गेस्टले चुरोटको ठुटाले हात पोलिदिए

मङ्गलबार, ३१ भदौ २०७६, ११ : ०९ शुक्रवार
गेस्टले चुरोटको ठुटाले हात पोलिदिए

खरबारीमा मायाले, टोलै रमाइलो, वरको शितल छायाँ, लैनो भैँसी लगायतका दर्जनौँ गीतमा आवाज भरेकी लोकगायिका मीरा गिरी दोहारी साँझमा गाइरहने गायिका हुन्। उनलाई जमलमा रहेको दरबार दोहोरी साँझमा गीत गाइरहेको बेला भोला अधिकारीले गरेको रात्रिकालीन कुराकानीः

भक्तपुरको कौशलटारमा एउटा दोहोरी साँझ थियो। आठ वर्षअघि त्यहीँबाट नै मेरो रात्रिकालीन जागिरको सुरुवात भयो। एकजा चिनेकै साथीले रमाइलो गर्न जाने भनेर सोधी। मैले पनि हुन्छ भनेँ। दोहोरी साँझ भनेको के हो, कस्तो हुन्छ भन्ने मलाई थाहा थिएन। मान्छेले दोहारी प्रत्यक्ष कसरी गीत गाउँछ होला जस्तो लाग्थ्यो। एक दिन गएपछि त्यहीँ वेटरको काम गर्ने प्रस्ताव आयो। मलाई रमाइलो नै लाग्यो।

छ महिना त्यहाँ काम गरेपछि यहाँभन्दा अझ राम्रो काम पाइएला भनेर खोज्न थालेँ। त्यसपछि कोटेश्वर दोहारी साँझमा गएँ। त्यहाँ पनि म वेट्रेस नै थिएँ।  मैले नयाँ बानेश्वरमा ससुराली दोहोरी साँझमा काम गर्दागर्दै गाउने रहर पलाउन थाल्यो। त्यतिञ्जेलसम्म मैले दोहारी गाउने अभ्यास पनि गरिरहेकी थिएँ। तर सवालको जावफ फर्काउन मलाई आउँदैन थियो। तर अभ्यास गर्दागर्दै मैले त्यो पनि जानेँ।

वेटरबाट गायनमा
वेटरको इज्जत थिएन, सबैले हेप्थे। त्यसैले गाउने रहर पलाएको हो, इज्जतका खातिर। अब भन्नेबित्तिकै कसैले स्टेज दिने कुरा पनि भएन तर स्टेज तल भने खुबै गाउँथेँ।

एक दिन स्टेज तल गाइरहेको बेला एकजना दाइले स्टेज चढेर गाएर देखाऊ भनेर चुनौती दिनुभयो। मैले पनि गाएँ तर मैले त्यो आँट गरेको ससुराली दोहोरी साँझका सञ्चालकलाई मन परेन।

त्यसपछि त्यहाँ छाडेर म ललितपुरको ग्वार्कोमा रहेको उकाली ओराली दोहारी साँझमा काम गर्न थालेँ। मैले त्यहाँ गायिकाका रुपमा काम थालेँ। यसरी मेरो गायन यात्रा शुरु भयो।

दोहारी साँझबाट निकाल्न खोजे
उकाली ओरालीमा गएपछि मलाई सुनील थापा दाइले पनि गाउने कला सिकाउन थाल्नुभयो। तर सिकारु भएको भन्दै त्यहाँ त्यति इज्जत नपाएपछि अर्को दोहोरीमा गएँ। मलाई राम्रो गायिका बन्ने ईख पलाएर आएको थियो। गर्दागर्दै यतिबेला मैले दोहोरी साँझमा गाउन थालेको आठ वर्ष पुगिसकेछ। यतिबेला म जमलको दरबारमार्ग दोहोरी साँझमा काम गरिरहेकी छु।

गेस्टले पोलिदियो हात
कोटेश्वर दोहारी साँझमा काम गर्दा एकजना गेस्टले मेरो दाइने हातमा चुरोटले पोलिदिएकाे थियो। काम गर्दागर्दै मैले डाइनिङ टेबलमा स्ट्रे राख्न भुलेछु। एकजना चिनेकै गेस्ट आएको थियो। निकै पाको मान्छे थियो। उसले ‘ओई यता आइज त’ भनेर बोलायो। म नजिकै पुगेँ। उसले त रिसले कराउन थाल्यो, ‘के हो पारा ? स्ट्रे खोई ?’ यसपछि म स्ट्रे लिन जानै लागेको थिएँ, हात समाएर मेरो नाडीमा चुरोट निभायो। अहिले पनि त्यो खत प्रस्टै देखिन्छ। कतिले हेप्ने, हप्काउने, उस्तै परे चुरोटले झोसिदिने पीडा त कति भोगियो कति !

कतिपय गेस्टहरु राम्रा पनि हुन्थे। पढ्ने बेलामा किन वेटर काम गरेको, पढ्न मन छ भने बरु म पढाइदिन्छु भन्ने गेस्टहरु नआउने होइनन्। रक्सी लागेपछि थरिथरिका भाषणहरु सुनिन्थ्यो। कोही गेस्ट घुमाउन लैजाने कुरा गर्थे।

हामी वेटर भएपछि हाँसेर, कुरा अन्तै मोड्नुपर्थो। गेस्टहरुले जे भने पनि सहनुपर्ने हुन्थ्यो। नत्र साहुले गाली गरिहाल्थे। अहिले त धेरै परिवर्तन भएको छ। सबैले सम्मान गर्न थालेका छन्। म आफू गायिका भएकाले सम्मान पाएको मात्र होइन, वेटरहरुलाई गर्ने व्यवहार पनि धेरै परिवर्तन भइसकेको छ।

सवालको जवाफ त दिइन्छ
दोहोरी साँझमा थरिथरिका गेस्टहरु आएका हुन्छन्। उनीहरु पनि दोहारी खेल्न रुचाउँछन्। कसैले राम्रै गाउँछन्। कसैले अलिक छाडापन मिसाएर पनि गाउँछन्। यस्तो बेलामा जस्ताको जस्तै जवाफ फर्काउन जान्नु पर्छ र बिस्तारै गीतबाट नै मिलाएर सभ्य शब्दतर्फ लैजानुपर्छ। दोहारीलाई कता लैजाने भन्ने कुरा गायिकाहरुमा खुबी हुनुपर्छ। नत्र त दोहोरी नभएर फोहोरी हुनसक्छ।
दोहोरी साँझमा प्रायः झगडा परिरहेकै हुन्छ। रक्सीको तालमा सद्दे मान्छे पनि बटारिन थालेको देखेकी छु।

Leave A Comment