स्वआर्जन सम्पत्तिमा अंश हक लाग्दैन

बुधबार, १८ भदौ २०७६, १२ : २४ शुक्रवार
स्वआर्जन सम्पत्तिमा अंश हक लाग्दैन

मेरो परिवार संयुक्त परिवारमै छ। काकाहरु १६ वर्षअघि त्यो घर छोडेर अन्तै बस्नुहुन्छ, कमाउनु हुन्छ भने त्यो कमाएको सम्पत्तिमा हाम्रो हक हुन्छ कि हुँदैन ?

स्विकृती बराल,अभिवक्ता
परिवारका सदस्यबीच सगोलमा रहेको सम्पत्ति बाँडफाँड गर्ने प्रक्रियालाई अंशबण्डा भनिन्छ। मुलुकी देवानी (संहिता) ऐन, २०७४ को परिच्छेद १० मा अंशबण्डासम्बन्धी व्यवस्था गरिएको छ। अंशबण्डा गर्दा अंशका अंशियारहरुलाई सगोलको सम्पत्तिको भागबण्डा लगाउने हो।

मुलुकी देवानी संहिता, २०७४ को दफा २५७ अनुसार पुख्र्यौलीबाट प्राप्त सम्पत्ति, निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा बढे बढाएको सम्पत्ति सगोलका सम्पत्ति हुन्। कानुनबमोजिम भिन्न भएकोमा बाहेक पति वा पत्नीले कमाएको वा त्यसबाट बढे बढाएको सम्पत्ति पति वा पत्नीको सगोलको सम्पत्ति मानिन्छ।

एकै परिवारका सदस्यहरु सगोलको सम्पत्तिमा अंशका हकदार हुन्छन् र अंशका हकदारलाई अंशियार भनिन्छ। प्रत्येक अंशियार अंशको समान हकदार हुन्छ। जस्तै, एकै घरका बुवा,आमा छोरा, छोरी बीच अंशवण्डा गर्नु परेमा उनीहरुको सगोलमा भएको सम्पत्तिमा हरेक परिवारका सदस्यको समान हक अधिकार हुन्छ।

सो परिवारको नातिनातिनीले भने आफ्नो बुवाआमाको भागबाट मात्रअंश पाउँछन्। प्रश्नमा काकाहरुको सम्पत्तिमा हाम्रो हक हुन्छ कि हुँदैन भनेर सोधिएको छ। बुवा र काकाहरुको अंश नै नछुट्याएको अवस्था हो भने सगोलको सम्पत्तिमा बुवा र काकाहरुको हक लाग्छ र बुवाको अंशको भागबाट छोराले अंश पाउँछ। काकाहरु १६ वर्षअगाडिदेखि नै छुट्टिएर बसेको र कमाएको कुरा प्रश्नमा उल्लेख गरिएको छ। काकाहरुले सगोलको सम्पत्तिबाटै अन्य सम्पत्तिआर्जन गरेको हो भने उक्त सम्पत्ति पनि सगोलकै सम्पत्ति मानिन्छ तर आफैँले स्वआर्जन गरेको हो भने त्यस्तो सम्पत्ति निजी सम्पत्ति मानिन्छ।

मुलुकी देवानी संहिता, ऐन २०७४ को दफा २५६ अनुसार आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको सम्पत्ति निजी सम्पत्ति हुन्। त्यसैगरी दान, बकस वा अपुताली स्वरुप प्राप्त गरेको वा चिठ्ठा वा उपहार स्वरुप प्राप्त गरेको वा पारिश्रमिक, उपदान, निवृत्तिभरण, उपचार खर्च, सञ्चयकोष, बीमा वा अन्य सामाजिक सुरक्षण बापत प्राप्त गरेको, वा बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको, वा कानुनबमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि खतिउपति आफ्नो–आफ्नो गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको, वा महिलाले विवाहपूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको वा महिलालाई पति वा पति तर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरीदिएको वा पति तर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति, वा कानुनबमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको छ। कानुनअनुसार कुनै पनि व्यक्तिले आफ्नो निजी सम्पत्ति यस ऐनको अधिनमा रही आफूखुसी प्रयोग गर्न पाउँछ।

त्यसैले काकाले आफैँ आर्जन गरेको निजी सम्पत्ति हो भने त्यसमा काकाका छोराको मात्र हक लाग्छ अरुको हक लाग्दैन। यदि अंशबण्डा नभएको अवस्था हो र सगोलको सम्पत्ति नै प्रयोग गरेर बढे बढाएको सम्पत्ति हो भने त्यसमा अंश भाग लाग्छ।

Leave A Comment