गाईको राजनीति

शनिबार, २१ भदौ २०७६, १० : २६ शुक्रवार
गाईको राजनीति

दोस्रो संविधानसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चुनाव चिह्न फाप्यो। शक्तिशाली दलको रुपमा संविधानसभामा पुगेको दलले संविधानसभा निर्वाचनमा आएको मतलाई धार्मिक मतको रुपमा व्याख्या गर्दै सोही अनुसारको गतिविधि अगाडि बढायो। पार्टी राजावादी लाइनमा सफ्ट हुँदै गयो, हिन्दूवादी दलमा हार्ड हुँदै गयो।

संविधान जारी भएपछिको पहिलो निर्वाचनमा पनि गाई नै चुनावचिह्न लिएर निर्वाचनमा होमिदा सोचेजस्तो नतिजा आएन। राष्ट्रिय पार्टीको मान्यतासमेत खोसियो। धन्न राजेन्द्र लिङ्देनले संसद्मा प्रतिनिधित्व गर्न सके। स्थानीय तहको निर्वाचनमा धवल शमसेर राणाले शाख जोगाउँदै नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा निर्वाचित भए।

निर्वाचनमा लज्जास्पद हारपछि तिल्मिलाएको राप्रपा पुनः राजनीतिक मूलधारमा फर्कन आफ्नो हिन्दु धर्मको अजेन्डालाई जोडतोडले उठाइ नै रहेको छ। यसका लागि गाईलाई हतियार बनाउन कुनै कसर बाँकी राखेको छैन उसले। मेयर धवलले आफ्नो पार्टीको चुनाव चिह्न अनि हिन्दु धर्मको प्रतीक गाईको रक्षा गर्न अलपत्र छाडिएका गाईको संरक्षण गर्न कान्जी हाउस सञ्चालनमा ल्याए।

उचित आहार र स्याहारको अभावमा कान्जी हाउसमा राखिएका गाई मर्न थालेको समाचार उहिल्यै सार्वजनिक भएको थियो। यस्ता खबर बाहिरिएपछि मेयर धवल तातिहाल्थे।

तर जब नियन्त्रणै गर्न नसकिने गरी गाईको संख्या बढ्यो, उनी आपतमा परे। ठाउँ सारीको पहल गर्दै अन्यत्र पठाइएका गाईलाई जानाजान भीरबाट खसालेर हत्या गर्ने काम भएको खुल्यो, धवल र उनको पार्टीले गाईमाथि गर्दै आएको राजनीति छरपस्ट भयो।

घटनासँगै राप्रपा नेतृत्व नियोजित रुपमा गरिएको अपराधलाई भवितव्यको रुप दिने प्रयासमा लागेको छ। राप्रपा अध्यक्ष कमल थापाले घटनाप्रति दुःख व्यक्त गरे पनि यस्तो अपराध गर्ने नेपालगञ्ज उपमहानगरपालिका नेतृत्वको विवेकहीन कामबारे केही बोलेका छैनन्। मेयर राणाले समेत नियोजित रुपमा भएको अपराधलाई भवितव्य भनेर घटना ढाकछोप गर्ने प्रयास गरेका छन्।

पशुको हत्या आफैंमा अपराध हो, गौ वधलाई कानुनले नै दण्डनीय बनाएको छ। त्यसैले जसले दैलेख लैजाने भनेर निर्दोष प्राणीलाई भीरबाट खसालेर मार्ने र मार्ने प्रयास ग¥यो, ऊ दण्डका भागिदार हो।

Leave A Comment