टुटल र पठाओले गाँस, बाँस खोस्यो

मङ्गलबार, १७ भदौ २०७६, ११ : ४६ शुक्रवार
टुटल र पठाओले गाँस, बाँस खोस्यो

जितबहादुर मुक्तान, ट्याक्सी चालक, बा१ज ७३६१

ट्याक्सी चलाउन कहिलेबाट सुरु गर्नुभयो ?
७, ८ वर्ष भयो ट्याक्सी चलाउन थालेको। पढाइमा खासै मन नलागेपछि काठमाडौं आएँ। काठमाडौंमा मेरो दाइले ट्याक्सी चलाउनुहुन्थ्यो। दाइले नै फुर्सदको समय र रातिको समयमा बाटो खुला हुँदा मलाई ट्याक्सी चलाउन सिकाइदिनुभयो। त्यसपछि बिस्तारै ट्याक्सी चलाउन थालेको हुँ।

नाइटमा ट्याक्सी चलाउँदा यात्रु त थरिथरिका भेटिन्छन् होला नि ?
राति ड्रिंक्स गर्ने मानिस र  रमाइलो गर्न हिँडेका युवायुवती नै धेरै भेटिन्छन्। कहिलेकाहीँ लुटेरा पनि चढ्छन्। अनुहार हेर्दा को कस्तो थाहा हुँदैन। ठिकै देखिन्छन्। ठाउँमा पुगेपछि कोही पैसा नदिई भाग्छन्। कोही के भनेर थर्काउने हिसाबले चढ्छन्। नाइटमा यही र यस्तै किसिमका यात्रु हुन्छन् भनी भन्न भने सकिँदैन। हामी ट्याक्सीवाला एकै ठाउँमा बसेर त हुँदैन, जताततै दौडिइ रहनुपर्छ। केही दिनअगाडिको घटना हो। विशालनगरबाट एकजना हट्टाकट्टा खाले मान्छे मेरो छेउमा आए। उसले नारायणथान माथि डाँडामा जानुपर्ने भनेका थिए। मैले त्यता जान्न भन्दा प्रहरीले नै त्यसलाई जबर्जस्ती चढाएर पठाइदियो। पुलिसले भनेपछि मैले त्यसलाई लिएर गएँ। त्यहाँ पुगेपछि पैसा नदिई सरक्क ओर्लिएर ल म गएँ भनेर हिँड्यो । मिटरमा त्यस्तै ७ सयको हाराहारी पैसा उठेको थियो। ऊ सरासर घरभित्र छि-यो। मैले  यसको घर देखिहालेँ। तल गएर पुलिसलाई सबै कुरा बताएँ। पुलिसले अहिले यति राति हामी हिँड्न मिल्दैन। हजुर भोलितिर आउँनुस् भनेर गयो। मेरो कुरा प्रहरीले नसुनेपछि सरासर आपनो गन्तव्यमा फर्किएँ।

अहिले सम्म राम्रा यात्रु फेला पारियो कि पारिएन ?
राम्रा यात्रु र अलिक बढी  पैसा पाएको एकपटक मात्र छ। दरबार मार्गबाट बौद्ध जाने भनेर दुईजना ४०,४५ उमेरका बुढाबुढी मेरो ट्याक्सीमा चढे। उनीहरुले बौद्धसम्मका लागि ५ सय रुपैयाँमा डिल गरेर लगे। सायद उनीहरु लाउन्चबारबाट निस्केका थिए जस्तो लाग्छ। बौद्ध पुगेपछि उनीहरुले लु १२ सय राख्नु तपार्इंलाई पनि एकदमै गाह्रो होला भनेर थप ७ सय रुपैयाँ दिए।

ट्याक्सी चालकले पैसा ठग्यो भन्ने आरोप छ नि ?
तपाइले भन्नुभएको ठिकै हो। एक दुईजना ट्याक्सी चालकले गर्दा सबैलाई बिगारेका हुन्। धेरै जसो बढी पैसा लिने भनेको एयरपोर्ट, कलङ्की, नयाँ बसपार्कलगायतका केही ट्याक्सी चालकले यसरी बढी पैसा लिने गरेको सुनेको छु।

ट्याक्सीबाट कोही कोही त उत्रिएर हिँड्छन् रे नि त ?
यस्तो त हुन्छ। एकछिन जाम परेपछि पैसा धेरै उठ्यो भनेर निस्केर हिँहिहाल्छन्। के गर्नु जाममा परेपछि वेटिक हान्न थाल्छ। अनि पैसा उठेको देखेर तर्सेर नै आधिबाटैमा झर्ने गरेका छन्।

मेरो ट्याक्सीमा  गुह्येश्वरीबाट साँझ ६ बजे एकजना न्युरोड जाने भनेर चढ्नुभयो। गौरीघाट चोकमा यति जाम प-यो कि एकघण्टा भन्दा धेरै समयसम्म जाम खुलेन। मिटरमा १५० जति हानिसक्यो। जाम खुल्ला जस्तो नदेखेपछि  गुह्श्वरीमा चढेका यात्रुले १५० रुपैयाँ गौरीघाटमा तिरेर ओर्लिएर गए। म भने धेरै समयसम्म त्यहीँ फसिरहेँ। यस्तो पनि हुने गरेको छ ।

अहिले टुटल पठाओले गर्दा ट्याक्सीवालालाई निकै कठिन छ यात्रु भेटाउन ? ५, ६ जना भयो भने मात्र ट्याक्सी खोज्छन्। नत्र टुटल पठाओमै दौडिन्छन्। अहिले टुटल पठाओको कारण ट्रिप पाउनै मुस्किल परेको छ।
प्रस्तुति : भोला अधिकारी

Leave A Comment