जवानी बढाउन विष

सोमबार, ३० भदौ २०७६, १२ : १२ उपेन्द्र खड्का
जवानी बढाउन विष तस्बिरः कृष्पा श्रेष्ठ, माेडलः पूजा शाक्य

भारतीय टेलिभिजन सोनी च्यानलमा अपराधसम्बन्धी एउटा सिरिज प्रशारण हुन्छ ‘क्राइम पेट्रोल’। सत्य घटनामा आधारित अपराधको नाटकीय रुपान्तरण सो कार्यक्रमको एक एपिसोडको विषय थियो– हार्मोन प्रयोग गरी किशोरीलाई वयष्क बनाएर यौन धन्दामा लगाउने।

जसको एउटा वास्तविक कथा थियो– भारतको हरियाणास्थित एउटा ग्रामीण भेगबाट नौ वर्षीया बालिका एकाएक हराउँछिन्। खोज्दै जाँदा ६ महिनापछि उनी मुम्बईको यौन कोठीमा फेला पर्छिन्।

तर जब परिवारले उनलाई भेट्छ, चिन्नै सक्दैनन्। ६ महिना अगाडि हराएकी ९ वर्षीया बालिका १८–२० वर्षकी वयष्कझैँ भइसकेकी थिइन्। उनका स्तनको आकार वयष्क बराबरै थियो। शरीरको आकार–प्रकार पनि पूरै बदलिएको थियो।
तर मानसिक अवस्था भने उनी उही नौ वर्षीयाझैँ थिइन्।

कलिलैमा जवान देखिन भइरहेको हार्मोनको दुरुपयोगबारे शुक्रवारको खोज

प्रहरी अनुसन्धानमा खुल्छ– ती किशोरी अपहरणमा परे लगत्तै उनलाई शारीरिक अवयव बढाउने हार्मोन इन्जेक्सन दिइएको थियो। जसको प्रभावले नौ वर्षकी बालिका शारीरिक रुपमा ६ महिनामै वयष्कझैँ भइसकेकी थिइन्। उनको शारीरिक संरचना त बदलियो तर मानसिक विकास भने सामान्य गतिमै भएको थियो। शरीर र मानसिक अवस्थाबीच तालमेल नमिल्दा, उनमा मानसिक समस्या बढ्दै थियो।

भारतमा हुने अधिकांश अपराधको प्रवृत्ति नेपालसँग मिल्छ। यौन पेशामा लगाउन नेपालबाट किशोरीहरु भारत पु-याएर बेच्ने क्रम अझै रोकिएको छैन। अहिले त आन्तरिक रुपमै काठमाडौं, पोखरा लगायतका शहरको रात्रिकालीन व्यवसायमा संलग्न गराउन ग्रामीण भेगबाट किशोरी ल्याउने क्रम बढेकै छ। वैदेशिक रोजगारीमा उमेर छलेर जानेहरुको संख्या पनि उत्तिकै छ।

कार्यक्रम देखाइएको यौवन बढाउन प्रयोग भएको स्टेरोइड, अक्सिटोसिन, टेस्टेस्टेरोन, प्रोजेस्टेरोन र स्ट्रोजेन हार्मोन खुवाउने अपराध कतै नेपालमा पनि गुपचुप भइरहेको त छैन ?

तीन महिना लगाएर शुक्रवारले गरेको खोजमा काठमाडौंमा यस्ता हार्मोनको दुरुपयोगका केही तथ्य फेला परे। खोजमा यसका ग्राहक काठमाडौंका कलिला यौनकर्मी, रात्रिकालीन व्यवसायमा संलग्न किशोरी अनि तेस्रो लिङ्गी समुदायका केही सदस्य रहेको देखियो।

वैदेशिक रोजगारीमा उमेर छलेर जान चाहने किशोरीमा समेत यसको प्रयोग भएको हुनसक्छ तर यसबारे केही तथ्य फेला परेन।

हार्मोनको दुरुपयोगबारे जिम्मेवार सरकारी निकायमा गुनासो पुगेकोसमेत देखियो तर प्रमाण छैन भनेर उनीहरु मौन बसिरहेका छन्।

नेपालमा ग्रोथ तथा सेक्स हार्मोनको दुरुपयोग हुने गरेको गुनासो आउने गरेको औषधी व्यवस्था विभागका वरिष्ठ औषधी व्यवस्थापक सन्तोष केसीले स्विकार गरे।

