ओरालीमा योगेश

शनिबार, ०४ असोज २०७६, ११ : ०२ शुक्रवार
ओरालीमा योगेश

जुन दलका भए पनि युवा नेताले नेतृत्व गर्नुपर्छ भन्ने पक्षधर मतदातामाझ विश्वप्रकाश शर्मा, गगन थापा, योगेश भट्टराई, रवीन्द्र अधिकारी उत्तिकै लोकप्रिय थिए। प्रष्ट वक्ता भएकाले पनि यिनीहरु सरकारमा गए केही राम्रा काम गर्छन् भन्नेमा विश्वास देखिन्थ्यो मतदातामा।

संविधान जारी भएपछिको पहिलो निर्वाचनबाट शर्माबाहेक तीन जना नै  प्रतिनिधि सभामा पुगे। गगन प्रमुख प्रतिपक्षीको कुर्सीमा पुगे। अधिकारी र भट्टराई सत्तापक्ष बने।

पहिलो मन्त्रिपरिषद्मा सहभागी रवीन्द्र अधिकारी वाइडबडी अनियमिततामा जोडिए पनि पर्यटन मन्त्रीको रुपमा सकारात्मक काम गर्दै थिए। अकस्मात हेलिकप्टर दुर्घटनामा पर्दा अल्पायुमै निधन भयो।

उनको निधनपछि पर्यटन मन्त्रालयको जिम्मेवारी पाए योगेशले। उनले पर्यटन तथा संस्कृति मन्त्रालयमा पदभार गरेको दिन सामाजिक सञ्जाल बधाई र शुभकामनाले भरिए। पर्यटन क्षेत्रमा सकारात्मक सुधार देखिने र भट्टराई सस्तो प्रचारमा भन्दा परिणाममुखी काममा लाग्ने आशा देखिन्थ्यो धेरैमा।

तर त्यो आशा निराशामा बदलिन दुई महिना पनि लागेन। पर्यटन मन्त्रालयको नेतृत्व सम्हालेको हनिमुन पिरियडसमेत टेक्न नपाउँदै भट्टराई निरन्तर विवादमा तानिइरहे।
विवादको कारण थियो, उही प्रचारमुखी र लहडी अभिव्यक्ति, हचुवा निर्देशन र दम्भी व्यवहार।

ओरालो यात्रा
२०३७ सालदेखि राजनीति गर्दै आएका योगेशको उनको ४० वर्षे राजनीतिक यात्रा खुइलिन दुई महिना पनि लागेन। छक्कै पार्ने गरी परिवर्तित भए भट्टराई। उनको परिवर्तित रुप देखियो, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबाट। दोस्रो विमानस्थल आवश्यक छ भन्नेमा विवाद नभए पनि लाखौं रुख मासेर निजगढमै बनाउनुको औचित्य बहसमै छ।

सकेसम्म वातावरण विनाश नगरी अन्यत्र विमानस्थल बनाए हुने भन्ने जनमत पनि बलियै छ। अध्ययनशील नेताको चिनारी बनाएका भट्टराईले यो पाटोमा गम्भीर हुने आशा कायमै थियो।

साउन २३ गते बुटवल पुगेका उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास हुने ठोकुवा मात्रै गरेनन्, शिलान्यास कार्यक्रममा १० लाख सर्वसाधारण उतार्ने दाबीसमेत गरे। आश्चर्य त उनले त्यतिबेला पारिदिए, जब उनले वातावरण विनाशप्रति चिन्तित समूहप्रति व्यंग्य गर्दै भने, ‘जो जसलाई रुखलाई अँगालो मार्न मन छ, आए हुन्छ। निजगढमै शिलान्यास हुन्छ।’

निजगढमै विमानस्थल बनाउने हो भने पनि तर्कसहित त्यसको औचित्य देखाउनुको साटो उनी व्यंग्यतिर लागेको धेरैलाई निको लागेन। सामाजिक सञ्जाल चित्त दुखाइले भरियो।

उनी सत्ताको मातको हावामा उड्न थालेको संकेत साउन २४ मा पनि देखियो।  सन् २०२० मा नेपाल भ्रमण वर्षलाई सफल बनाउन आवश्यक तयारीसमेत नभएको अवस्थामा उनले भ्रमण वर्षको शुभारम्भ नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट गराउने हावादारी कुरा गरे।

मन्त्रीपदको पहिलो पटक अनुभव बटुलिरहेका उनी बहकिए र बहकिने र हावादारी तर्क गर्ने क्रम जारी रह्यो। भ्रमण वर्षको गम्भीर तयारीको साटो गफमै बढी केन्द्रित हुन थाले उनी। भट्टराई २० हजार पर्यटन व्यवसायीलाई टुँडिखेलमा जम्मा गरेर सार्वजनिक शपथ खुवाउनेतिर लागे।

