टेनिस कोर्टमा आँशुको वर्षा

शुक्रबार, २० भदौ २०७६, ०४ : ०४ शुक्रवार
टेनिस कोर्टमा आँशुको वर्षा

युएस ओपन टेनिसको अन्तिम १६ का लागि भएको खेल सकिनेबित्तिकै खेलाडी र दर्शक भावविह्वल भए । प्रतिस्पर्धी थिए, डिफेन्डिङ च्याम्पियन जापानी खेलाडी नाओमी ओसाका र भर्खरै टेनिसको यात्रा शुरु गरेकी अमेरिकी खेलाडी १५ वर्षीय कोको गौफ । 

एक प्रतियोगितामा खारिएकी, अर्की भर्खरै पाइला चालिरहेकी । यी दुवैबीच अन्तिम १६ का लागि भएको प्रतियोगिता त्यत्ति रोचक हुन सकेन । ओसाकाले गौफलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् ।

प्रतियोगिताको नतिजा आएलगत्तै गौफले आँसु थाम्न सकिनन् । उनी रुन थालेपछि नओमी उनलाई ढाडस दिन नजिकै गइन् । दुवैबीच कुराकानी भयो । गौफ रोइरहिन् । दुवै बीचको कुराकानीका बीचमा टेलिभिजन प्रस्तोताको प्रवेश भयो । 
उनले प्रारम्भमा गौफसँग कुराकानी गरिन् । कुराकानी गर्दा पनि उनी रोइरहेकी थिइन् ।

हिक्कहिक्क गर्दै उनले ओसाकाकै उत्प्रेरणाले खेल खेलेको बताइन् । उनले विश्व नम्बर एक ओसाकासँग खेल्न पाउँदा धेरै कुरा सिक्न पाएको बताइन् । 
प्रतिक्रिया दिने क्रममा ओसाका पनि भावविह्वल भइन् । उनले आफू ‘नरुने’ भने पनि आँसु पुछिरहेकी थिइन् । उनले कोको गौफ निकै प्रतिभाशाली खेलाडी भएको भन्दै हौसला दिइन् ।

Leave A Comment