यौन दलालको चक्रव्यूह

आइतबार, २३ साउन २०७३, १० : ३८ अम्मर जिसी र अनिल यादव , Kathmandu
यौन दलालको चक्रव्यूह

राजधानीमा यौनधन्दा हुने इलाकाहरूमा बग्रेल्ती दलाल हुन्छन् । ग्राहक र यौनकर्मी, यी दुई पक्षको बीचमा बसेर नाफा खाइदिनु उनीहरूको धन्दा हो । आफूलाई ‘गाइड’ पनि भन्ने उनीहरूबाट ग्राहक लुटिन्छन्, यौनकर्मी ठगिन्छन् । डरलाग्दो कुरा के छ भने उनीहरूले फिल्म र मनोरञ्जन जगत्का नाम चलेका अभिनेत्री र मोडलहरूको नाम बदनाम गरिरहेका छन् । ‘फलानी हिरोइन मिलाइदिन्छु, मोडल मिलाइदिन्छु’ भनेर ग्राहक फसाइरहेका हुन्छन् । यौन दलालका यिनै मैला कर्तुत केलाएका छन्, अम्मर जिसी र अनिल यादवले ।

‘कुनै वस्तु किनबेच गर्दा किन्ने र बेच्नेका बीच कुरा मिलाई नाफा खाने व्यक्ति’ दलाल हो भन्छ, नेपाली बृहत् शब्दकोश । महिलाको शरीरलाई वस्तु ठान्ने तिनै दलालहरूको बिगबिगी छ, काठमाडौँका यौनधन्दा हुने इलाकाहरूमा । दलालहरू यौनकर्मीलाई ग्राहक जुटाइदिने र ग्राहकलाई यौनकर्मीसम्म पु¥याइदिने काम मात्रै गर्दैनन्, दुवै पक्षलाई लुट्ने काम पनि गर्छन् । प्रहरीका अनुसार आफूलाई ‘गाइड’ बताउने यस्ता दलाल विभिन्न आवरणमा छ्यापछ्यापती भेटिन्छन् । रात्रिकालीन व्यवसाय सञ्चालन भइरहेका स्थान वरपर दलालहरूको राज नै चल्छ । ‘उनीहरू यौनकर्मी र व्यवसायीले भन्दा कैयौँ गुणा नाफा कुम्ल्याउँछन्,’ डीएसपी सोमेन्द्रसिंह राठौर भन्छन् ।
‘हिरोइन मिलाइदिन्छु’ भन्दै ठग्ने ‘गाइड’
क्यानडाबाट आएका मनोज गौतम एक साँझ ठमेलको डान्सबारमा रमाइलो गरेर बाहिर निस्केका थिए । उनलाई दलाल सञ्जीव बोहोराले ‘नाम चलेको हिरोइन मिलाइदिने’ कुरा गरे । आफूलाई गाइड बताउने उनले मनोजलाई ठमेलबाट दरबारमार्ग पु¥याए । जहाँ हिरोइनसम्म पुयाइदिने दाबी गर्ने दलालहरू चाहेजति  भेटिन्छन् । सञ्जीवको सम्पर्क ट्याक्सी चालक अनिल तामाङसँग थियो ।
अनिलसँग मनोजको बार्गेनिङ चल्यो । फलानो नाम गरेको हिरोइनसँग रात बिताउने व्यवस्था मिलाइदिने र त्यसबापत ३५ हजार रुपैयाँ खर्च लाग्ने अनिलले बताए । गौतम हौसिएर ‘३५ किन ? ४० दिन्छु’ भन्दै ट्याक्सी चढिहाले । अनिल र सञ्जीवले उनलाई ट्याक्सी चढाएर गौशाला र एयरपोर्टतिर घुमाए ।  
‘हिरोइनलाई होटलमै ल्याइदिन्छु’ भन्ने आश्वासन दिएर मनोजलाई सिनामंगलको एउटा होटलको कोठामा पु¥याए । अनिलले आफ्नो सम्पर्कमा भएका दुईजना केटी बोलाए, जो आकर्षक चालढालका थिए र आफूलाई मोडल बताउँथे । अनिलले ‘हिरोइन आउने बेलासम्म यिनै मोडलसँग रमाइलो गरौँ’ भने । कथित मोडलहरूसँग रमाइलो गर्दागर्दै गौतम बेहोस भए । बेहोसी उत्रिँदा मात्र उनले आफू लुटिएको पत्तो पाए । हिरोइनलाई खर्च गर्न भनेर साटेको सात सय यूएस डलर, महँगो मोबाइललगायत चिजबिज स्वाहा भइसकेका थिए ।