बिना तयारी, बिना अध्ययन ७० वर्ष नाघेका वृद्धवृद्धाहरुलाई हवाई भाडामा ५० प्रतिशत छूट दिने पपुलिस्ट घोषणा गरे। जुन घोषणा २४ घण्टा पनि टिक्न नपाउँदै वायुसेवा सञ्चालक सङ्घले हावा खुवाइदियो– उनको घोषणा कार्यान्वयन गर्न सकिन्न भन्दै।

सत्ता मातको वेगलाई नियन्त्रणमा राख्नुको साटो बत्तिने उनको क्रम जारी रह्यो। भदौ १३ मा धार्मिकस्थल पशुपति क्षेत्रमा निजीस्तरमा भइरहेको गंगा आरतिमा राष्ट्रिय गान बजाउन निर्देशन आएपछि यी पनि हावाको बेलुनै रहेछन् भन्ने प्रतिक्रिया आउन थाल्यो।

आर्यघाटको सामुन्ने निजी प्रयासमा भइरहेको आरतिमा राष्ट्रगान बजाउनुको औचित्य उनले पुष्टि गर्न सकेनन्। नागरिक स्तरबाट विरोध पनि भयो। विषय संसद्मा समेत उठ्यो। उनको हास्यास्पद निर्णय आरति समूहले पनि अस्वीकार गरे तर उनी गल्ती सच्याउनुको साटो ढिपी कस्नतर्फ लागे, ‘निर्देशन अस्वीकार गरे आरति नै बन्द गराइदिन्छु।’

माफियाको चंगुलमा फँस्दै गएको हवाई उडान क्षेत्रको नीतिगत सुधार, भ्रष्टाचारमा चुर्लुम्म डुबेको नेपाल वायु सेवा निगमको उद्धार अनि पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माणको सुधारमा केन्द्रित हुनुपर्ने भट्टराई लहडी बाटोमा हिँड्दा धेरै छक्क पर्दै थिए।

युवा नेताप्रति आशावादी जमातलाई उनले थप निराश बनाइदिए, नेपालगञ्ज विमानस्थलमा भएको एक घटनापछिको उनको प्रतिक्रियाले।

ओभर रिक्यासनले खति
गएको साता नेपालगञ्जबाट काठमाडौं फर्कने हतारोमा भट्टराईको समूहले बुद्ध एयरलाई नियमित उडान तालिकाभन्दा केही पर सारिदिए। यात्रु विमानमा चढिसकेका थिए। विमान नियमित समय तालिकाभन्दा २४ मिनेट ढिलो भइसकेको थियो।

त्यसैबीच मन्त्री भट्टराई बडिगार्ड र सहयोगीसहित विमानभित्र प्रवेश गरे। यही क्रममा विमानमा रहेका ज्ञानेन्द्र शाही लगायतकाले विमान रोकेको भनेर आक्रोश पोखे। आक्रोश पोख्ने शैली आक्रामक थियो। उनी मौन भएर बसिरहे विमानमा। उनलाई शाही सहितका यात्रुले -याख-याख पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै मिश्रित प्रतिक्रिया आयो।

भिआइपीको नाममा विमान होल्ड गराउने कुसंस्कारबाट आजित भएका सर्वसाधारणले भट्टराईको कामको विरोध त गरे नै तर शाहीको विरोधको शैलीको पनि समर्थन भने गरेनन्।

केही समयपछि सामाजिक सञ्जाल फेसबुकमा घटनाबारे भट्टराईको भनाइ आयो, माफीसहित। माफी मागेर उनले आफ्नो शालिन स्वभाव देखाउने प्रयास त गरे तर आफ्नो कमजोरी ढाकछोप गर्न यात्रुको आक्रोशलाई राजनीतिक रङ दिने प्रयास गर्दा चिप्लिए।

उनले लेखे, ‘पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैँले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेका छौँ र सम्म भने। त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालेँ।’

उनले विमानभित्र आधा घण्टासम्म कोचिएर बस्नु पर्दा यात्रुबाट आएको आक्रोशलाई राजनीतिक रङ दिने प्रयास गरेर दम्भी स्वरुप देखाए। नेकपा निकटहरुबाट शाहीलाई दरबारिया भएको आरोप लगाउँदै स्टाटसको बाढी आयो। यात्रुको क्षणिक आक्रोशले दरबारिया षड्यन्त्रको आवरण पाइसकेको थियो। नेकपाका नेताहरुबाटै गणतन्त्रमाथि प्रहारको रुपमा समेत सो घटनाको व्याख्या शुरु हुन थाल्यो।

