विवादमा तालबाराही विद्यालय

सोमबार, ०६ असोज २०७६, १२ : २२ शुक्रवार
विवादमा तालबाराही विद्यालय

पोखराको बैदामस्थित तालबाराही माध्यमिक विद्यालयको प्रधानाध्यापकमाथि अनियमितताको आरोप लागेपछि विद्यालय बन्द भएको छ। प्राधानाध्यापक भद्रकाली लामिछानेमाथि भ्रष्टाचारको आरोप लागेपछि  सूचना टाँसेर एक्कासि विद्यालय बन्द गरियो।

उनीमाथि बिहानी कक्षा सञ्चालन गरेर अनियमितता गरेको आरोप लागेको थियो। दोहोरो सुविधा लिएको विषयमा विवाद शुरु भएपछि लामिछानेले विद्यालयको गेटमा सूचना टाँसेर विद्यालय बन्द गरिदिइन्। सूचनाअनुसार विद्यालय कात्तिक १४ गतेसम्म खुल्ने छैन।

नेपाल सरकारको माध्यमिक तह तृत्तीय श्रेणीको शिक्षक रहेकी लामिछानेले विद्यालयबाट द्वित्तीय श्रेणीको तलब लिइरहेको खुलेपछि विवाद शुरु भएको थियो। उनले विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराएर १ स्तरवृद्धिको पारिश्रमिक विद्यालयको आन्तरिक स्रोतबाट लिएको खुलेको थियो।

त्यति मात्र हैन, उनले कक्षा ११ र १२ को कक्षा बिहानी सञ्चालन गराएर थप १९ हजार ६ सय रुपैयाँ रकम लिने गरेकी थिइन्। उनले प्रधानाध्यापक बापतको अतिरिक्त भक्तासमेत लिने गरेको खुलेको छ।

उनले आफ्नो श्रेणीभन्दा एक तहमाथिको पारिश्रमिक लिने गरेको र बिहानी कक्षा चलाएर थप रकम लिने गरेको विषयमा पोखरा महानगरपालिकामा उजुरी परेको थियो। उजुरीसँगै विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समितिबीच मतभेद बढेपछि एकाएक विद्यालय बन्द गरिएको हो।

विद्यालयमा विवाद बढेपछि वडा शिक्षा समितिले अध्ययनको जिम्मा पाएको थियो। जिम्मेवारी पाएसँगै उसले फाइल मगाएको थियो। छानविन अघि बढ्नुअगाडि नै प्रधानाध्यापकले सूचना टाँसेर विद्यालय नै बन्द गरिदिइन्।

Leave A Comment