‘धोती न टोपी’ भएर मनोज सोह्रखुट्टे प्रहरीचोकी पुगे । उनको उजुरीका आधारमा अनिल र सञ्जीवलाई प्रहरीले पक्राउ ग¥यो । कैयौँपटक प्रहरीको फेला परिसकेका सञ्जीव आफ्नो पेशा नै ‘सेक्स ब्रोकर’ भएको बताउँथे । ‘मेरो काम ग्राहक र गाइडको भेट गराइदिने हो,’ प्रहरी नियन्त्रणमा रहेका उनले शुक्रवारसँग भने, ‘म आफैँले मिलाइदिने होइन । हिरोइन, मोडल, राम्रा, नराम्रा सबै ट्याक्सीवाला गाइडले मिलाइदिन्छन् ।’   
प्रहरीका अनुसार ‘गाइड’को काम गरेर ट्याक्सी चालक अनिल मासिक तीनदेखि चार लाख रुपैयाँसम्म आम्दानी गर्छन् । ट्याक्सी ड्राइभिङ त उनको आवरणमात्र हो । सञ्जीवजस्ता कैयौँ ‘जुनियर गाइड’ उनले ठाउँठाउँमा परिचालन गरेका थिए ।
हिरोइन मिलाइदिने आश्वासनमा विदेशी लुट्ने अर्का गाइड सुमन कार्की पनि अहिले थुनामै छन् । धेरैजसो भारतीय टुरिस्टहरू उनका ‘टार्गेट’ हुन्थे, जो हिरोइन, मोडल र ‘स्ट्यान्डर्ड’ युवतीहरूसँग सम्बन्ध रहेको गफ दिएकै र फोटो देखाएकै भरमा जति पनि पैसा छरिदिन तयार हुन्थे ।
अनलाइनबाट बार्गेनिङ
प्रहरीका अनुसार फेसबुक, भाइबर, वी–च्याटजस्ता सञ्जालमा पहुँच भएका गाइडहरूले अनलाइनबाटै ग्राहक जुटाउँछन् । मोलसमेत उल्लेख भएका फोटोहरू ग्राहकलाई देखाउँछन् । ग्राहकलाई चित्त बुझे भेट्ने स्थान पक्का हुन्छ । गाइडका साथमा युवती पनि आउँछन्, जो आफूलाई मोडल भन्छन् र उनीहरूको लवाइ पत्याउने खालको हुन्छ ।
त्यसपछि ग्राहकलाई होटलमा लिएर जान्छन् । र, सुरु हुन्छ– ग्राहक लुटिइने क्रम । ‘कति केटी त पैसा बुझेर ग्राहकलाई होटलकै कोठामा चुकुल लाइदिएर भाग्ने गरेका पनि छन्,’ सोह्रखुट्टे प्रहरीका सई राजेन्द्र कटुवाल भन्छन्, ‘गाइडसँगको भेटदेखि नै ग्राहकको सपना चकनाचुर हुन थालिसकेको हुन्छ ।’ उनका अनुसार यस्ता गाइड र केटीहरूको पहिलो टार्गेट नशाले मातेका ग्राहकहरू हुन्छन् । ‘भारतीय ग्राहक पनि टार्गेटमा पर्छन् । तर, उनीहरूले प्रहरीमा कम्प्लेन गरिहाल्ने डर हुन्छ । नेपाली ग्राहक जति लुटिए पनि इज्जतको सवाल भन्दै चुपचाप हुन्छन्,’ सई कटुवालले भने, ‘यसरी ठगिएर प्रहरीमा खबर गर्न आउने ग्राहक औँलामा गन्न मिल्ने हुन्छन् । धेरै त इज्जतको सवाल भन्दै जति लुटिए पनि प्रहरीसम्म आइपुग्दैनन् ।’
‘ट्याक्सी चालक धेरै’
