मैदानमा मच्छड र मान्छे

शुक्रबार, २७ भदौ २०७६, १२ : १२ अच्युत काेइराला
मैदानमा मच्छड र मान्छे

‘मानव जातिले आफ्नो इतिहास आफैं बनाउँछ तर दुःखको कुरा के छ भने उसले आफूले सोचेजस्तो भने बनाउन सक्तैन।’ –कार्ल माक्र्स

माक्र्सले भनेको यो भनाइ लामखुट्टेमा ठ्याक्कै सुहाउँछ। लामखुट्टेले मानव जातिलाई इतिहासदेखि सताउँदै आइरहेको छ तर उसले चाहेर यस्तो भएको भने होइन।

डेंगु यतिबेला नेपालभर आतंक बनेर देखापरेको छ। सन् २००४ मा पहिलो पटक एक विदेशीलाई यो रोग लागेको पहिचान गरिएपछि त्यसयता यस रोगको प्रभाव प्रतिवर्ष बढिरहेको देखिन्छ। यो वर्ष त मच्छडले अति नै गरे। उनीहरुका कारण सात हजारभन्दा बढी सर्वसाधारणले दुःख मात्र पाएनन्, ६ जनाको त मृत्यु नै भइसकेको छ। सन् २०१० यता १४ जनाको ज्यान यिनै मच्छडले लिइसकेका छन् भने यो संक्रमण ४८ जिल्लामा फैलिसकेको छ।
यिनकै कारण यतिबेला सरकारले तिनको टोकाई नियन्त्रण गर्न विभिन्न कदम चालिरहेको छ भने सर्वसाधारणको जानकारीका लागि सामाजिक सञ्जालभरि विभिन्न सूचना जारी गरिएका छन्।

विश्वभर खतरा
चाहे जिका भाइरस होस्, चाहे मलेरिया या डेंगु किन नहोस्, यिनका कारण हरेक वर्ष मानव स्वास्थ्यमा ठूलो धनराशि खर्च भइरहेको छ। पोथी लामखुट्टेको यो सक्रियताका कारण हरेक वर्ष संसारभर कम्तीमा ११ अर्ब डलर स्वास्थ्यमाथि खर्च भइरहेको एक तथ्याङ्कले देखाएको छ। गएको वर्ष मात्र संसारभर लामखुट्टेका कारण ८ लाख ३० हजार मानिसले ज्यान गुमाए। मानिसले मानिसलाई नै मार्ने काम बरु दोस्रो नम्बरमा छ। संसारभरि मानिसले गरेको हत्याको संख्या बरु ५ लाख ८० हजार रहेको छ। जनावरका कारण मान्छे मारिने दोस्रो नम्बरमा बरु सर्प पर्छ। उसका कारण बर्सेनि ४ लाख ७५ हजार मानिसको ज्यान जाने गरेको तथ्याङ्कहरुले देखाएका छन्।
यस हिसाबले मान्छेको ज्यान लिने पहिलो नम्बरमा लामखुट्टे पर्न थालेका कारण पनि परोपकारी संस्था बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले सन् २००० यता चार अर्ब डलर मच्छडजन्य विषयमा शोधका लागि खर्च गरिसकेका छन्। यो संस्थाले संसारभरबाट मलेरिया उन्मूलनका लागि पनि ठूलो रकम खर्च गरिरहेको छ।

मच्छड र मान्छेबीच प्राचीनकालदेखि युद्ध चलिरहेको छ। हरेक वर्ष जति मान्छे मच्छडले मार्छ, त्यति त कसैले पनि मार्दैन। यसपाला पनि डेंगुमार्फत मच्छडले मान्छेलाई चुनौती दिएका छन्।

रमाइलो त के छ भने, कतिपय इतिहासकारहरुले लामखुट्टेलाई मानवजातिकै सबैभन्दा ठूलो दुश्मन मानेका छन्। जति यसले मानिसको हत्या गरेको छ, अन्य कुनै कारणले ज्यान गएको छैन। यिनको दुई लाख वर्षको इतिहासमा १०८ अर्बको जनसंख्यामध्ये ५२ अर्ब त यिनले टोकेर सारिदिएको रोगका कारण सखाप भएका छन्।

