बैंकका कर्मचारीको दसैं चकाचक : आठ महिनासम्मको तलब बोनस आउने पक्का

शनिबार, ०४ असोज २०७६, ०२ : ०१ दिलीप पौडेल
बैंकका कर्मचारीको दसैं चकाचक : आठ महिनासम्मको तलब बोनस आउने पक्का

उच्च नाफा आर्जन गरेपछि यो वर्ष बैंकमा काम गर्ने कर्मचारीले बोनस बढ्ने पक्का भएको छ। वाणिज्य बैंकहरुले विगतमा भन्दा गत वर्ष नाफा ह्वात्तै बढाएका छन्। बैंकको नाफा बढेसँगै कर्मचारीको बोनससमेत बढ्नेछ।

बैंकका कर्मचारीले न्यूनतम २ महिनादेखि अधिकतम ८ महिनासम्मको तलबबराबरको रकम बोनस पाउँदैछन्। बैंकले गत आवमा कमाएको नाफाको बोनस चालु आवमा वितरण गर्र्न थालेका छन्। बैंकहरुले बोनसको रकम एकै पटक नदिई किस्ताबन्दीमा तलब खातामा पठाउँछन्।

बैंकको नाफा अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष ०७५/७६ मा नाफा २५.१४ प्रतिशत बढेको छ। गत वर्ष बैंकले कमाएको नाफाको बोनस यो वर्ष वितरण गर्छन्। बैंकमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएको बताउँदै आए पनि त्यसको लाभ शेयरधनीले मात्र हैन कर्मचारीले पनि पाउनेछन्।

बोनस ऐनअनुसार केही बैंकहरुले बोनस वितरण सुरु गरिसकेका छन्। बैंकको ब्यालेन्स सिटमा नाफाको आधारमा बोनस वितरण गरिन्छ। सबैभन्दा धेरै बोनस प्राइम बैंकका कर्मचारीले पाउनेछन्। प्राइमले कर्मचारीका लागि आठ महिनाको तलबबराबरको बोनस छुट्टयाएको छ।

प्राइमले कर्मचारीलाई ५२ करोड २६ लाख ३५ हजार रुपैयाँ तलब खुवाएको बैंकले कर्मचारी बोनस शीर्षकमा ३६ करोड ३६ लाख रुपैयाँ विनियोजन गरेको बैंकको वित्तीय विवरणमा देखिन्छ।

प्राइमपछि विदेशी लगानीको स्टाण्डर्ड चार्टर्ड बैंकले आकर्षक बोनस छ। कर्मचारी बोनसका ६९ करोड रुपैयाँ विनियोजन गरेको स्टान्डर्ड चार्टडले साढे ६ महिनाको बोनस वितरण गर्न लागेको हो।

धेरै बोनस रकम विनियोजन गर्ने तेस्रो नम्बरमा नेपाल इन्भेष्टमेन्ट बैंक छ। इन्भेष्टमेन्टले कर्मचारीका लागि ६ महिनाको तलबबराबरको रकम बोनसका लागि विनियोजन गरेको छ। अधिकांश बैंकले महिनासहित थप केही दिनको तलबबराबर रकम दिनेछन्।

नबिल, सानिमा, नेपाल बंगलादेश, एभरेष्ट बैंकले पाँच महिना, हिमालयन, ग्लोबल, बैंक अफ काठमाडौं, एनएमबी, लक्ष्मी, सनराइज, राष्ट्रिय वाणिज्य बैंकले चार महिनाको तलबबराबर बोनस पाउने भएका छन्।

नेपाल, मेघा, माछापुच्छ्रे, एनआइसी एसिया, कुमारी, कृषि विकास, सिद्धार्थ, नेपाल एसबीआई, सिटिजनले तीन महिनाको र नेपाल क्रेडिट एण्ड कमर्स, प्रभु, सेन्चुरी, जनता, सिभिल बैंकले दुई महिनाको तबलबराबर बोनस खान पाउने भएका छन्।

बैंकले बोनससँगै दसैं भत्ताबापत एक महिना र  भ्रमणका लागि ‘फोर्स लिभ’ बापत थप महिनाको तलब दिने गरेका छन्। ‘फोर्स लिभ’मा कर्मचारी १५ दिन अफिस जानु पर्दैन।

२८ वटा वाणिज्य बैंकको वित्तीय विवरण हेर्दा अघिल्लो आर्थिक वर्षमा ५२ अर्ब २८ करोड ८२ लाख ९२ हजार रुपैयाँ नाफा कमाएकोमा गत वर्ष नाफा २५.१४ प्रतिशतले बढाउँदै ६५ अर्ब ४३ करोड ७६ लाख ३५ हजार रुपैयाँ कमाएका हुन्।

बैंकले लगानी गरेको रकमबाट प्राप्त ब्याजबाट प्राप्त गरेको आम्दानी नै मुनाफा हो। बैंकहरूको कुल आम्दानीबाट खर्च र सरकारलाई तिनुपर्ने कर घटाएर आएको रकम नाफा शीर्षकमा राख्छन्। बैंकले चारदेखि पाँच प्रतिशत स्प्रेड दर कामय गरेर ब्याज निर्धारण गरेका थिए।

