कांग्रेसलाई वैशाखी ?

शनिबार, २१ भदौ २०७६, १० : ३३ शुक्रवार
कांग्रेसलाई वैशाखी ?

संविधान बनेपछि भएको निर्वाचनमा नराम्रोसँग बल्ड्याङ खाएको कांग्रेस सत्तास्वाद लिन नपाउँदाको रनाहा कम छैन। नहोस् पनि कसरी ? कम्युनिस्टले चुनावमा गुल्ट्याई हाले। सदनमा समेत प्रतिपक्षको प्रभावकारी भूमिका निभाउन नसक्दा नेपाली कांग्रेस छायाँमा परेको प्रस्टै देखिन्छ। छायाँमा नपरोस् पनि कसरी ? एक त कांग्रेस गुटले ग्रस्त छ। अर्कोतर्फ सदनमा कम उपस्थिति !

अब भने कांग्र्रेसले संविधानबाटै हटाइएको हिन्दु राष्ट्रको वैशाखीको सहारा लिने चर्चा पुनः बाहिरिन थालेको छ। हुन त कांग्रेसका प्रभावशाली नेताले बेलाबखत हिन्दु राष्ट्रको पुनरागमनको बारेमा वाणीसमेत ठोक्ने गरेका छन्।

भातृ संगठनको विषयमा छलफल गर्न बसेको केन्द्रीय समितिको बैठकमा समेत कांग्रेसले हिन्दु राष्ट्रको मुद्दा बोक्नुपर्ने विषय बाहिरिएको छ। बैठकमा कांग्रेसका नेताले हिन्दु राष्ट्रको नारालाई घन्काउनु पर्ने मत राखेछन्। बैठकमा कांग्रेस नेता शेखर कोइरालाले त केन्द्रीय समितिलाई आगामी महाधिवेशनमा हिन्दु राष्ट्रको विषय चर्काे रुपमा उठ्ने भन्दै यस विषयलाई व्यवस्थापन गर्नुपर्ने विषयमा पार्टीको ध्यान जान जरुरी भएको सुझाएछन्। उनको भनाइ आफैँमा अर्थपूर्ण छ।

अर्का नेता सशांक कोइरालाले त बेलाबेलामा हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका छन्। केन्द्रीय समितिमा प्रमुख सचेतक बालकृष्ण खाँण, एनपी साउद लगायतका नेताले हिन्दु धर्मका विषयमा पार्टी गम्भीर हुनुपर्ने भन्ने तर्क बाहिरिएको छ। कतिपय नेताको त कांग्रेसले आफ्नो धर्म छाडेर पराजय भोग्नु परेको विश्लेषण छ।

खुम बहादुरको निधन भएसँगै नेपाली कांग्रेसमा हिन्दु धर्मको मुद्दा कमजोर भएको विश्लेषण गर्ने पनि छन्। नेपाल संवैधानिक रुपमै धर्मनिरपेक्ष मुलुक भैसकेको अवस्थामा कांग्रेसले हिन्दु राष्ट्रको वैशाखी टेकेर पार होला त भन्ने विश्लेषण पनि कम छैन। हुन पनि आफू सत्तामा जाँदा यस्ता मुद्दा बिर्सने अनि हारको चोटमा ब्यूँताउने। यो त जनता झुक्याउने मेसो भएन र !

मुलुकै संघीयतामा गैसकेको अवस्थामा हिन्दु धर्मको वैशाखी टेकेर कांग्रेस उठ्ला त ! सत्तामा हुँदा जनता नदेख्ने अनि सत्ताको स्वाद लिन नपाएका बेला बेमौसमको बाजा बजाएर बस्ने ?

एक त कांग्रेसको नीति नै प्रस्ट हुन प-यो, त्यो प्रस्ट नीतिलाइ पनि जनताले पनि पत्याउनु प-यो ! यसरी दोहोरो चेपुवामा कांग्रेस परेको छ। आखिरीमा त जनताकै विश्वास क्यास गरेर भोट ल्याउने हो क्यारे !

Leave A Comment