जस्ता अगुवा, उस्तै पछुवा ! यो कुरा कसैमा ठ्याक्कै मिल्छ भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमा मिल्छ। उग्र राष्ट्रवादी केपी शर्मा ओलीभन्दा एक रत्ति पनि कम राष्ट्रवादी देखिनु भएन नि ! त्यसैले उनले अनौठो राष्ट्रवादको लहर ल्याउन खोजेका छन्।
उनले पशुपतिमा साँझको आरति सुरु हुनुअघि राष्ट्रिय गान गाउनुपर्ने निर्देशनै दिन भ्याएछन्। यो निर्णयसँगै उनको राष्ट्रवाद छर्लङ्ग भएको हो।
उनको निर्देशनअनुसार पशुपतिमा पूजापाठ गर्न, भजनकीर्तन गर्न मात्रै हैन, त्यहाँ घुन जानेले पनि बेलुकी आरतिअघि ‘सयौँ थुँगा फूलका हामी...’ भन्दै राष्ट्रिय गान गाउनु पर्ने भयो। आफन्त गुमाएर लाश बोकेर गएकाहरुले शोकको घडीमा के गर्नेे ? लाशलाई लात मारेर मुटुमाथि हात राखेर ‘सैयौँ थुँगा...’ गाउने ?
हुन पनि राष्ट्रगानभन्दा लाशको रोदन ठूलो होइन क्यार ! लाश हुने त भइहाले नि ! लाशका अघिल्तिर राष्ट्रगान कसरी ठूलो हुनसक्छ ? तपाईंको शोकभन्दा पनि देशको गायन ठूलो हो नि !
यति मात्र कहाँ हो र ? अब त पशुपति दर्शन गर्न जाँदा पनि गान शुरु हुनेबित्तिकै ढोगिरहेको मान्छे, जुरुक्क उभिएर मुटुमा हात राखी उभिनुपर्ने भयो !
क्या गज्जबको आइडिया छ !
नव पर्यटन मन्त्रीलाई के थाहा छ भने यो आदेशको चर्को आलोचना हुन्छ। यति भएपछि देशमा को रहेछ पर्यटनमन्त्री भन्ने बच्चाजच्चा, वृद्धवृद्धा सबैलाई थाहा हुन्छ।
अब को मन्त्री भयो, ठूलो कुरा हुनै छाडेपछि यस्तैयस्तै निर्णय गरेर को मन्त्री भएछ भनेर भाइरल हुनु ठूलो कुरा हो।
मन्त्रीज्यू, यस्तो खोक्रो राष्ट्रवाद त्याग्नुस्। त्यसै पनि सरकारको कार्यशैलीले जनतामा वितृष्णा जन्मिरहेका बेला यस्ता वाहियात निर्णयले तपाईंको वजन बढाउने होइन।
हुन तपाईंले भन्नु होला, राष्ट्रवादी भावना जगाउने काम गर्दा पनि सरकारले सुख पाएन ! तर राष्ट्रवादी भावना बढाउन, देशप्रति विश्वास र सम्मान जगाउन जनताले सरकारले अह्राएका वाहियात काम खुरुखुरु गर्ने होइन। सरकारले जनताका स–साना समस्यालाई गम्भीरतापूर्वक काम गर्ने हो। सरकारप्रति विश्वास बढाउने हो। राष्ट्रगान गाउँदैमा राष्ट्रप्रेम जाग्ने होइन।
राष्ट्रिय गान प्रयोगसम्बन्धी कार्यविधिअनुसार राष्ट्रिय उत्सव, औपचारिक कार्यक्रम, फौजी सामेली, सैन्य सम्मान, विद्यार्थी प्रार्थना, खेलकुदको समारोह, रेडियो र टिभी आदिमा प्रयोग गर्नुपर्ने व्यवस्था छ। तर मन्दिर, मस्जिद तथा विभिन्न अनावश्यक ठाउँमा बजाउनुपर्ने त उल्लेख छैन ! उल्लासपूर्ण समयमा उपयुक्त हुने राष्ट्रगान, मन्दिरजस्तो ठाउँमा अपमान हुने गरी असान्दर्भिक तवरले प्रयोग गर्नु बुद्धिपूर्ण थिएन नै र विरोध पनि हुने नै भयो। हैन, यस्तो बुद्धि कसले दिँदो हो, हगि ?
Leave A Comment