ओलम्पिक कमिटीको निर्वाचन : चुनावी मैदानमा खेलाडी कम, नेता बढी

शुक्रबार, २० भदौ २०७६, ०३ : ५४ शुक्रवार
ओलम्पिक कमिटीको निर्वाचन : चुनावी मैदानमा खेलाडी कम, नेता बढी

सधैँ राजनीतिक कब्जामा पर्दै आएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचन नजिकिएसँगै चुनावी रस्साकस्सी शुरु भएको छ । भदौ २० मा हुने चुनाव खेलकुदसँग जोडिएकाहरुलाई मात्र लागेको छैन, राजनीतिक दललाई पनि उत्तिकै लागेको छ । निर्वाचनमा उम्मेदवारी दिएकाहरुको पृष्ठभूमि हेर्ने हो भने खेलाडी कम, नेताकै बाहुल्य बढी देखिन्छ । कोही सांसद चुनावी मैदानमा उत्रिएका छन् त कोही नेता पत्नी ।

आगामी ४ वर्षे कार्यकालका लागि अध्यक्ष पदको निर्वाचनमा वर्तमान अध्यक्ष तथा नेकपाका सांसद जीवनराम  श्रेष्ठ नै अगाडि बढेका छन् । उनलाई चुनौती दिन उमेशलाल श्रेष्ठ मैदानमा उत्रिएका छन् । उमेशलाल पनि राजनीतिक रुपमा नेकपामै आबद्ध हुन् ।

जीवनराम नेकपाका काठमाडौं उपत्यका इन्चार्ज समेत हुन् । उमेशलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल र एमाले नेतृ साहना प्रधानका छोरा हुन् । उनी अघिल्लो निर्वाचनमा समेत जीवरामसँग चुनावी प्रतिस्पर्धामा उत्रिदा पराजित भएका थिए । जीवराम स्की संघ र उमेशलाल हक्की संघका अध्यक्ष हुन् ।  

अध्यक्षसँगै ५ उपाध्यक्ष, महासचिव, सहमहासचिव, ३ सचिव, कोषाध्यक्ष र ७ सदस्यसहित १९ सदस्यीय कार्यसमिति निर्वाचनले तय गर्नेछ ।

पाँच उपाध्यक्षका लागि लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठ, पौडी संघका अध्यक्ष अशोकमान वज्राचार्य, ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ, टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द वैद्य, फेन्सिङ संघका सुनील श्रेष्ठ, र्याफ्टिङ एन्ड क्यानोनिङ संघका उपाध्यक्ष राजीव श्रेष्ठ र कुस्ती संघका उपाध्यक्ष समिम मिया अन्सारीको उम्मेदवारी परेको छ ।

अध्यक्षपछि महासचिवका उम्मेदवारमा धेरैको चासो देखिएको छ । महासचिवका लागि कराँते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे र ट्रायथलनका अध्यक्ष नीलेन्द्रराज        श्रेष्ठको उम्मेदवारी परेको छ ।

तीन सचिव पदका लागि सांसद एवं कबड्डी संघकी अध्यक्ष तुलसा थापा, राखेपका पूर्वसदस्यसचिव एवं नेपाल उसु महासंघका अध्यक्ष केशवकुमार विष्ट, जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर        श्रेष्ठ रहेका छन् । तुलसा नेकपाका उपाध्यक्ष वामदेव गौतमकी पत्नी हुन् ।

सात सदस्य पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । २७ जनाको मताधिकार रहेको निर्वाचनमा २६ जनाले विभिन्न पदमा उम्मेदवारी दिए । उम्मेदवारी नदिने एक जना ओलम्पिक कमिटीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधान मात्रै हुन् । 

बढ्दो ध्रुवीकरण
नेपाल ओलम्पिक कमिटी नेकपाको कब्जामा छ भने पनि हुन्छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस लगायतका अन्य दलको उपस्थिति बलियो छैन । त्यसैले अधिकांश बलियो पदमा नेकपासँगै आबद्धहरु प्रतिस्पर्धी छन् तर प्रतिस्पर्धाविहीन भने छैन निर्वाचन ।

पार्टीभित्र रहेको गुटको असर ओलम्पिक कमिटीमा पनि देखिएको छ । पार्टीमा बलियो गुटबाट उम्मेदवार बनेकाको नै पल्ला भारी हुने देखिन्छ । यो आधारमा यसपालि जीवनराम कमजोर उम्मेदवार हुन सक्छन् । पार्टीभित्र उनी अहिले किनारामा पारिएका माधव नेपाल निकट मानिन्छन् ।

उमेशलाल समूहबाट महासचिव पदमा उम्मेदवारी दिएका लाखेको सम्पर्क र सम्बन्धले पनि पार्टीको प्रभावशाली समूह अहिले जीवनरामको विपक्षमा भएको देखिन्छ । लाखे अहिले नेपाल खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालका प्रिय पात्रको रुपमा परिचित छिन् । सिलवाललाई आग्रह गरेरै प्रधानमन्त्री केपी ओलीले राखेपको सदस्य सचिव बनाएका हुन् । 

यी सबै समिकरण हेर्दा यो पाली जीवनरामको भन्दा उमेशलालको पल्ला भारी हुने देखिन्छ । यसमा नेकपा बाहिरका ध्रुवबहादुर प्रधान लगायतकाहरुको भूमिकासमेत निर्णायक हुनेछ ।
 

Leave A Comment