‘ट्याक्सी छोडेर गाउँ फर्कने बेला भो’

मङ्गलबार, २४ भदौ २०७६, ११ : २४ शुक्रवार
‘ट्याक्सी छोडेर गाउँ फर्कने बेला भो’

तिलकबहादुर श्रेष्ठ, नाइट ट्याक्सी चालक, बा२ज ३६६३

ट्याक्सी चलाउन थालेको कति भयो ?
चार वर्ष जति भयो।

कस्ता कस्ता यात्रु भेट्नु भयो त ?
नाइटमा थरिथरिका यात्रु हुन्छन्। प्रायः मदिराले धुत् भएका यात्रु नै फेला पर्छन्। झगडा गर्ने हिसाबले हिँडेकाहरु पनि भेटिन्छन्। ८ बजेसम्म राम्रै यात्रु हुन्छन्। यो समयमा अफिसदेखि लिएर पसल थुन्ने र कतैबाट आएकाहरु गन्तव्यका लागि ट्याक्सी सज्जन मान्छे पनि हुन्छन्। त्यसभन्दा पछाडि दोहोरी साँझ, डान्स बारबाट निस्केकाहरु नै नाइटका यात्रु हुन्।

रक्सीले मात्तिएका यात्रुहरुले तपाईंहरुसँग कत्तिको झगडा गर्न खोज्छन् ?
खोज्छन् नि किन नखोज्नु ! झगडा गर्न खोज्ने, हात हाल्नेसम्म भएको छ। केही दिनअघि मात्र एउटाले मलाई मुक्का हान्यो। रातिको त्यस्तै १२ बजेको थियो होला। सुन्धाराको पिपलबोट छेउमा त्यो मान्छेले हात दियो। नयाँ बानेश्वर जाने भन्यो। मिटरमा जाने कुरा भो। प्रायः म मिटरमा नै हिँड्छु। मिटरमा जाने हुँदा अलिक भित्र जानुपर्ने हो भने यसो मिलाएर दिनुस् है भनेको थिएँ। के अरे भनेर मलाई मुक्का हानिहान्यो। मिटर भन्दा बढी पैसा मागेको ? भनेर बजाइहाल्यो।

उसले पुलिस चौकी हिँड् भन्यो। जाने भए जाम भनेर अनामनगरको पुलिस चौकी गइयो। त्यहाँ जाँदा उसले मापसे गरेको हुनाले उसलाई र मलाई नै थुनिदियो। भोलिपल्ट मलाई छोड्यो। उसले मलाई कुटेको कारण केस चलाउने कुरा भइरहेको थियो। माया लागेर छोड्न लगाएँ। थर्काउने, धम्क्याउने काम त भइरहन्छ तर हात नै हालेको यो  पहिलो पटक थियो। बडो नमज्जा लाग्यो।

भनेपछि नाइटमा त टयाक्सी चलाउन जोखिम रहेछ है ?
जोखिम छ नि ! रोड रोडमा हिँड्दा त ठिकै छ। गल्लीभित्र जाँदा भने निकै डरमर्दो हुन्छ। नाइटमा मापसे गरेकाले गाडी उठाइदेला भन्ने एउटा डर, प्यासेन्जर नपाइएला भन्ने अर्को तनाव ! अहिले त टुटल र पठाओले राति १२ बजेसम्म टिप उठाइदिन्छन्। अहिले रातभरि काम ग-यो, घरमा जाँदा रित्तै हुने स्थिति छ। साहुको १५ सय, तेल खर्च, खाजा खानु परिहाल्यो। म त ट्याक्सी पेसा नै छोड्ने विचार गर्दैछु। सरकारले पनि गरिखान दिन छोड्यो।

ट्राफिक नियम उल्लंघन गरेर जरिवाना कति तिरिन्छ त ?
ट्राफिक नियम उल्लंघन गरेर भन्दा पनि ज्याकेट नलगाएको भनेर धेरै पटक चिट काटिदिएको छ। ज्याकेट लगाउन बिर्सिदोरहेछु। त्यसकारण चिट काटिदिइहाल्छन्। ट्याक्सीको यात्रु क्षमता भनेको चर जनासम्म हो तर कहिलेकाहीँ ५/६ जनासम्म यात्रु हुन्छन्। उनीहरुलाई खाँदीखाँदी पु-याउनुपर्ने अवस्था हुन्छ। पैसा छैन भनेर चढ्छन्।

केही दिनअगाडि सुन्धाराबाट पाँच जना यात्रु चढे। पैसा छैन दाइ मिलाएर नयाँ बानेश्वर जाउँ भने। बल्लतल्ल पाएको यात्रु गुमाउन पनि मन लागेन। राति १० बजेतिर वीर हस्पिटलअगाडि चेकिङ रहेछ। त्यहाँ म परिहालेँ। मैले पुलिसलाई बिन्ति बिसाएपछि बल्ल  छाडिदिए।  

अघि तपाईंले ट्याक्सी छोड्ने कुरा गर्नुभएको थियो ? किन छोड्ने विचार गर्नु भयो नि ?
अब काठमाडौँमा बसेर बालबच्चा पढाउन नसकिने भयो। रातभरि ट्याक्सी चलाएर साहु र तेल हाल्दै ठिक्क हुन थाल्यो। कमाइधमाइ छैन। काठमाडौँ बसेर के गर्नु ? छोराछोरी पाल्न, स्कुल फि तिर्न, कोठाभाडा नपुग्ने अवस्था आइसकेको छ। एकदिन साहुलाई पैसा तिर्न सकिएन भने भोलिपल्ट डबल हुन्छ। कसरी तिर्नु ? त्यसमाथि ट्याक्सी चालकलाई नै लुटेरा, फटाहा भन्छन्। एउटाले लुट्यो भनेर अनेकथरि दोष ट्याक्सीलाई लगाइरहेका हुन्छन्। यस्तो दोष खपेर के गर्नु ?
प्रस्तुति : भोला अधिकारी

 

Leave A Comment