरु महान् परिणामको निर्माता भने हुन सक्दैनन्। कारण ? उनीहरु एकसाथ बैठकमा उपस्थिति जनाउँछन्। सहज वृत्तमा बस्छन्। कसरी शान्तिपूर्ण जीवन जीउने ? कसरी वातावरण संरक्षण गर्ने ? भविष्यको पुस्तालाई कस्तो विरासत छोड्ने ? यी यावत् विषयमा जोडदार प्रस्तुति दिन्छन्। दुःखको कुरा यस्तो प्रस्तुति यथार्थमा परिणत हुन पाउँदैन। बैठकपछि सबै आ–आफ्नो बाटो लाग्छन्। त्यसपछि बैठकमा प्रस्तुत सबै एजेन्डा पनि साइड लाग्छन्। कुनै मूर्त परिणाम हात लाग्दैन। अवस्थामा कुनै परिवर्तन अनुभूत हुँदैन।

त्यसैगरी परिणाम प्राप्त नहुनुको अर्को प्रमुख कारण सामाजिक पाटो पनि हो। अहिलेको आधुनिक समाज निकै व्यवस्थित र विकसित छ। प्राचीन समाज जस्तो छैन। हरेक कुरा सिस्टममा चल्छ। दश हजार वर्ष अगाडिको समाज निकै कष्टकर थियो। त्यो समाजमा कि परिणाम ल्याउनु पथ्र्यो कि मृत्युवरण गर्नु पथ्र्यो। अहिलेको आधुनिक समाजमा जीवन निकै सजिलो छ। ९ देखि ५ को जागिर खाएरै पनि स्तरीय जीवन जीउन सकिने अवस्था छ। त्यसकारण धेरैजसो मानिस ठूल्ठूला परिणामको लागि कत्ति पनि उत्साहित हुँदैनन्।

परिणाम निर्माताको सेक्रेट
कुनै रोचक आइडिया फुरे दुईवटा विकल्प छन्। पहिलो, भावनात्मक रुपमा सहज विकल्प। अधिकांश मानिसले यही विकल्प रोज्ने गर्छन्। उनीहरु एउटा आइडिया लिएर आउँछन्। त्यो आइडियामा दिलोज्यान दिन्छन्। कल्पनाको फोकाभित्र रमाइलो मान्छन्। आइडियामार्फत उपलब्ध हुन सक्ने सम्भावित कुराहरु कल्पना गर्छन्। यदि सोचेजस्तो परिणाम नआएको अर्थात् कल्पनाको फोका फुटेको खण्डमा उनीहरु आफ्नो विश्वास प्रणाली सच्याउनतिर भन्दा पनि त्यो आइडिया त्यागेर अर्को आइडिया खोजी गर्न थाल्छन्। नयाँ कल्पनाको फोकाभित्र पुनः रमाइलो मान्न थाल्छन्। दोस्रो, भावनात्मक रुपमा असहज विकल्प। निकै कम मानिसले यो विकल्प रोज्ने हिम्मत गर्छन्। कुनै आइडियामा काम गर्दै जाँदा परिणाम नआएको खण्डमा हठात् नयाँ आइडिया खोजी गर्न थाल्दैनन्। नयाँ कल्पनाको फोकाभित्र पस्न उनीहरुलाई हतारो हुँदैन। आफ्नो विश्वास प्रणाली विश्लेषण गर्छन्। कुन धारणाले परिणाम ल्याउन बाधा पु-यायो, त्यो हटाउनतिर लाग्छन्। पुरानो हठधर्मिता त्यागेर अगाडि बढ्छन्। कल्पना र वास्तविकताको मिलान गर्छन्। पहिले प्रयोग गरेको भन्दा सशक्त पद्धति अपनाउँछन्। अन्ततः महान् परिणामको हकदार बन्छन्। दोस्रो विकल्प या नि भावनात्मक रुपमा असहज विकल्प रोज्नु परिणाम निर्माताको सेक्रेट हो।

ठोस परिणामको लागि केही विधि
परिणाम कस्तो आउँछ ? त्यसले कुनै पनि व्यक्तिको सफलता–असफलता मात्र नभएर मुड (चित्तवृत्ति) पनि निर्धारण गर्छ। कुन स्तरको परिणाम प्राप्त गर्न चाहेको हो, त्यसको निक्र्योल गर्नोस्। वास्तविक परिणामका लागि निम्न विधि अवलम्बन गर्न सकिन्छ।

सर्वप्रथम त वास्तविक परिणामलाई बढी महत्व दिनोस्। गफमा केन्द्रित नहुनुस्। त्यो समयको बर्बादी मात्र हो। आफूले चाहेको परिणामको मापदण्ड तय गर्नोस्। गफको तुलनामा कामलाई दश गुणा बनाउनुहोस्।

