घरेलु सहायक राख्नु कानुनसम्मत हो ?

बुधबार, ०१ असोज २०७६, १० : ५२ स्वीकृति बराल
घरेलु सहायक राख्नु कानुनसम्मत हो ?

घरेलु सहायक भनेको घरको काम सघाउनका लागि राखिएको व्यक्ति हो। मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १४ मा ज्याला मजुरीमा काम गर्नेहरुको हकहितको विचार गर्दै ज्याला मजुरीसम्बन्धी व्यवस्थाको बारेमा लेखिएको छ। ज्याला मजुरीको परिच्छेदअनुसार कसैले कुनै व्यक्तिलाई काममा लगाउँदा सामान्यतः एक दिनमा आठ घण्टाभन्दा बढी अवधिका लागि काम लगाउन पाउँदैन। आठ घण्टाभन्दा बढी  काममा लगाए, आठ घण्टा बाहेकको प्रत्येक घण्टाबापत सोही अनुपातको थप ज्याला मजुरी दिनुपर्छ।

यो मुलुकी देवानी संहितामा रहेको प्रावधान हो तर घरेलु सहायकलाई काम लगाउँदा भने उक्त कुरा लागु हुँदैन। घरेलु सहायक घरपरिवारको कामका लागि आवश्यकताअनुसार राखिने हुनाले जुनसुकै बेला पनि काममा लगाउन सकिन्छ तर कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई निजले नचाहेसम्म मनलाग्दी तरिकाले काम गर्ने व्यक्तिको मन्जुरी बेगर कुनै पनि किसिमको काम लगाउन पाउँदैन। काम लगाउँदा व्यक्तिको उमेर कानुनले तोकेबमोजिम पुग्न जरुरी हुन्छ। देवानी संहिताको दफा ६४० अनुसार सोह्र वर्ष नपुगेकालाई जोखिमपूर्ण काममा लगाउन नहुने र १४ वर्ष उमेर पुगेकालाई निजको मन्जुरी लिई निजले सक्ने किसिमको काममा लगाउन पाउने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ।

जो सुकै व्यक्तिलाई काम गरेबापत कामको अनुपातको तोकिएको भए त्यही अनुसारको र नतोकिएको भए काम गरेको ठाउँको चलेअनुसारको ज्याला मजुरी दिनुपर्छ ।

मुलुकी देवानी संहिता, २०७४ को दफा ६४४ ले घरेलु सहायक सम्बन्धी विशेष व्यवस्था गरेको छ। कसैले घरेलु सहायकको रूपमा कसैलाई काममा लगाएमा काममा लगाउनेले निजका हकमा विभिन्न शर्तहरू पालना गर्नुपर्छ।
घरेलु सहायकको ज्याला मजुरी मासिक वा वार्षिक रूपमा निर्धारण गरी भुक्तानी गर्नुपर्छ, काम लगाउनेको हैसियतअनुसार बिहान, दिउँसो र बेलुकी तीनपटक खान तथा मौसमअनुसार लगाउने कपडा दिनुपर्छ, आफ्नो हैसियतअनुसार उपयुक्त आवास, शौचालय तथा स्नानघर प्रयोग गर्ने सुविधा दिनु पर्ने, अठार वर्षभन्दा कम उमेरको भए निजले चाहेमा घर व्यवहारको काम हेरी उपयुक्त समयमा अध्ययनको व्यवस्था गर्नुपर्र्छ, बिरामी भएमा निजको स्वास्थ्योपचारको व्यवस्था गर्नु पर्छ, तर सो वापतको खर्च निजको मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न पाइँदैन।

बिरामी हुँदाका बखत काममा नलगाउने र अन्य अवस्थामा निजको उमेर, क्षमता वा अवस्थाले गर्न नसक्ने काम नलगाउने, मृत्यु भएमा निजको सदगत तथा सामान्य काज किरियाको लागि लाग्ने खर्च व्यहोर्नु पर्ने, अमानवीय, अपमानजन्य व्यवहार घरेलु हिंसा नगर्ने, घरेलु सहायकसँग आफूले मञ्जुर गरेका अन्य शर्त पालना गर्नुपर्ने व्यवस्था कानुनले गरेको छ। खान लगाउन दिएको, कपडा किनिदिएको, बस्ने, सुत्ने व्यवस्था गरेको वा घरेलु सहायकलाई पढाएको खर्च मासिक वा वार्षिक ज्याला मजुरीबाट कट्टा गर्न पाईँदैन। घरेलु सहायक राख्दा कानुनले तोकेका कुराहरु पु-याएर राखेमा मात्र कानुन संगत हुन्छ अन्यथा तोकिएका मापदण्ड पूरा नगरी राखेर अन्याय पर्न गएमा गैरकानुनी काम हुन जान्छ।
घरेलु सहायक बस्दा कसैलाई अन्याय पर्न गएमा मर्का पर्ने व्यक्तिले तीन महिनाभित्र उजुरी गर्न पाउँछ।
 

Leave A Comment