गत वर्षभरिमा सबैभन्दा धेरै नाफा कमाउनेमा राष्ट्रिय वाणिज्य बैंक अग्रपङ्क्तिमा छ। अघिल्लो वर्षभन्दा प्रतिशतमा आफ्नो नाफा वृद्धि गर्नेमा भने एनआईसी एसिया बैंक एक नम्बरमा छ।

अघिल्लो वर्षको तुलनामा वाणिज्यले एक अर्ब ६६ करोड ९१ लाख रुपैयाँ नाफा बढाएको छ। अघिल्लो आवमा तीन अर्ब ६५ करोड ९२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएकोमा आव ०७५/७६ मा पाँच अर्ब ३२ करोड ८३ लाख ७१ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकले जनाएको छ।

नबिलले चार अर्ब २९ करोड ४१ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको छ। सबैभन्दा थोरै नाफा कमाउनेमा सिभिल बैंक छ भने सरकार स्वामित्वकै अर्को नेपाल बैंकको नाफा गत वर्षभन्दा १८.८८ प्रतिशतले घटेको छ। सिभिलले ८० करोड रुपैयाँ नाफा कमाएको छ।

सबै वाणिज्य बैंकको वित्तीय अवस्थालाई विश्लेषण गर्दा समग्रमा नाफा २४ प्रतिशतले बढेको छ भने तीनवटा बैंकको मात्र नाफा घटेको छ। २५ वटा बैंकको नाफा बढेको छ। नाफा घट्नेमा नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट र सेन्चुरी बैंक रहेका छन्।

एनआईसी एसियाको नाफा गत आवको तुलनामा एक सय २८ प्रतिशतले बढेको हो। प्रतिशतको आधारमा दोस्रो स्थानमा प्रभु बैंक छ। प्रभुले एक सय १२.०५ प्रतिशतले नाफा बढाएको छ।

इन्भेष्टमेन्टले तीन अर्ब ४१ करोड ५६ लाख रुपैयाँ, एनआईसीले तीन अर्ब ५३ करोड रुपैयाँ, एभरेष्टले तीन अर्ब चार करोड ६१ लाख, प्राइमले दुई अर्ब ३६ करोड ५३ लाख,  सिद्धार्थले दुई अर्ब ३० करोड ८८ लाख, प्रभु बैंकले दुई अर्ब पाँच करोड पाँच लाख नाफा गरेको छ।

ग्लोबल आइएमईले दुई अर्ब ७९ करोड ५२ लाख, नेपाल बैंकले दुई अर्ब ६१ करोड १९ लाख, एनआईसी एसियाले दुई अर्ब ३० करोड ३६ लाख रुपैयाँ, सानिमा बैंकले दुई अर्ब २४ करोड ३३ लाख, स्टान्डर्ड चार्टडले दुई अर्ब ४९ करोड रुपैयाँ नाफा, हिमालयनले दुई अर्ब ८४ करोड ४७ लाख, एनएमबीले दुई अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएका छन्।

त्यसैगरी सानिमाले दुई अर्ब २४ करोड ३३ लाख, नेपाल बैंकले दुई अर्ब ६१ करोड १९ लाख, माछापुच्छ्रेले एक अर्ब ७० करोड १५ लाख, कुमारीले एक अर्ब ३३ करोड ४० लाख, लक्ष्मीले एक अर्ब ५७ करोड ६० लाख नाफा गरेका छन्।

बैंक अफ काठमाडौंले एक अर्ब ९३ करोड, मेघाले एक अर्ब ७१ करोड ९२ लाख, एनसिसीले एक अर्ब ५२ करोड ६८ लाख, जनताले एक अर्ब ३४ करोड ४९ लाख, सनराइजले एक अर्ब ७० करोड ७० लाख रुपैयाँ, नेपाल बंगलादेश बैंकले एक अर्ब ६१ करोड ९५ लाख, सेन्चुरीले ८६ करोड आठ लाख, सिभिलले ८० करोड रुपैयाँ नाफा कमाएका छन्।

कसको कति बोनस
प्राइम : ८ महिना
स्टाण्डर्ड चार्टर्ड : ६ महिना
इन्भेष्टमेन्ट : ६ महिना
नबिल, सानिमा, नेपाल बंगलादेश, एभरेष्ट : पाँच महिना
हिमालयन, ग्लोबल, बैंक अफ काठमाडौं, एनएमबी, लक्ष्मी, सनराइज, राष्ट्रिय वाणिज्य : चार महिना
नेपाल, मेघा, माछापुच्छ्रे, एनआइसी एसिया, कुमारी, कृषि, सिद्धार्थ, नेपाल एसबीआई, सिटिजन : तीन महिना
नेपाल क्रेडिट एण्ड कमर्स, प्रभु, सेन्चुरी, जनता, सिभिल : दुई महिना

Leave A Comment