ओलम्पिकमा पासा पल्टियो : प्रधानमन्त्री, खेलमन्त्री र सदस्य सचिवका उम्मेदवार पराजित

शुक्रबार, ०३ असोज २०७६, ०१ : ०३ शुक्रवार
ओलम्पिकमा पासा पल्टियो : प्रधानमन्त्री, खेलमन्त्री र सदस्य सचिवका उम्मेदवार पराजित

आफ्नै दलको सरकार भए पनि प्रतिपक्षीझैँ व्यवहार झेले पनि आखिरमा नेपाल ओलम्पिक कमिटी (एनओसी)को आगामी चार वर्षे नेतृत्वमा जीवनराम श्रेष्ठ नै निर्वाचित भएका छन्। उनी नेकपाकै सांसद हुन् तर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली, खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा अनि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव उनको पक्षमा थिएनन्।

उनको विपक्षमा उम्मेदवारी दिएका उमेशलाल श्रेष्ठको पल्ला भारी देखिएको थियो मतदानको परिणाम सार्वजनिक नभएसम्म। उमेशलाललाई सत्ताको राम्रै सहयोग पनि थियो तर नतिजा आउँदा जीवनरामले सहज मतका साथ उनलाई पराजित गर्दै एनओसीमा रहेको आफ्नो प्रभाव देखाइदिए।

मत परिणामले नेकपा इतरको भोट तान्न जीवनराम प्यानल सफल भएको देखियो। आउँदै गरेको ओलम्पिक प्रतियोगीलाई हेरेर खेलकुद मन्त्री र राखेपका सदस्य सचिव उमेशलालको पक्षमा थिए।

काठमाडौं ८ बाट प्रतिनिधि सभामा निर्वाचिन भएका जीवनराम मतदान अगाडिको साधारण सभामा पुरै आफ्नै पार्टीको विपक्षमा देखिएका थिए। उनको सम्बोधनको भाषा प्रतिपक्षी दलको उम्मेदवारको भन्दा कम थिएन। उनी सरकारको विपक्षमा उभिदै ओलम्पिक कमिटीको स्वायक्तताको पक्षमा उभिए।

उनको सम्बोधनमा उमेशलाल विजयी भए एनओसीमा नेकपाको प्रभाव बढ्ने र खेल संघहरुमा सरकारी हस्तक्षेप बढ्ने संकेत थियो। मत परिणामले उनको सम्बोधनले काम गरेको देखियो। अध्यक्षका दुवै उम्मेदवार नेकपामा भएकाले नेपाली कांग्रेस लगायतका दलप्रति झुकाव राख्नेहरुका लागि नेकपाका उम्मेदवारलाई भोट हाल्नेबाहेक अर्को विकल्प थिएन। तर मतदान गर्दा सत्तापक्षसँग निकटभन्दा दुरी देखिएका जीवनरामको चयन गरे र खेल पल्टाइदिए।

उनले २७ मतमध्ये १७ मत ल्याएर अध्यक्ष मात्र भएनन्, प्यानलमा रहेका अन्य पदाधिकारीहरुलाई समेत विजयी बनाउन सफल भए।

आगामी चार वर्षे कार्यकालका लागि पाँच उपाध्यक्षमा ज्योति राणा, चतुरानन्ध वैद्य, सुनिलकुमार श्रेष्ठ, तेज गुरुङ र अशोक वज्राचार्य निर्वाचित भए। राजीव श्रेष्ठ, पुष्पदास श्रेष्ठ र समिम मिया अन्सारी पराजित भए।

महासचिवमा नीलेन्द्रराज श्रेष्ठ विजयी भए। उमेशलालको प्यानलबाट महासचिवमा उम्मेदवार बनेका पुरेन्द्रविक्रम लाखे पराजित भए। उनले आफ्नै प्यानलका अध्यक्षभन्दा २ मत बढी ल्याएका थिए। पीताम्बर तिम्सिना र रतनकुमार टण्डन यसअघि नै निर्विरोध भइसकेका थिए। तीन सचिवमा दीपकहर्ष वज्राचार्य, तुलसा थापा र रामजीबहादुर श्रेष्ठ विजयी भए। तुलसा नेकपा नेता बामदेव गौतमकी श्रीमती हुन्।

दीर्घबहादुर केसी, रमेश शिवाकोटी, होमबहादुर दोङ, राम अवाले, गोपालसुन्दरलाल कक्षपती, प्रकाशसम्शेर राणा र टासी घले सदस्यमा निर्वाचिन भए। एनओसीमा २७ जना मतदाता थिए  जसमा एनओसीका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानबाहेक सबैले उम्मेदवारी दिएका थिए।

Leave A Comment