त्यसो त यी पोथी आफैँमा हानिकारक भने हुँदैनन्। यिनको टोकाईका कारणले मानव जातिलाई हानि पुग्ने भने होइन। यिनले रगत चुस्दा यिनीहरुसँग भएको भाइरस मानिसको शरीरमा प्रवेश गर्ने हुँदा यो एउटा रोग सार्ने माध्यम मात्र बन्ने हो। ठीक माक्र्सले भनेजस्तो ऊ रोगको माध्यम मात्र बन्ने गरेको छ।

युद्धको निर्णायक
हेर्दा अंगुरको बिउ जत्रै सानो भए पनि यसले मानव जातिलाई पु-याएको हानिको कहानी कम छैन। कतिसम्म भने यही पोथी लामखुट्टेका कारण कयौँ नहार्नुपर्ने युद्ध हारिएका छन् भने नजित्नुपर्ने युद्धहरु जितिएका छन्।

यसको प्रमुख उदाहरणका रुपमा इतिहासकारहरुले अलेक्जेन्डर महान्लाई सम्झने गरेका छन्। इतिहासकारहरुका अनुसार, अलेक्जेन्डर जब संसारका विभिन्न देशहरु जित्दै भारत आइपुगे, गंगा नदी पार गरेर यता आउन नसक्नुको कारण त्यसअघि नै उनका सेनाहरुलाई पोथी लामखुट्टेले दिएको दुःख र सर्वत्र फैलिएको ज्वरो नै प्रमुख हो।

कुनै पनि युद्ध जिताउन युद्ध सरदारका सेना संख्या, तिनले लिएका विविध युद्ध रणनीति र तिनको प्रभावकारिता भन्दा पनि लामखुट्टेले सारेका अनेकन रोगका कारण युद्धको गणना गडबडाएको कुरालाई कमै इतिहासकारले इङ्गित गरेका छन्। प्राचीन कालदेखि नै मानिस सँगसँगै लामखुट्टे पनि युद्धमा छ। एकातिर सेना–सेनाबीचको युद्ध र अर्कोतिर सेना र पोथी लामखुट्टेबीचको युद्ध। मानिस र लामखुट्टेबीचको युद्ध अद्यापि जारी छ। मौका पाउने हो भने उसले कसरी मानिसलाई सिध्याउँछ भन्ने कुरा साढे सात हजार नेपालीलाई उसले एकै गर्मीमा ज्वरोले थलाइदिएबाट बुझ्न सकिन्छ।

लामखुट्टेको जैविकता
एक पटकमा ३–५ मिलिग्राम रगत मात्र बोक्न सक्ने लामखुट्टे उसको हैसियतभन्दा तीन गुणा बढी बोक्न सक्छे। रगतमा भएको पानी छानेर रगतको पौष्टिकता बोक्ने क्षमता रहेको यसले एक पटकमा २० प्रतिशत प्रोटिन छान्ने गर्छे।

प्रजननका लागि उसलाई बढीभन्दा बढी रगत चाहिन्छ। उसको अण्डा चाँडै हुर्कन र वयस्क बनाउन उसलाई मानिसको रगत चाहिने हो। उसका लागि सबैभन्दा मन पर्ने रगतको प्रकार भने ‘ओ’ पोजिटिभ रहेको वैज्ञानिकहरुको दाबी छ।

लामखुट्टेले पुरुषभन्दा स्त्रीलाई बढी रुचाउने, कालाभन्दा गोराको पछि लाग्ने लगायतका केही भ्रम पछिल्लो समय नदेखिएको होइन तर त्यसमा सत्यता नरहेको चिकित्सकीय भनाइ छ। बरु सुगन्ध र साबुनजस्ता विविध सामग्रीले लामखुट्टेलाई आकर्षित गर्ने प्रमाणित भएको छ। बढी कसरत गर्ने, पसिना बढी निस्कने, बढ्ता श्वासप्रश्वासको क्रियाकलाप हुनेबित्तिकै लामखुट्टे आकर्षित हुने देखिएको छ। त्यस्तै गर्भिणी स्त्रीसँग पनि यो बढी आकर्षित हुने गरेकी छ। तापनि तपाईं जतिसुकै अनाकर्षक भए पनि उसको अगाडि हुनुहुन्छ भने तपाईं उसको लक्ष्यमा परिहाल्नु हुन्छ।

यो कति चलाख हुन्छे भने कमभन्दा कम समयमा उसले पर्याप्त रगत चुसिसक्छे। मानव शरीरमा साढे चारदेखि साढे पाँच लिटर रगत हुन्छ। यी सबै रगत चुसिसक्न उसलाई मात्र दुई घण्टा लाग्छ।