सोह्रखुट्टे प्रहरीको अनुसन्धानले भन्छ– ठमेलका गाइडहरूले ग्राहकलाई दरबारमार्गका ट्याक्सी चालकसम्म पु¥याउँछन् । दरबारमार्ग वृतका प्रहरीको अनुभवमा पनि ट्याक्सी चालकहरू नै दलालीमा संलग्न छन् । ‘हामीले पछिल्लो छ महिनाको अवधिमा पक्राउ गरेका ५० दलालमध्ये ९० प्रतिशत ट्याक्सी चालक नै छन्,’ सोह्रखुट्टे वृत्तका डीएसपी सोमेन्द्रसिंह राठौरले भने, ‘ट्याक्सी चालकहरूको गिरोह नै छ । ग्राहकका जस्तासुकै माग पूरा गरिदिन्छु भन्छन् ।’
प्रहरीका अनुसार केही ट्याक्सी चालकको पहुँच मोडलहरूसम्म पनि छ । त्यसलाई उनीहरू भजाउँछन् । फोटो देखाउँछन् । मनलाग्दी पैसा उठाएर अर्को ठग गिरोहसम्म पु¥याइदिन्छन् ।
पछिल्लो पटक दलाली गरेर ठगेको केसमा दुई जना ट्याक्सी चालकलाई सार्वजनिक अपराध मुद्दा चलाएको दरबारमार्ग वृत्तका डीएसपी कृष्णबहादुर पल्लिमगरले बताए । ‘त्यस्तो दलाली गर्नेमा ट्याक्सी चालक धेरै रहेको सूचना छ,’ उनले भने, ‘तर, ठगिएको भनेर कसैले खबर गर्दैनन् ।’ उनका अनुसार तेस्रोलिंगीबाट ठगिएको उजुरी भने परिरहन्छन् । ‘दरबारमार्ग क्षेत्रमा हाई–प्रोफाइल मान्छेको ज्यादा चहलपहल हुने भएकाले दलालहरू पनि चानचुने पहुँचका हुँदैनन्,’ पल्लिमगरले भने ।

‘दलालको अपरिहार्य आवश्यकता’
प्रहरीको आरोप छ– ‘व्यवसायीहरूले नै दलाल संरक्षण गरिरहेका छन् । ग्राहकलाई गाइड गरेर आफूसम्म ल्याइपु¥याउन दलाल नै गुहार्छन् ।’ प्रहरीका अनुसार होटल, रेस्टुरेन्ट, दोहोरी, क्याबिन, बार, डान्स, क्लबका सञ्चालकहरू निश्चित कमिसन दिएर दलाल खटाउँछन् । दुईतीन ‘स्टेप’ दलाल पार गर्दा ग्राहकले कैयौँ रकम गुमाइसक्छ । यौनकार्यकै लागि मात्र नभएर रेस्टुरेन्टमा खानपानका लागि पनि ग्राहक जुटाउन दलालकै भरपर्ने व्यवसायी पनि रहेको प्रहरी बताउँछ ।
यता, व्यवसायीहरू भने प्रहरीले दलाल नियन्त्रण गर्न नसक्दा पर्यटन व्यवसाय नै लज्जित हुन पुगेको बताउँछन् । ‘ग्राहकलाई सजिलो पार्न खोज्ने दलाल मात्र छैनन् यहाँ,’ लज सञ्चालक हेमराज शर्मा भन्छन्, ‘यौनकार्यदेखि विभिन्न गलत कामका नाममा ग्राहकलाई लुटपाट गर्ने दलाललाई सबै मिलेर लखेट्न सक्नुपथ्र्यो । प्रहरीले पनि यस्तालाई तह लाउने गरी कारबाही गर्न खोज्दैन ।’
दलालको गिरोह
दलालहरू गिरोह नै परिचालन गरेर ग्राहक ठग्न सक्रिय रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । ग्राहक खोज्ने एउटा तहको दलाल हुन्छ । उसले ग्राहकलाई सोचेजसरी यौनप्यास मेटाउने ठाउँसम्म पु¥याउनेलगायत आश्वासन दिन्छ । उसले ट्याक्सी चालक वा अर्को कोही उपल्लो दलालसम्म पु¥याउँछ । त्यहाँबाट यौनकर्मीसम्म सम्पर्क हुन्छ । निश्चित ठाउँमा पु¥याएर केटीहरूले नै ग्राहकबाट मोटो रकम असुलेर भाग्ने पनि गरेका घटना छन् ।
