सेरेनाको सय जित

बिहिबार, १९ भदौ २०७६, ०३ : ३२ शुक्रवार
सेरेनाको सय जित

सेरेना विलियम्सले युएस ओपनमा मंगलबार सयौं जितको सफलता निकाल्दा क्वार्टरफाइनलमा आफ्ना प्रतिद्वन्द्वीलाई ४४ मिनेटमा स्तब्ध बन्न बाध्य बनाएकी छन्। कीर्तिमानी २४ ग्रान्ड स्लामको रेकर्ड बराबरी गर्ने लक्ष्यमा रहेकी अमेरिकी स्टार सेरेनाले क्वार्टरफाइनलमा चीनकी वाङ कियाङलाई सहजै पराजित गरेकी हुन्। छैटौं पटक युएस ओपन च्याम्पियन सेरेनाले न्युयोर्कको अर्थर एसे स्टेडियमको कोर्टमा १८औं विश्व वरीयताकी वाङलाई ६–१ र ६–० ले सहजै पाखा लगाउन सफल भइन्।

यस वर्ष सबैभन्दा छिटो समयमा प्रतिद्वन्द्वीलाई स्तब्ध बनाएकी सेरेनाले सेमिफाइनलमा युक्रेनकी इलिना भितोलिनासिवरुद्ध चुनौती प्रस्तुत गर्नेछिन्। युएस ओपनमा सबैभन्दा धेरै जित निकाल्ने खेलाडीका रूपमा क्रिस इभर्टलाई पछि पारेपछि सेरेनाले खुसी व्यक्त गरिन्।

‘सफलता अपत्यारिलो लागिरहेको छ। १६ वर्षको उमेरदेखि खेल्दा मैले युएस ओपनमासय जित निकाल्नेछु भन्ने कल्पना गरेको थिइनँ,’ सेरेनाले भनिन्,‘त्यसैले अझै पनि यो सफलता प्राप्त गर्दा विश्वास नै लागिरहेको छैन।’ मार्गरेट कोर्टको नाममा रहेको सर्वाधिक २४औं ग्रान्ड स्लामको रेकर्ड बराबरी गर्ने लक्ष्यमा रहेकी सेरेनाले वाङविरुद्धको क्वार्टरफाइनलमा २५ विनर्स प्रहार गरेकी थिइन्।

यता, वाङले भने एक पटक पनि सफलता प्राप्त गर्न सकिनन्। गत फ्रेन्च ओपनको क्वार्टरफाइनलमा एस्लेघ बार्टीविरुद्धको अन्तिम १६ मा पराजयपश्चात् वाङले एक सेट पनि गुमाएकी थिइनन्। तर, अमेरिकी स्टार सेरेनासँग भने वाङ निरीह बन्न बाध्य भइन्। आमा बनेर सन् २०१७ को अस्ट्रेलियन ओपनको उपाधि जितेपछि सेरेनाले कुनै पनि ग्रान्ड स्लाम जित्न सकेकी छैनन्। उनले युएस ओपन भने सन् २०१४ पछि जित्न सकेकी छैनन्।

सेरेनासँग सेमिफाइनलमा भेट पक्का गरेकी युक्रेनकी भितोलिनाले क्वार्टरफाइनलमा ब्रिटेनकी जोहन्ना कोन्टालाई ६–४ र ६–४ ले हराएकी थिइन्। उनी युएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो युक्रेनी खेलाडीसमेत बनिन्। यहाँसम्मको यात्रा तय गर्न उनले दुई पटककी युएस ओपन च्याम्पियन भेनस विलियम्स र सन् २०१७ की उपविजेता म्याडिसन केजलाई स्तब्ध बनाएकी थिइन्।

Leave A Comment