जब डाइनोसरलाई यिनले सिध्याए
प्रागऐतिहासिकता अध्येताहरुले डायनासोर यो संसारबाट अचानक गायब हुनुका विविध सिद्धान्त प्रतिपादन गरेका छन्। तीमध्ये एउटा सिद्धान्त एस्ट्रोइडको अग्निवर्षा निकै प्रचलित छ। एस्ट्रोइडको अग्निवर्षाका कारण ७० प्रतिशत जीवजन्तुको विनाश भयो र बाँकीका जीवजन्तु सिध्याउन लामखुट्टेले भूमिका खेलेको केहीको सिद्धान्त छ। लामखुट्टेका प्राचीन पुर्खाको टोकाइका कारण यिनको सर्वनाश भएको सिद्धान्तका पछाडि फेला परेका केही लामखुट्टेका प्राचीन जीवाष्म र त्यसको डिएनएको अवशेषमा देखिएको डाइनोसरको संकेत पनि एक हो।

डार्बिनको कसीमा लामखुट्टे
करिब एक करोड वर्षअघि लामखुट्टे अस्तित्वमा आएको केही वैज्ञानिकहरुको धारणा छ। यति लामो समयसम्म यसले आफ्नो अस्तित्व जोगाउन कसरी सफल भयो होला भन्नेबारे अध्ययन जारी छ। त्यसमध्ये केही वैज्ञानिकहरु भने चाल्र्स डार्बिनले भनेको कुरालाई अघि सार्छन्। डार्बिनको भनाइ थियो, ‘यो संसारमा सबैभन्दा बलियो बाँच्ने होइन, चतुर मात्र बाँच्ने हो, जसले आफूलाई समयानुकूल बनाउन सक्छ।’

ठीक यही कुरा लामखुट्टेको सन्दर्भमा पनि लागू हुने केही वैज्ञानिकहरुको दाबी छ। यसका लागि एउटा उदाहरण सार्ने गरिएको छ। जस्तो कि, दोस्रो विश्वयुद्धका बेला लण्डनको अधिकांश भाग ध्वस्त भएको थियो। मानिसहरु भागाभाग भयो। बम आक्रमणका कारण लामखुट्टेको एउटा जत्था भने एउटा सुरुङभित्र थुनिन पुग्यो। मान्छेको रगत रुचाउने यो जत्थाले बाँच्नका लागि सुरुङभित्रका मुसालाई टोकेर उनीहरुको रगतबाट आफ्नो आवश्यकता पूर्ति गरेको पाइएको थियो। यो उदाहरणबाट वैज्ञानिक जगत चकित परेको थियो र वास्तवमा उसले जस्तोसुकै अप्ठेरोलाई जितेर पनि आफ्नो गुँण जोगाएको थियो, हिजोका दिनमा पनि र भोलिका दिनमा पनि जोगाउने नै छ।

लामखुट्टेले अनेकौँ किसिमका रोगहरु सार्ने गरेको थियो प्राचीनकालमा। तीमध्ये २९ प्रकारका रोगहरु अझै सार्ने गरेकी छे तर तीमध्ये पनि कतिपय रोगहरु मानिस जातिको प्रतिरोधक क्षमता बढ्न थालेपछि पचाउन थालिसकेका छन्। तीमध्ये पनि १५ वटा रोग भने मानिसका लागि निकै हानिकारक देखिएको छ।

जे होस्, लामखुट्टेले हरेक वर्ष गर्ने आक्रमणका कतिपय रोगबाट हामी सुरक्षित छौँ किनभने वर्षौंदेखि त्यो भोगी/थेगी आएका कारण हाम्रो शरीरको रोग प्रतिरोधक प्रणालीले आफूलाई बलियो बनाउँदै आएको छ।

यस हिसाबले अहिलेसम्म लामो समयदेखि आफ्नो अस्तित्व जोगाउने क्रममा लामखुट्टे र मानिस दुवै सफल छन्। तर यिनको दुश्मनी हेर्नुस्, एकअर्कालाई सिध्याउन कसर भने छाडेका छैनन्। हरेक वर्ष अर्बौं रुपैयाँ हरेक देशका सरकारले यिनलाई सिध्याउन प्रयोग गरिरहेका छन्। नेपाल मात्र संसारमा यस्तो देश हो, यिनलाई सिध्याउन पर्याप्त रकम छुट्याउने मन गर्दैन।

Leave A Comment