बौरिएको बन्दीपुर

सोमबार, २३ भदौ २०७६, ०१ : २८ प्रजु पन्त
बौरिएको बन्दीपुर तस्बिरः कृष्पा श्रेष्ठ

कुनै बेलाको व्यापारिक केन्द्र, सात सालको क्रान्तिताका क्रान्तिको बिगुल फुक्ने क्षेत्र। मगर र नेवारहरुको बस्ती। छर्लङ्गै देखिने हिमाली श्रृंखलाका कारण बाह्य र आन्तरिक पर्यटकमाझ लोकप्रिय छ, बन्दीपुर।

होटल बन्दीपुर अग्र्यानिक होमका सञ्चालक आशुतोष प्रधानका अनुसार पानी मूल भएकाले मगर भाषामा यसको नाम बन्दीपुर राखिएको रहेछ। वनको अर्थ जगंल र दीको अर्थ पानी र पुरको अर्थ गाउँ हो।

भदौ दोस्रो साता त्यहाँ पुग्दा नाम अनुसारको प्रभाव कम हुँदै गएको देखियो। पानीको मुहान बन्दीपुरमा पानीको अभाव बढ्दै रहेछ। समुन्द्री सतहभन्दा एक हजार ३० मिटरको उचाईमा रहेको बन्दीपुर काठमाडौँबाट १ सय ४७ किलोमिटर पर छ।

राजा मुकुन्द सेनले शासन गरेदेखिको इतिहास जोडिने बन्दीपुरमा अढाई सय वर्षअघि भक्तपुरका नेवारहरु गएर व्यापारको केन्द्र बनाए। मगर समुदायले आफ्नो संस्कृतिको जगेर्ना गरे। ठिक्कको हावापानी, काठमाडौं उपत्यकाबाट चार घण्टामा गाडीमा पुगिने यो क्षेत्र बिस्तारै वाह्य पर्यटकको नजरमा पर्न थाल्यो। घुम्ने बानी बढेसँगै आन्तरिक पर्यटकको संख्या ह्वात्तै बढ्यो।

‘अहिले बन्दीपुर आन्तरिक पर्यटकले नै धानिएको छ,’ सात पुस्ता बन्दीपुरमा बिताएका प्रधानले भने, ‘अन्य देशका पर्यटक पनि रमाइरहेका हुन्छन्।’

बन्दीपुर बजारमा नेवार समुदायको पकड देखियो। बजारभन्दा केही माथि रामकोटमा मगरहरुको पुरानो बस्ती छ।

सन् १७६८ मा नेवारहरुले व्यापारिक प्रयोजनका लागि बन्दीपुरलाई प्रयोग गरे। भक्तपुरबाट बन्दीपुर पुगेका पुस्ताका प्रतिनिधि प्रधानका अनुसार भक्तपुरका नेवारहरुले यहाँ व्यापार मात्र गरेनन्, नेवारी संस्कृति पनि भिœयाए। विभिन्न जात्रा र मेला भित्रिए।

चितवन  हुँदै सामान ल्याएर गोरखा, लमजुङ, कास्की, पर्वत, पाल्पातिर लगेर बेच्न थाले। बन्दीपुरको रौनक २०२५ सालसम्म उस्तै रह्यो। तनहुँको सदमुकाम पनि भयो बन्दीपुर। जसै सदरमुकाम सरेर दमौलीमा पुग्यो। बन्दीपुरको रौनक ओइलायो।

यसपछिका वर्ष बन्दीपुरेहरु पोखरा, चितवन र काठमाडौँ बसाइँ सरे। केही पुराना व्यक्तिहरु जो थातथलो छोड्न सकेनन्, उनीहरु मात्र बसे।

‘२०२५ साल पछाडि त बन्दीपुर दिउँसै तर्साउने ठाउँ बन्न पुग्यो,’ आशुतोषले थानीमाईको उकालो चढाउँदै बन्दीपुर इतिहास भने, ‘पछि विभिन्न ठाउँमा छरिएर रहेका बन्दीपुरेहरुले पर्यटन विकासमा उठाउने काम गर्नुभयो र मुहार फेरियो।’

डा. मदनकुमार पिया, ईश्वरगोपाल श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, चिजकुमार श्रेष्ठले बन्दीपुरको मुहार बदल्न निकै मिहिनेत गरे। उनीहरुले सन् १९९२ तिर बन्दीपुर साझा विकास समिति गठन गरे। त्यसपछि फेरि बौरियो बन्दीपुर।

सन् १९९८ मा बन्दीपुरमा इकोटुरिजम सुरुवात भयो। मौलिक शैलीका घरहरु बन्न थाले। बिस्तारै विदेशी पर्यटक आउन थाले। दिउँसै तर्साउने ठाउँ, आकर्षक बन्दीपुरका रुपमा बौरियो। व्यवसायीका अनुसार, भूकम्पपछि आन्तरिक पर्यटन बढेका छन्। काठमाडौँ, पोखरा र  चितवनबाट धेरै आन्तरिक पर्यटक आउँछन्।

प्रकृति र संस्कृतिको सम्मिश्रण
बन्दीपुरमा सांस्कृतिक विविधता त छँदैछ, यहाँबाट देखिने प्रशस्तै हिमश्रृंखला पनि अर्को आकर्षणको पक्ष छ। धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, हिउँचुली, लाङटाङ, मनास्लु आदि हिमाल छर्लङ्गै देखिने प्रधानले बताए। त्यहाँ पुग्दा मौसमले धोका दिँदा हिम श्रृंखलाको दर्शन भने गर्न सकिएन। डम्म बादलले ढाकेको हेरेरै चित्त बुझाइयो।

