गेष्टले गर्ने व्यवहार कतै राम्रो कतै नराम्रो

मङ्गलबार, १७ भदौ २०७६, १२ : १६ शुक्रवार
गेष्टले गर्ने व्यवहार कतै राम्रो कतै नराम्रो

गाउँले दोहोरीसाँझ, ठमेलको गामवेशी दोहोरीसाँझ हुँदै नयाँ बसपार्कमा रहेको गोर्खा रोधी घरमा वेटरको काम गर्न पुगेकी छिन् सुमी लामा। उनीसँग भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानी।
 
पारिवारिक समस्याका कारण रात्रिकालीन पेशा  
मैले दोहोरीसाँझमा वेटरको काम गर्न थालेको १ वर्ष जति भएको छ। घरमा आर्थिक अवस्था कमजोर भएका कारण मैले रात्रिकालीन पेशा अँगाल्नु परेको हो। मेरो आमा हुनुहुन्छ। बुवा भने हामी सानै हुँदा खस्नुभएको रे। आमाले दुःख सुख गरेर हामीलाई हुर्काउनुभयो। पैसाको अभाव भइरहने। त्यसै कारण पढ्न पनि सकिएन।  गाउँमा १० कक्षा पढेर छोडेँ।

पैसा कमाउनका लागि म काठमाडौं आएँ। मेरो दाइ पनि काठमाडाैंमा भएका कारण पहिला दाइसँग नै बसेँ। पछि दाइलाई छोडेर साथीहरुसँग बसेँ। म धेरै जसो एक्लै बस्न मन पराउँछु। साथीहरुसँग पनि बस्न मन लागेन र अहिले एक्लै बस्दै आएकी छु।  

बैंक, फाइनान्सको काम छोडियो
यो भन्दाअगाडि मैले बैंकमा र, बसपार्कतिरकै एउटा फाइनान्समा रिसेप्सनको काम गर्थेँ। त्योभन्दा अगाडि एउटा कपडा पसलमा पनि काम गरेँ। म बेला–बेलामा अलिक धेरै नै बिरामी भइरहन्छु। बिरामी भएपछि काम गर्न सकिनँ । सोह्रखुट्टेमा रहेको एउटा फाइनान्समा काम गरिरहेकी थिएँ। त्यहाँ ठिकै थियो। जम्मा ८ हजार तलब पाउँथेँ। पछि बढाउने कुरा थियो। साहै्र बिरामी भएपछि आफूले कमाएको पैसाले औषधि गर्न कठिन भयो र आफ्नै घर नुवाकोट गएँ।

घरमा गएपछि पनि मलाई ठिक हुन एक महिना जति लाग्यो। मलाई सन्चो नभएकाले म आउँदिन मेरो ठाउँमा अरुलाई नै राख्नुस् भनेँ। ठिक भएपछि फेरि काठमाडाैं आएर दोहोरीसाँझमा वेटरको काम गर्न थालेँ। मलाई वेटर गर्न एकदमै मन लाग्छ। वेटर काम गर्दा रमाइलो लाग्छ। गाउने, नाच्नेमा त्यति चाख लाग्दैन।

वेटरलाई गर्ने व्यवहार राम्रो छैन
वेटरलाई अरु कलाकारहरुको जस्तो रुपमा लिइँदैन अलि तुत्छ स्वभावको, तल्लो स्तरको सोच्ने गर्छन्। एक वर्षमा ४ वटा दोहोरीसाँझमा काम गरेँ। सबै ठाउँमा फरक–फरक व्यवहार भेटाएँ। दोहोरी साँझमा धेरै नै खटिनुपर्ने। बिहान ५ बजे देखि राति १ बजेसम्म पनि काम गर्नु पर्ने। निद्रा नै नपुग्ने। फेरि त्यहाँ डिउटीको समयमा आफ्नै नियम छ। त्यो समयमा चुइगम चपाउन समेत पाउँदैनथ्यो। त्यहाँ मैले ६ महिना जति काम गरेँ। तलब ८ हजार मात्र थियो। यसैले खान लाउन पु-याउने गर्थेँ।

गेष्टले कस्तो नजरले हेर्छन् वेटरलाई
गेष्ट कोही बुझ्ने खाले हुन्छन्, कोही नराम्रो सोचेर आएका हुन्छन्। उनीहरुलाई राम्रो सर्भिस दिँदा पनि अनेक भनाइहरु खाइरहनुपर्ने हुन्छ। काम भने सबै गर्नुपर्ने तर व्यवहार भने तल्लो स्तरको हुन्थ्यो।

सुरुमा म किन यस्तो ठाउँमा आएँ छु भन्ने हुन्थ्यो पछिपछि भने बानी पर्दै गयो। वेटरमा काम गर्दा गर्दै अहिले निकै राम्रो काम गर्न थालेँ। धेरे कुरा सिकेँ। कसैले केही भने पनि अहिले त बानी प-यो। अहिले त पहिलाको जस्तो के होला कसो होला भनेर मतलब गरिँदैन।

राति आउने गेष्टलाई जति राम्रो व्यवहार गरे पनि उनीहरुले नराम्रो गर्ने गरेका पनि छन्। केही समय अघिको कुरा हो। एकजना गेष्टले डाइनिङ टेवलमा बसेर खाइरहेका थिए। मैले दादा हजुर तल बसेर खानु न भन्दा मलाई कुट्नै झम्टिएर आए। उनका १५, १६ जना केटाहरुको ग्रुप थियो। मैले यसो भन्दा मेरो केही गल्ती थिएन। पछि यहीका दाइहरुले तिनीहरुलाई सम्झाएर पठाउनुभयो। यस्ता खाले गेष्ट पनि आउने गरेका छन्। गाली त कति खाइन्छ खाइन्छ थाहा हुँदैन।

गेष्टले गर्ने व्यवहार कतै राम्रो कतै नराम्रो  
ठमेल भनेको भिआइपी एरिया भन्ने गर्छन्। त्यहाँ मैले वेटर गर्दा काममा अलिक बढी पेल्ने गर्थे। अरु त राम्रै थियो। आफ्नो काममै ध्यान हुन्छ। मैले गरेको गामबेशी दोहोरीसाँझमा टच भएर बस्न पाइँदैन। त्यहाँ सिसी क्यामेरा लगाइएको हुन्छ। को के काम गर्दै छ सबै थाहा भइहाल्छ।

नाइटमा काम गर्नेलाई नराम्रो नै सोचेका हुन्छन्। अझ छोरी मान्छेलाई गर्ने व्यवहार नै फरक हुन्छ। मैले त धेरै भोगेकी छु।  त्यो कुरा सबै आफूमा भर पर्ने हो। भन्नेले त जे पनि भन्ने गर्छन्। आफूलाई कसरी सहज हुन्छ त्यस्तै काम गर्ने हो। अहिले मैले काम गरिरहेको दोहोरीसाँझको साहुहरुले राम्रै व्यवहार गर्नुहुन्छ।

वेटरमै भविष्य बनाउने तयारी
मलाई वेटर गर्न एकदमै मन लाग्छ। यही काम गर्दै ब्युटिपार्लर पनि सिकिरहेकी छु। भोलिका दिनमा यहाँ काम गरेर मात्रै हुँदैन आफ्नो भविष्य आफैँ बनाउने हो। त्यसैले कि वेटर कामका लागि विदेश जान्छु कि त नेपालमै पार्लर खोलेर केही गर्छु। सधैँभरि यत्तिकै जीवन काट्न मुस्किल पर्छ।

Leave A Comment