यो प्रकरण यत्तिमै रोकिएन। घटना लम्ब्याउने काम नेकपाबाटै भयो, शाहीको पत्रकार सम्मेलनमा आक्रमण गरेर।

नेपालगञ्जको घटनालाई दरबारसँग जोडेको विषयमा प्रस्टीकरण दिन शाहीले ललितपुरमा आफ्नै कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ‘विद्यार्थी हौं’ भनेर आएकाहरुले आक्रमणै गरे। ती नेकपा निकट विद्यार्थी भएको पोल खुल्न लामो समय लागेन। सामाजिक सञ्जाल अहिले उनीहरुको तस्बिरले भरिएको छ।
भट्टराई अझै उग्रै देखिए ज्ञानेन्द्र शाहीभन्दा पनि। खण्डनको श्रृंखला नै चलाए।

उनका स्वकीय सचिव प्रेम गुरागाईले त पर्यटन मन्त्रीको निजी सचिवालयको लेटरप्याडमा दुई पन्ने विज्ञप्ति निकालेर विमानस्थलको घटनालाई संविधानविरोधी हर्कतसँग लगेर जोडेनन् मात्र, ‘मण्डले प्रवृत्ति’ भन्दै अपमान समेत गरे।
बुद्ध एयरका अनुसार मन्त्रीकै कारण विमानको नियमित उडानमा ढिलाई भएको थियो।

तर त्यसलाई स्वीकार्न तयार देखिएनन् मन्त्री भट्टराई र उनको समूह। शाही केन्द्रित आक्रमणको क्रम जारी नै रह्यो। निजी सचिवको विज्ञप्तिमा विरोधीलाई कुकुर र मन्त्रीलाई हात्तिको उपमा दिन नेकपाका तत्कालीन महासचिव मदन भण्डारीको भनाई उद्धृत गर्दै लेखियो, ‘दुनियामा पुँजीवादी स्यालहरुको कमी छैन। काग कराउँदै गर्छ पिना सुक्दै गर्छ। कुकुर भुक्दै गर्छ, हात्ति लम्कदै गर्छ।’

यात्रुको सामान्य आक्रोशलाई निस्तेज पार्न सत्ताको आडमा तोप पड्काउने क्रम जारी रह्यो। पत्रकार सम्मेलनमा भएको आक्रमणबाट सुरक्षित बनाउन महानगरीय प्रहरी परिसर ललितपुर लगिएका शाहीलाई हिरासतमा राखियो। प्रचार गरियो, अभद्र व्यवहार गरेको। उनीमाथि आक्रमणमा उत्रिने को थियो सो कुरामा भने राज्य मौन रह्यो।

नेपालको संविधानले नेपालभित्र कुनै पनि नागरिकले खुला आवतजावत गर्न पाउने ग्यारेन्टी गरेको छ। तर सोही संविधानको दुहाई दिने सत्ताधारी दलकै भातृ संगठन युवा संघ कास्कीले संविधानमा रहेको व्यक्तिगत स्वतन्त्रताको धज्जी उडाउँदै ज्ञानेन्द्र शाहीलाई कास्की जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएको निर्लज्ज घोषणा ग-यो विज्ञप्तिीमार्फत।

सुधार सम्भव छ
राजनीतिक घेराभन्दा बाहिर पनि उत्तिकै प्रशंसक भएका थोरै नेताको सूचीमा रहेका योगेशको छवि सुधारको समय अझ पनि प्र्रशस्तै छ। उनी मन्त्री भएको दुई महिना टेक्दै छ। राजनीतिक दुर्घटना नभए उनको मन्त्रीत्व तीन वर्ष पक्का छ।

राष्ट्रिय ध्वाजावाहक नेपाल वायुसेवा निगमको सुधार, नेपाल ट्रस्टको नाममा आएको पूर्व राजपरिवारको सम्पत्तिको दुरुपयोग, हवाई र पर्यटन क्षेत्रमा बढ्दो माफिया प्रभाव, नेपाल भ्रमण वर्ष २०२० को पूर्वाधार निर्माण लगायतका चुनौतीका चाङ छन् उनीसामू।

बोलीमा नियन्त्रण, प्रचारमुखी भन्दा परिणाममुखी काममा केन्द्रित हुनसक्ने हो भने ओराली लागेको उनको पदचाप उकालीतिर मोडिन पक्कै समय लाग्ने छैन। उडन्ते घोषणा, घोचपेच केन्द्रित कार्यशैली अनि परिणाममा भन्दा हल्ला गराउने काममै केन्द्रित हुने हो भने उनीमाथि विश्वास गर्ने जनमतको मन भाँच्चिने पक्का छ।

Leave A Comment