‘कोरा गफले प्रगति हुँदैन’

आइतबार, २३ साउन २०७३, ११ : ३० दिलीप पौडेल , Kathmandu
‘कोरा गफले प्रगति हुँदैन’

भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधी (पीएचडी) गरेका रामेछापका दिनेश प्रसार्इंले पोखरामा नयाँ व्यवसाय भिœयाएका छन् । आन्तरिक र बाह्य पर्यटकलाई लक्ष्य गरी चचहुई फनपार्क खोलेका छन् । होटल जालमहलका प्रबन्ध निर्देशक प्रसाईंसँग यूएनडीपी, युएएआईडी, डीएफआईडीलगायत अन्तर्राष्ट्रिय दातृ निकायमा काम गरेको अनुभव पनि छ । उनीसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः


जीवन के हो जस्तो लाग्छ ?
जीवनमा चुनौतीका चाङ छन् । तिनको सामना गर्न सक्यो भने जीवन सार्थक बन्छ ।
दिनमा कति घण्टा काम गर्नुहुन्छ ?
१८ घण्टा ।
कसरी सफलता मिल्छ ?
जोखिम मोल्न सके ।
यहाँको पहिलो कमाइ ?
स्कुले जीवनमै गोरखापत्रको शनिवार परिशिष्टांकमा कविता छापेबापत ७५ रुपैयाँ पाएको थिएँ ।
यहाँको रुचि ?
साहित्य अध्ययन, यात्रा र बास्केट बल ।
मन पर्ने कवि ?
भूपी शेरचन ।
कतिवटा जिल्ला घुम्नुभएको छ ?
७० जिल्ला ।
बिदामा के गर्नुहुन्छ ?
मेरो लागि बिदा नै छैन । अरूको छुट्टीमा पनि म व्यस्त नै हुन्छु ।
कस्ता फिल्म मन पर्छन् ?
अंग्रेजी फिल्म ।
मन परेको नेपाली फिल्म ?
कबड्डी ।
मन पर्ने अभिनेता÷अभिनेत्री ?
मनोज बाजपेयी ।
कोबाट सबैभन्दा बढी प्रभावित हुनुहुन्छ ?
गान्धी र मण्डेलाबाट ।
सबैभन्दा मन परेको पुस्तक ?
महाभारत ।
व्यवसायमा कसरी आउनुभयो ?
मेरो एकै क्षेत्रमा बस्ने बानी छैन । भ्याएसम्म जिन्दगीमा जम्प गर्नुपर्छ भन्ने मान्यता छ । कुनै पनि पेशा, व्यवसायको स्थायित्वप्रति मेरो कुनै विश्वास छैन ।
केले प्रभावित ग¥यो व्यवसाय गर्न ?
मेरा आफन्त र दाजुभाइ व्यवसायमा राम्रो दख्खल राख्छन् । शिखर, रोयल, मकालुलगायत सू उद्योग सञ्चालनमा दाजुभाइ भएकाले उनीहरूकै देखासिकी गरेर व्यवसायमा हात हालेको हुँ । म समाजशास्त्रको विद्यार्थी । समाजशास्त्री म्याक्सविभरले युरोपियन सोसाइटीको उदाहरण दिँदै संस्कृति र अर्थशास्त्रको मिश्रणबाट आर्थिक समाजको निर्माण हुन्छ भन्ने मान्यता राख्छन् । जागिरले मात्र आर्थिक विकास सम्भव छैन भनेर आफँै उद्यमशीलता विकास गर्न फरक व्यवसाय सुरु गरेको हुँ । कोरा गफले प्रगति हुँदैन भन्ने मेरो मान्यता छ ।
नेपालको पर्यटन बजार कस्तो छ ?
नेपालमा पछिल्ला वर्षमा आन्तरिक पर्यकले व्यवसाय धानेको छ । विदेशीभन्दा १० गुणा बढी स्वदेशी पर्यटकले खर्च गर्छन् ।
पर्यटनमा यहाँको लगानी ?
१२ करोड रुपैयाँ ।
आर्थिक रूपमा समाज कता जाँदै छ ?
हरेक पार्टीले आर्थिक समृद्धिको नारा लगाउन बाध्य छन् । उद्योगधन्दा गर्नेलाई बैंकले लगानी गरेका छन् । आर्थिक क्रियाकलाप बढेका छन् । सुखद हुँदै छ ।
रामेछापको व्यक्ति कसरी पोखरा आउनुभयो ?
उपत्यका बाहिर बालबच्चाहरूको लागि फन पार्क थिएन । पोखरा आन्तरिक र बाह्य पर्यटकको आकर्षणको केन्द्र पनि हो । यो ठाउँमा नयाँ कामको सुरुवात गरौँ र पर्यटन, प्रवद्र्धनमा टेवा पुगोस् भनेर ।
के कुरामा सन्तुष्टि मिल्छ ?
नयाँ प्रोजेक्ट जन्माएर कार्यान्वयन गर्न सफल हुँदा ।
कुनै नयाँ प्रोजेक्टको तयारी छ ?
पर्यटन, शिक्षासँगै अब रामेछापमै एग्रो व्यवसाय सुरु गर्दै छु ।
पढेपछि जागिरै खानुपर्छ भन्नेलाई के सुझाव छ ?
जागिरे मानसिकताको म सख्त विरोधी हुँ । जिन्दगी नै अस्थायी हो भने मान्छेले किन स्थायी जागिरको खोजी गर्छ । स्थायित्वले सिर्जनात्मक क्षमता मार्ने भएकाले जागिर होइन नयाँ काम गर्नुपर्छ ।

 

 

Leave A Comment