यस्तै गिरोहबाट बिल्लीबाठ भएका पीडित हुन्, काभ्रेका रेशम पौडेल । पाँच वर्षपछि कुवेतबाट स्वदेश फर्केका उनी ठमेलमा रमाइलो गर्न पुगे । डान्सबारमा चिनजान भएका एक जनाले रेशमको प्यास मेटाइदिने वचन दियो । ‘उसले दुइटा फिल्म खेलिसकेकी मोडल मिलाइदिन्छु भन्दै अर्को एक जना दलालसँग परिचय गरायो,’ रेशमले भने, ‘उसले केटी भएको ठाउँमा पु¥यायो ।’ दुईजना केटी र दलालसहित रेशम नशाको तालमा होटल छिरे । बेहोस हुने औषधी खुवाएर उनलाई लठ्याइयो । विदेशबाट मजदुरी गरेर ल्याएको दुई लाख रुपैयाँ, सुनको सिक्री, लगेज सबै लुटेर यो समूह फरार भयो । भोलिपल्ट रुँदै प्रहरीमा हारगुहार गर्न पुगेका थिए, रेशम ।
प्यास मेट्न नपाई ठगिनेहरू
शनिवार साँझ काठमाडौँ, कलंकी बस्ने सुजित राई यौनप्यास मेट्न पाइन्छ भन्ने ध्येयले रत्नपार्क पुगे । त्यहाँ यौनकर्मी र ग्राहकहरूबीच बार्गेनिङ चलिरहेको थियो । आफ्ना एक साथीसँग पुगेका उनी त्यहाँ यौनकर्मी खोजिरहेका थिए । त्यत्तिकैमा एक अपरिचित युवाले उनलाई सोधे– ‘केटी चाहिएको हो ? चाहिएको भए दामीदामी छन् । एक जनाको दुई हजारमा ‘होल नाइट’ ।’ सुजितलाई लाग्यो– ‘ढुंगा खोज्दा देउतै मिल्यो ।’ चार हजारमा दुईजना जाने ‘ओके’ भएछ । त्यसपछि ती युवाले सुजितलाई ठमेलभित्र कुनामा रहेको डान्सबार पु¥याए । ‘म त यहाँ बस्दिनँ, केटी लिएर गइहाल्ने हो,’ सुजितले ती दलाललाई तत्काल भने । ‘आत्तिनुपर्दैन, त्यही पैसामा हल्का ड्रिंक्स गर्ने हो, अनि मात्र जान दिन्छन् क्या केटीहरूलाई,’ दलालले सम्झाए । डान्सबारमा नाच्ने दुई युवतीलाई छेउमै बसाइदिए । सुजित र उनको अर्को साथीले केही खाएनन् । उनीहरूका छेउमा रहेका युवतीले आफैँ टेबलमा ल्याउँदै वाइन तनातन तन्काइदिए । केही समयपछि टेबलमा बिल पेश भयो– १० हजार रुपैयाँको । सुजित छाँगाबाट खसेझैँ भए । डान्सबार ल्याउने दलाललाई खोजे । उनी त कुलेलम ठोकिसकेछन् । काउन्टरमा बस्नेलाई सोध्दा ‘हामी चिन्दैनौँ’ भन्ने जवाफ आयो । ‘खल्तीमा चार हजार मात्र थियो,’ ठमेलको सडकमा भेटिएका उनले पछुताउँदै भने, ‘बर्बादै भइयो । भएको मोबाइल दिएर फुत्केको नि । अरू कसैलाई सुनाऊँ भने आफ्नै बेइज्जत । अब त भुलेर पनि यसरी केटी खोज्दै हिँडिँदैन ।’
सडकैभरि दलाल