यहाँको अर्काे पाटो भनेको नेवारी संस्कृति हो। जात्राको सिजनमा लाखे, बाघ जात्रा, रोपाईँ जात्रा, पुतलीको बिहे, बिस्केट जात्राजस्ता जात्राहरु आयोजना गरिन्छन्। गुरुङ र मगर समुदायको चुट्का नाच र  घाटु नाच पनि यतै हुन्छ। सबैभन्दा रोचक र यहाँको मौलिक जात्रा भनेको बाघ जात्रा रहेको प्रधान बताउँछन्।

धार्मिक पाटो पनि उत्तिकै महत्वपूर्ण छ यहाँको। खड्गदेवी मन्दिर अर्काे नमुना हो। सबै जातिको आफ्नै  पुजारी छन् मन्दिरमा। मगर, दलित, बाहुन सबैको आ–आफ्नै पुजारी भएकाले यहाँको जत्तिको गज्जबको धार्मिक सहिष्णुता अन्त कतै देख्न नपाइने आशुतोष बताउँछन्।

मन्दिरहरुमा विन्ध्यवासिनी, गणेश मन्दिर, महालक्ष्मी, थानीमाई, चामुण्डा र तीनधारा महादेव अनि गुम्बादेखि चर्चसम्मै अटेको छ बन्दीपुरमा। थानीमाईबाट मस्र्याङ्दी नदी उत्तिकै आकर्षक देखिन्छ।

यहाँको अर्को आकर्षणको पक्ष भनेको दक्षिण एसियाकै लामो गुफा सिद्ध गुफा पनि हो। ४ सय ३७ मिटर  लामो  यो गुफाका साथै, झरना, स्थानीय अग्र्यानिक कृषि फार्ममा समेत पर्यटकको रुचि बढिरहेको देखियो।
छोटो यात्रामा प्रकृतिसँग लुकामारी खेल्दै रमाउन चाहनेका लागि बन्दीपुर वास्तवमै उत्तम गन्तव्य हो।

कसरी पुग्ने ?
काठमाडौँ नयाँ बसपार्कबाट पोखरा या लमजुङ जाने माइक्रो या बसमा डुम्रेसम्म जान सकिन्छ। दुरी १ सय ४७ किमी मात्र हो। त्यसपछि १ बजेदेखि घण्टैपिच्छे बस छुट्छ। जिप पनि पाइन्छ। भाडा आउजाउ गर्न १ हजार २ सयले पुग्छ। जिपमा केही महँगो पर्न सक्छ।

बस्ने स्थानः होम स्टेदेखि होटलहरु प्रशस्तै छन्। ३ रात ४ दिनको लागि न्यूनतम ४ हजारदेखि आफू खुसी खर्च गर्न सकिन्छ ।
घुम्ने स्थानः मन्दीर, गुफा, हाइकिङ, पुराना बस्तीहरु, हिम श्रृङ्खला आदि।
 
‘बन्दीपुर बगैँचाको अवधारणा ल्याएका छौं’
आशुतोष प्रधान
पयर्टन उद्यमी, होटल अग्र्यानिक बन्दीपुर होम

सरकारले सन् २०२० लाई पयर्टन वर्ष घोषणा  गरेको छ। प्रदेश सरकार र यहाँको स्थानीय सरकारसँग मिलेर काम गरिरहेका छौँ। स्थानीय सरकारले आउजाउ गर्ने बाटोलाई  फराकिलो बनाएको छ,  प्रदेश सरकारले सन् २०१९, २०२० र २०२१ लाई विशेष कार्ययोजनासहित लागिपरेको छ तर अहिलेसम्म निर्देशिका भने बनिसकेको छैन।

हामीले सन् २०२० मा २०२० रुपैयाँमा बन्दीपुर घुमौँ भन्ने नारा लिएर अगाडि बढ्ने तयारीमा छौँ। यो एक रात बास, एक छाक खाना र ब्रेकफास्टको मूल्य हो। बन्दीपुरमा आन्तरिक तथा बाह्य पयर्टकले चार दिन तीन रात सहजै बिताउन सक्छन्। न्यूनतम ४ हजारदेखि अधिकतम आफ्नो बानीअनुसार खर्च गर्न सकिन्छ।

आन्तरिक पर्यटकहरुको चार्म पछिल्लो समय बढे पनि आन्तरिक पयर्टकको संस्कार देखिन्न। घुमिसकेपछि त्यहाँको संस्कृति स्थानीयता र मनोरञ्जन हुनुपर्छ तर आन्तरिक पयर्टकमा मनोरञ्जनमा मात्र ध्यान दिएको देखिन्छ।

दशैंको छेको पारेर बन्दीपुर बगैँचा खुल्दैछ। यसले पनि पयर्टनमा उल्लेख्य योगदान पु¥याउने हाम्रो आशा छ। स्वास्थ्य, आध्यात्म, खेल, संस्कृति र कृषिको अवधारणा अघि बढेको छ।

दोस्रो चोटी किन बन्दीपुर आउने भन्नेहरुका लागि हो, बन्दीपुर बगैँचा।  पर्यटन उद्योग फस्टाउनको लागि एक पटक मात्रै त्यो ठाउँ पुगेर हुन्न। दोस्रो पटक पनि किन जानुपर्छ भन्नेले भर पारेको हुन्छ। बन्दीपुर बगैँचा हामीले पुरातन जीवनयापन कसरी हुन्थ्योदेखि   प्राकृतिक उपचारसम्म उपलब्ध गराउँछौँ। पञ्चकर्ममा हावा, पानी, आगो, घाम र माटोमार्फत् उपचार गर्ने विधि ल्याउँदैछौँ।

Leave A Comment