‘गुनासो बेलाबेलामा आउँछन्, तर ठोस प्रमाणको अभावमा कार्बाही भएको छैन,’ उनले भने, ‘नेपालमा मेथायल प्रोजेस्टेरोन, डिपोजस्ता हार्मोन खसी–बोकाको वजन बढाउन प्रयोग हुने गरेको गुनासो भने कहिलेकाहीँ आउने गरेको छ।’

व्यक्तिको शरीरिक बनावट तथा यौनाङ्ग छिटो वृद्धि गर्नका लागि यौन हार्मोनको प्रयोग हुने गरेको सुनिएको उनले स्वीकारे।

सेक्स हार्मोनका रुपमा इस्ट्रोजेन, प्रोजेस्टेरोन, स्टेरोइड, एनाबोलिक स्टेरोइड जस्ता हार्मोन प्रयोग हुने गरेको सुनिए पनि विभागसँग प्रमाण नभएको उनले बताए।

एक चिकित्सकले पाँच वर्षअघि हार्मोनबारे भएको एक गोष्ठीमा सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लाका किशोरीमा यस्ता हार्मोन प्रयोग गरेर वयष्कझैँ बनाएर भारतीय यौन कोठीहरुमा लगेर बिक्री गर्ने गरेकोबारे बहस भएको सुनाए।

हार्मोनको दुरुपयोगबारे केही चिकित्सकसमेत जानकार देखिए। तर औपचारिक रुपमा बोल्न चाहेनन्। अस्पताल र क्लिनिकमा आउने कम उमेरका किशोरीहरुले शरीर बढाउने औषधी भन्दै माग्ने गरेको अनुभव सुनाउँदै एक चिकित्सकले भने, ‘केहीलाई यसबारे जानकारी रहेछ, उनीहरु स्तन बढाउने, जिउ मोटाउने औषधी दिनुस् न भन्दै आउँछन्। तर समस्या नभई त दिन मिल्दैन भन्दा नाम लेखिदिनुस् हामी औषधी पसलमा किन्छौँ भन्छन्।’

एक चिकित्सकले पाँच वर्षअघि हार्मोनबारे भएको एक गोष्ठीमा सिन्धुपाल्चोक, नुवाकोट लगायतका जिल्लाका किशोरीमा यस्ता हार्मोन प्रयोग गरेर वयष्कझैँ बनाएर भारतीय यौन कोठीहरुमा लगेर बिक्री गर्ने गरेकोबारे बहस भएको सुनाए।

‘सामान्य छलफल भएको थियो, तर त्यत्ति विस्तृतमा छलफल हुन सकेन,’ ती चिकित्सकले शुक्रवारसँग भने। कम उमेरका किशोरीलाई रात्रिकालीन व्यवसायमा काममा लगाएको आशंकामा दरबारमार्ग, कोटेश्वर, सोह्रखुट्टे क्षेत्रको प्रहरीले बेलाबखत होटल, रेस्टुरेन्ट तथा यौन कोठीहरुमा समेत छापा मार्ने गरेको छ।

छापा मार्दा भेटिने युवतीहरुको व्यवहार बच्चाझैँ देखिने गरे पनि शारीरिक अवस्था भने वयष्कझैँ देखिदा शंका लाग्ने रहेछ प्रहरीलाई।

तर जुन केसमा ल्याएको प्रहरी त्यसैमा लाग्यो, शारीरिक संरचना र व्यवहारमाथि शंका गरेर विस्तृत अनुसन्धान नगर्दा रहस्य, रहस्यमै रह्यो।

एक प्रहरी अधिकृत फेला परे। तर औषधीको कुरा भन्दै जानकार अधिकारी पनि औपचारिक रुपमा बोल्न चाहेनन्।

‘एक घरमा खाजा घरको आवरणमा यौन कोठी चलाएको सूचनाका आधारमा छापा मार्दा चार जना युवती फेला परे,’ ती डिएसपीले भने, ‘उनीहरुको बोली र व्यवहार बच्चाको जस्तै थियो। तर सबैले आफ्नो उमेर २०–२२ वर्ष भनेपछि सञ्चालक र उनीहरुलाई सार्वजनिक अपराधमा केही दिन हिरासतमा राखेर छाडियो। त्यतातिर अनुसन्धानै गरिएन।’
तर, शुक्रवारको खोजमा यस्ता हार्मोनको दुरुपयोगबारे केही तथ्य अनि केही ग्राहक भने फेला परे।