साँझसाँझतिर नयाँ बसपार्क क्षेत्रमा सडकैभरि दलाल भेटिन्छन् । बाटोमा हिँडिरहेको बटुवालाई उनीहरू ‘दाइ, गेस्टहाउस चाहियो ?’ भनिरहेका हुन्छन् । उनीहरू गेस्टहाउसमात्र मिलाइदिँदैनन्, यौनकर्मी पनि मिलाउँछन् । ‘ग्राहकको अनुहार पढेरै हामी उनीहरूको आवश्यकता बुझ्छौँ,’ आइतवार नयाँ बसपार्कमा भेटिएका एक दलालले भने । शुक्रवारकर्मी गफिइरहेकै बेला एक ग्राहक उनीकहाँ आइपुगे । सुरुमा ती दलालले गेस्टहाउसबारे सोधे । ‘पर्दैन’ भन्ने जवाफ आएपछि उनले फेरि लोभ देखाए, ‘मोडल केटीहरू पनि छन् है दाइ, चाहिन्छ भने भन्नुस् । यस्तो अवसर सधँै आउँदैन ।’ त्यसपछि उनीहरूबीच बार्गेनिङ चल्यो । तीन हजारमा ‘होल नाइट’को कुरा मिल्यो । र, उनीहरू लागे ।
महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी विश्वमणि पोखरेल दलालले ग्राहक ठग्ने समस्या धेरै छ भन्छन् । विशेष गरी, नयाँ बसपार्क क्षेत्रमा त्यस्ता दलाल धेरै हुने गरेको बताउँदै उनले भने, ‘पछिल्लो केही महिनामा १५ जना आफूलाई गाइड बताउने दलाललाई मुद्दा चलाइसक्यौँ । उनीहरू तीनतिरबाट फाइदा लिन्छन् । महिला, ग्राहक र व्यवसायीसँग ।’ ग्राहकहरूले आफू ठगिएको सूचना प्रहरीलाई नदिने प्रवृत्तिले दलाली थप मौलाएको उनको भनाइ छ । प्रहरी प्रभाग, गोंगबुकी प्रमुख प्रहरी निरीक्षक पूर्णिमा चन्दका अनुसार नयाँ बसपार्क क्षेत्रमा विदेशबाट आएकालाई त्यस्ता दलालले टार्गेट गर्छन् । ‘त्यस्तो गतिविधि गर्ने महिलाको हातमा १० प्रतिशत मात्र पर्ने गरेको र अरू दलालले नै खाने गरेको जस्ता खबर महिलाहरूबाटै सुनिन्छन्,’ उनले भनिन्, ‘प्रहरीमा उजुरी र जानकारी नदिने चलनले त्यस्ताविरुद्ध प्रभावकारी कारबाहीमा उत्रन सकिएको छैन ।’
प्रहरीका अनुसार दोहोरी रेस्टुरेन्टका कलाकार मिलाइदिन्छु भनेर ठग्नेहरू पनि नयाँ बसपार्क क्षेत्रमा हुन्छन् । दलालहरू विभिन्न आवरणमा हुने र पीडितले उजुरी नगरिदिने समस्याले दलाल पहिचान गर्न गाह्रो पर्ने गरेको प्रहरीको अनुभव छ ।
उजुरी नै गर्दैनन्
डीएसपी राठौरको कार्यकक्षमा एकजना सरकारी इन्जिनियर हस्याङफस्याङ गर्दै पुगे । यौनप्यास मेट्ने आकांक्षामा दलालमार्फत यौनकर्मीसम्म पुगेको बताउने ती इन्जिनियरले आफू लुटिएको सुनाए । उनको मोबाइलसमेत लुटिएको हुँदा श्रीमतीले गरेको फोन ती यौनकर्मीले उठाउने भय उनमा थियो । ‘ती इन्जिनियर उजुरी नै गर्न चाहन्थेनन्,’ राठौरले भने, ‘उनको एउटा मात्र माग थियो– मोबाइल बन्द गराइदिनुप¥यो ।’
विभिन्न प्रहरी इकाईका अधिकृतहरूका अनुसार यस्ता केही ‘इज्जतदार’ मान्छेहरू समस्या लिएर आउँछन् । तर, उजुरी भने गर्न मान्दैनन् । यौनकर्मी वा दलालबाट लुटिएको खबर अरूलाई सुनाउन धेरैले नचाहने गरेको प्रहरी बताउँछ ।  

 

 

Leave A Comment