विश्वकप छनोट : कुबेतसँग नेपालको हार ‘शंकास्पद’

बिहिबार, २६ भदौ २०७६, १२ : ५५ शुक्रवार
विश्वकप छनोट : कुबेतसँग नेपालको हार ‘शंकास्पद’

मैत्रीपूर्ण प्रतियोगितामा कुबेतलाई १–० को नतिजा सुम्पिएको नेपाली फुटबल राष्ट्रिय टोली ७–० गोलको फराकिलो अन्तरमा हा-यो।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट प्रतियोगिताको पहिलो खेलमै नेपाली राष्ट्रिय टोलीले लज्जास्पद नतिजा निकाल्यो। दोस्रो चरणको छनोटमा नेपालको यो पहिलो खेल थियो।

कुबेतको अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको प्रतियोगितामा पहिलो हाफमै नेपालले दुई गोल खाएको थियो। दोस्रो हाफमा पाँच गोल थपियो। नेपालले जवाफी गोल गर्नै सकेन।

नेपाल र कुबेतबीच भएको प्रतियोगितामा अहिलेसम्म नेपालले जित्न सकेको छैन। नेपाल र कुबेतबीच हालसम्म सातवटा खेलमा कुबेतले ६ वटा खेल जितेको थियो। एक खेल बराबरी भएको थियो।

तर कुबेतसँगको खेलमा जुन नतिजा निस्कियो नेपाली टोली त्यत्ति कमजोर टिम पनि हैन। पछिल्लो फिफा वरियतामा कुबेत एक सय ५६ औं र नेपाल एक सय ६६ औं स्थानमा छन्। दुई टोलीबीच पछिल्लो गत मार्चमा मात्रै मैत्रीपूर्ण खेल भएको थियो जसमा कुबेत १–० गोलले मात्र विजयी भएको थियो।
सोही टोलीसँग विश्वकप छनोट खेलमा आएको नतिजाले धेरै शंका जन्माएको खेलका एक जानकारले बताए।

‘मैदानमा नेपाली खेलाडीको व्यवहार र नतिजा सामान्यजस्तो देखिएन’ स्रोतले भन्यो ‘यो खेललाई नेपालका खेल पदाधिकारीले गम्भीर रुपमा विश्लेषण गर्न आवश्यक छ।’

यस अगाडि नेपाली राष्ट्रिय टोलीका कम्तानसहितका खेलाडी क्याच फिक्सिङमा परिसकेको अवस्थामा विश्वकप छनोट खेलको पहिलो खेल शंकास्पद देखिनु पक्कै सुखद पाटो हैन। म्याच फिक्सिङको अनुसन्धानमा परेका खेलमा विश्वकप छनोटका खेलसमेत थिए। यस अगाडि खुलेको म्याच फिक्सिङका घटनामा जित्न नसक्ने टोलीसँग उनीहरुलाई अंक तालिकामा अगाडि बढाउन ठूलो गोल अन्तरले हारिदिने गरेको खुलेको थियो।

ताइपेइविरुद्धको दोस्रो खेलमा आएको नतिजाले समेत पहिलो खेलमा केही गडबड भएको देखाउँछ नै। दोस्रो खेलमा नेपालले ताइपेइलाई २–० ले पराजित गरेको थियो। दोस्रो खेलमा अञ्जन बिष्ट एक्लैले २ गोल गरेका थिए। उनी पहिलो खेलमा मैदानमा थिएन।

ताइपेइ विरुद्ध ल्याएको नतिजा एतिहासिक हो। नेपालले अझै अष्ट्रेलिया र जोर्डनसँग खेल्नै बाकी छ। आगामी खेलमा आउनसक्ने दुखद नतिजा रोक्ने प्रयासका लागि पनि कुवेतसँगको लज्जास्पद हारको कारण र खेलाडिको भुमिकाबारे गहन खोजविन हुन आवश्यक देखिन्छ।

Leave A Comment