खुल्लमखुल्ला बिक्री
एलेन भण्डारी समलिंगी तथा तेस्रो लिंगीको संस्था ब्लु डायमण्ड सोसाइटीमा आबद्ध छन्। भण्डारीले अहिले टेस्टेस्टेरोन पुरुष हार्मोन प्रयोग गरिरहेका छन्। यो हर्मोनले महिलामा पुरुषको अंग विकास गराउँछ।

भण्डारीका अनुसार संस्थामा आबद्ध दुई दर्जन भन्दा बढीले पुरुष हार्माेन प्रयोग गर्छन्। हजार भन्दा बढीले महिला हार्मोन। उनीहरुले प्रयोग गर्ने हार्मोन भने नेपालमा किन्दैनन् रे !
‘यो हार्मोन थाइल्यान्डबाट आउँछ,’ उनले भने, ‘संस्थाबाटै प्रयोगकर्ताले लिन्छन्।’
उनले नेपालमा नपाइने बताए पनि शुक्रवारले काठमाडौंकै औषधी पसलमा सहजै बिक्री भइरहेको फेला पा-यो। बानेश्वरको एक पसलबाट स्टेरोइडको कर्टिलोन नामक हार्मोनको चक्की सहजै किन्न पाइयो। एक फायलको मूल्य जम्मा २० रुपैयाँ मात्रै रहेछ।

त्यस्तै लतितपुरस्थित बालकुमारीको किस्ट पोली क्लिनिक एन्ड मेडिकल सेन्टर प्रालिमा त स्टेरोइड समूहकै डेक्सोना औषधी पनि सहजै पाइयो। यसको मूल्य पनि प्रति ट्याब्लेट १ रुपैयाँ मात्र।

यी औषधि चिकित्सकको सिफारिस बिना बिक्री गर्नु अपराध हो तर दुवै औषधी किन्दा व्यापारीले चिकित्सकको सिफारिसपत्र खोज्दै खोजेनन्। नाम लिएकै आधारमा खुरुखुरु दिए।

गौशालाको एक औषधी पसलमा केही यौनकर्मी महिलाले यही हर्मोन किनेको देखियो। उनीहरु तीन जनाको संख्यामा थिए र उमेर किशोरी नै देखिन्थ्यो। शंका लागेर शुक्रवारकर्मी हार्मोन किन्न जाँदा औषधी पसलेले तलदेखि माथिसम्म हेरे र छैन भने।

केही समय यताउति गर्दैगर्दा नजिकैको कपडा पसलेसँग कुराकानी भयो। उनले जे भने त्यसले सो औषधी पसलबाट अनधिकृत रुपमा यी हार्मोन बिक्री हुने गरेको देखियो।

‘तपाईं हेर्दै पुलिसको सिआइडीजस्तो हुनुहुँदोरैछ, कहाँ दिन्छन् त उनीहरुले ?’ उनले भने, ‘त्यस्तो औषधी किन्न आउने पनि नाइके हुन्छन्। जो पायो उहीलाई दिँदैनन्।’

तरकारी बढाउने हार्मोन मानव ज्यानमा
नेपालमा अक्सिटोसिनको दुरुपयोग तरकारी खेतीबाट शुरु भएको थियो। रातारात तरकारीको आकार बढाएर बिक्री गर्न कृषकहरुले काँक्रा, फर्सी, लौका, घिरौँलाजस्ता तरकारी र फलफूलमा अक्सिटोसिन हार्मोन इन्जेक्सन गर्ने गरेको खुल्यो।

यस विषयमा थप जानकारी लिन सरकारी निकायमा पुग्दा औपचारिक रुपमा बोल्न चाहेनन्। तर अनौपचारिक कुराकानीमा तरकारीमा अक्सिटोसिन हार्मोन प्रयोग हुने गरेको स्वीकारे।

यसको प्रयोग खसी, बोका र कुखुरामा समेत हुने गरेको देखियो। मासुका लागि प्रयोग गरिने पशुपक्षीको तौल बढाएर बढी मूल्य पाउन केही किसानले यस्तो बदमासी गर्ने गरेको पशुविज्ञहरु स्वीकार गर्छन्।

कृषि मन्त्रालयमा भेटिएका एक कर्मचारीले त आफैँले तरकारीमा अक्सिटोसिन प्रयोग गर्दा ह्वात्तै तरकारीको आकार बढेको अनुभव सुनाए।