सिर्जनात्मक कार्य गर्नोस्। जीवनलाई एक परियोजनाको रुपमा लिनुहोस्। अबको ६ महिना, १ वर्ष अथवा ५ वर्षमा के सिर्जना गर्न चाहनुहुन्छ, त्यसमा मन्थन गर्नोस्।

सारा मानिस र विश्वलाई प्रभावित गर्ने इच्छा राख्नोस्। परिणामले प्रभाव जमाउन सहयोग गर्छ। जब इच्छा आकांक्षा मजबुत हुन्छ तपाईं परिणाम प्राप्त गर्न क्रियाशील हुनुहुन्छ। प्रभाव बढाउन राष्ट्रिय पत्रपत्रिकामा लेख छपाउन सकिन्छ। पुस्तक बजारमा ल्याउन सकिन्छ। नयाँ नयाँ भिडियो बनाएर सामाजिक सञ्जालमा पनि राख्न सकिन्छ।

गफगाफमा धेरै अल्मलिनु फलप्रद हुन सक्दैन। मुख्य कुरा कार्य गर्नोस्। पुस्तक लेख्न चाहनुहुन्छ ? लेख्न थाल्नोस्। यस्तो उस्तो विषयमा लेख्दैछु भनेर बढ्ता नखोकेकै राम्रो। नयाँ व्यवसाय सुरुवात गर्न चाहनुहुन्छ ? व्यवसाय सुरुवात गरिहाल्नुस्। दश जनासँग कुरा गरेर फाइदा छैन। कहीँ घुम्न जान मन लाग्यो ? यात्रा थालनी गरिहाल्नुस्। सबै साथीको समय कुरेर यात्रा हुँदैन। यही कुरा सम्बन्ध निर्माण, आध्यात्मिक कार्यलगायत अरु कार्यमा पनि लागु हुन्छ।

उत्कृष्टताका लागि कार्य गर्नोस्। यदि उत्कृष्टता प्राथमिकतामा राख्नुहुन्न भने कसरी परिणाम ल्याउन सक्नुहुन्छ ? त्यसकारण हरेक कार्यमा सर्वोत्कृष्ट बन्ने कोसिस गर्नोस्। यसका लागि उत्कृष्ट कार्यनीति तय गर्नोस्।

शतप्रतिशत जिम्मेवारी लिनोस्। कसैले तपाईंका लागि भनेर काम गर्दैन। आफैँ नै अग्रसर हुनुपर्छ। कसैलाई कुर्ने गल्ती नगर्नोस्। कुर्नेले केही परिणाम पाउँदैन।

आफ्नो उद्देश्यमा स्पष्ट हुनोस्। समग्र बुझाइमा जोड दिनुहोस्। कुनै पनि कार्यलाई विशाल चित्रमा उतारेर सक्रिय हुनोस्। सानो सोच राखेर ठूलो परिमाणको अपेक्षा राख्नु मुर्खता हो।

वास्तविकता तपाईंको सुविधाको लागि परिवर्तन हुँदैन। आफैँ परिवर्तन हुन सक्नुपर्छ। आफ्नो सुरक्षाको घेरा तोड्न हिम्मत गर्नोस्। आफूलाई परिवर्तन गर्न इच्छुक हुनोस्। चुनौतीपूर्ण परिस्थितिमा रहनुस्। त्यो नयाँ बिजनेस गरेर, नयाँ सम्बन्ध जोडेर पनि हुनसक्छ।

औसत मानिससँग उठबस गर्नुहुन्छ भने तपाईं औसत व्यक्तिमै सीमित हुनुहुन्छ, औसत जीवन बाँच्न बाध्य हुनुहुन्छ। त्यसैले भिडबाट टाढा रहनुस्। असाधारण, विशिष्ट, सकारात्मक र प्रभावशाली मानिसको सङ्गत गर्नोस्।

कोही पनि अनन्तकालसम्म बाँच्न सक्दैन। हरेक दिन आफ्नो मृत्युको बारेमा ध्यान गर्नोस्। यसो गर्दा तपाईंसँग कार्य गरेर ठोस परिणाम ल्याउन कति छोटो समय छ भन्ने अनुभूति हुन्छ।

सय जना व्यक्तिमध्ये एकजना व्यक्ति मात्रै गम्भीर हुन्छ। र, अरु उनान्सय व्यक्तिहरु केवल दर्शक हुन्छन्। तपाईंलाई ठोस परिणाम ल्याउने विधि थाहा भएपछि गम्भीर भएर परिणाम ल्याउन लाग्ने कि कपोकल्पित गफ गरेर दर्शक बन्ने ? रोजाइ तपाईंको !

Leave A Comment