तरकारीमा मात्रै हैन गाई, भैँसी जस्ता दुधालु घर पालुवा जनावरको दुध पगार्न  समेत यसको प्रयोग हुने गरेको छ।

यसको प्रयोग खसी, बोका र कुखुरामा समेत हुने गरेको देखियो। मासुका लागि प्रयोग गरिने पशुपक्षीको तौल बढाएर बढी मूल्य पाउन केही किसानले यस्तो बदमासी गर्ने गरेको पशुविज्ञहरु स्वीकार गर्छन्। तर एन्टिबायोटिकको परीक्षण हुने भए पनि हार्मोनको भने परिक्षण नहुने उनीहरु बताउँछन्।

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालाले मासु र दुधमा एन्टिबायोटिक प्रयोग भएको छ वा छैन भन्ने अध्ययन गरिरहेको छ। आगामी वर्षबाट हार्मोनको प्रयोगको बारेमा समेत अध्ययन गर्ने तयारी भएको सो संस्थाका प्रमुख पशु चिकित्सक डा. डिकरदेव भट्टले जानकारी दिए।

इस्ट्रोजेन र प्रजेस्टेरोन प्रयोग भएको तरकारी र मासु खाँदासमेत उमेर पुग्नु अगाडि नै वयष्कझैँ हुने, यौनअंगहरुको विकास चाँडै हुने समस्या हुने स्त्री रोग विशेषज्ञ डा. नवीन दर्नालले जानकारी दिए।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्राविधिक सहायक बलारामकृष्ण बन्जाडेका अनुसार दुधमा २४ घण्टा र मासुमा २४ घण्टासम्म अक्सिटोसिनको असर रहिरहने भएकाले अक्सिटोसिन प्रयोग गरेको २४ घण्टासम्म त्यस्तो मासु र दुध उपभोग गर्नु खतरनाक हुने बताए।

सदुपयोग गरे ओखती, दुरुपयोग गरे विष
चिकित्सकको सल्लाहअनुसार प्रयोग गरे यी हार्मोन औषधी नै हुन् तर समस्यै नभई प्रयोग गरे विष समान हुने विशेषज्ञ चिकित्सकहरु बताउँछन्।

स्त्री रोग विशेषज्ञ दर्नालका अनुसार इस्ट्रोजेन र प्रोजेस्टेरोन महिला हार्मोन हुन्। यी हार्मोन महिनावारी गडबढी भए, स्तनको विकास नभए, पाठेघरको राम्रोसँग विकास नभए प्रयोग गरिन्छ।

स्टेरोइड हार्मोन मृगौला भन्दा माथिको ग्रन्थिबाट उत्पादन हुन्छ। जुन ग्रन्थिलाई चिकित्सकीय भाषामा एड्रिनल ग्लान्ड भनिन्छ। पुरुष–महिला दुवैमा स्टेरोइड हार्मोनको प्रयोग हुन्छ। यो हार्मोनले शरीरको रक्तचापलाई सन्तुलित गर्छ। कोर्टिको स्टेरोइड हार्मोन औषधिको रुपमा प्रयोग हुने चिकित्सक बताउँछन्।

स्टेरोइड हार्मोन दम, एलर्जी, मुटु, छातिको समस्या, बाथ रोग, छालाको समस्या, शरीर शिथिल हुनेजस्ता समस्यामा औषधिको रुपमा प्र्रयोग हुने वीर अस्पतालका डा. सुशील मोहन भट्टराईले बताए।

चिकित्सकका अनुसार कोर्टिको स्टेरोइड हार्मोनले शरीरको मेटाबोलिज्म नियन्त्रण गर्न मद्दत गर्छ। शरीरमा नुन र पानीको मात्रा सन्तुलित राख्ने काम समेत यसले गर्छ।
यो हार्मोनको दुरुपयोग गर्दा शरीरको तौल ह्वात्तै बढ्ने फिजिसियन डा. देवराज घिमिरे बताउँछन्।

डा. घिमिरेले भने, ‘यो हार्मोन खाएपछि व्यक्तिको अनुहार गोलो हुँदै जान्छ।’ भुँडीसमेत बढ्छ। हाइट नबढ्ने भए पनि व्यक्तिको तौल बढेपछि साना बालबालिका पनि वयस्क जस्ता देखिन्छन्। स्तन पनि ठूलो देखिने चिकित्सक बताउँछन्।

जिम गर्दा मांशपेशी बढाउन स्टेरोइड हार्मोनको दुरुपयोग हुने गरेको छ। यसरी शरीरको मांशपेशी ठूलो बनाउने भ्रममा हाई डोज हार्मोन प्रयोग गर्दा शरीरमा नकारात्मक असर पुग्ने डा. दर्नाल बताउँछन्। ‘यो हार्मोनले तुरुन्तै दुखाई कम गर्ने, खाउञ्जेल मोटोघाटो र राम्रो पनि देखिने तर बिस्तारै असर गर्दै जाने हुनाले यसको प्रयोगमा सचेत हुनुपर्छ,’ डा. दर्नालको सचेतना छ।

‘स्टेरोइडको दुरुपयोग भएको देखियोे’
डा. ज्योति भट्टराई (कुँवर)
हार्मोन रोग विशेषज्ञ,मेट्रो अस्पताल
शरीरको एउटा अंगमा उत्पादन भएर अर्को अंगमा प्रभाव पार्ने रासायनिक तत्व हार्मोन हो। हार्मोन तत्व आँखाले देख्न सकिन्न। रगतको परीक्षण गरी शरीरमा हार्मोनको मात्रा मापन गर्न भने सकिन्छ।

शरीरमा हार्मोन बढी वा कम भएर शरीरमा असर देखिन्छन्। जुन हार्मोन रोग विशेषज्ञले पहिचान गरी गडबडी भए उपचार गरेर सामान्य अवस्थामा ल्याउने गर्छन्।

डा. ज्योति भट्टराई (कुँवर)

पुरुषमा टेस्टेस्टोरोन हार्मोनको कमी भएर दाह्री जुँगाको विकास नभएको खण्डमा कृत्रिम रुपमा टेस्टेस्टोरोन हार्मोन दिई उपचार गरिन्छ। जसले उमेरअनुसार शारीरिक विकास हुन मद्दत पुग्छ।

विविध कारणले व्यक्तिमा हार्मोनको कमी हुन सक्छ। हार्मोनको गडबडीले व्यक्तिमा विभिन्न समस्या देखिन्छन्।

थाइरोइड हार्मोनको कमीले पनिको उचाई कम हुन सक्छ। महिलाको महिनावारी गडबडी, कतिपय महिलामा बाँझोपनको समेत समस्या हुन सक्छ। थाइरोइडको कमीले कपाल झर्ने, मोटोपना हुने, थकान महसुस हुने, कब्जियत हुने, आँखीभौँका रौँ झर्नेजस्ता समस्या हुन सक्छन्।

आयुर्वेदिक औषधीको प्याकेटमा स्टेरोइड हार्मोन मिसाएर बिरामीलाई दिने गरेको पनि पाइन्छ। अध्ययनअनुसार भारतमा आयुर्वेदिक औषधिको नाममा स्टेरोइड हार्मोन प्रयोग भएको देखिएको छ।

मकहाँ केही बिरामी आयुर्वेदिक उपचारमा स्टेरोइड हार्मोनको जस्तो असरले पीडित भएर उपचारका लागि आएको अनुभव छ। बिरामीको स्वास्थ्य जाँच तथा काउन्सिलिङ गर्दा स्टेरोइडको दुरुपयोग भएको देखिएको छ। सामान्य दुखाईमा यो औषधी (हार्मोन) खान हुन्न। यो हार्मोनले तुरुन्तै दुखाई कम गर्छ तर बिस्तारै नकारात्मक असर पु-याउँदै जान्छ।

अञ्जानमा वा कसैको सल्लाहमा स्टेरोइड भनिने हार्मोन रासायनिक तत्व खाँदा मधुमेह, हड्डी भाँचिनेजस्ता समस्याबाट पीडित भएर उपचारका लागि आउने बिरामी धेरै हुन्छन्।

मुख फुल्ने, तौल ह्वात्तै बढ्ने, महिलाको पनि मुखमा दाह्री आउने, छालामा नीलडाम देखिने, चिनीरोग हुने, हड्डी भाँचिने जोखिम हुनाले यस्ता हार्मोन जथाभावी प्रयोग गर्नु हुन्न। कुनै पनि हार्मोन चिकित्सकको सल्लाहबिना खानु हुन्न।

Leave A Comment