यसरी हुन्छ स्वअध्ययन प्रभावकारी

सोमबार, ०६ असोज २०७६, ०१ : ४८ शुक्रवार
यसरी हुन्छ स्वअध्ययन प्रभावकारी

सूचना प्रविधिको विकास र विस्तारसँगै पछिल्लो समय स्वयम् अध्ययनको क्रम बढेको छ। जुन विषयमा पनि सहज रुपमा पढ्ने सामग्री उपलब्ध भएकाले कम्प्युटर, ट्याबलेट/आइप्याड र स्मार्टफोनमा आफैँ अध्ययन गर्ने क्रम बढेको छ।

आफूलाई चासो भएको विषयमा स्वयम् अध्ययनको प्रयास गर्नु राम्रो बानी हो। त्यसमा सिलसिला मिलाउन सक्यो भने सिकाइको गति बढ्न सक्छ। त्यसैले यहाँ स्वयम् सिकाइलाई प्रभावकारी बनाउने केही उपाय सुझाइएको छ।

१. कक्षा कोठामा बसेर पढेझैँ घरमा बसेर पढ्न गाह्रै हुन्छ। घरको पठन प्रभावकारी बनाउन वातावरण भने बनाउनुपर्छ। त्यसका लागि छुट्टै स्थान बनाउनु राम्रो। आरामदायी कुर्सी, टेबल, ल्यापटप या पुस्तक सँगै हुनु उचित।

२. कक्षामा जस्तो नबुझेको प्रश्न सोधी हाल्न स्वयम् अध्ययन पद्धतिमा सम्भव हुन्न। त्यसैले सँगै शब्दकोष राख्नुपर्छ। कुनै शब्दको अर्थ नजाने शब्दकोषको मद्दत लिनुपर्छ। साहित्यिक पुस्तक अध्ययन गरिरहेको हो भने नयाँ र जटिल शब्दको प्रयोग भएको हुनसक्छ। अध्ययन गर्दा नबुझेको शब्दलाई होस् भनेर छाड्न हुन्न, शब्दकोष पल्टाइहाल्नुपर्छ।

३. अध्ययन गर्ने क्रममा कुनै रोचक शब्द या अप्ठेरो शब्द फेला परे हाइलाइट गर्नुपर्छ। त्यस्ता शब्द र त्यसको अर्थ छुट्टै नोटकपीमा लेख्ने गरे झन् प्रभावकारी हुन्छ।

४. अध्ययनको माध्यमलाई दायरा फराकिलो बनाउनुपर्छ। पुस्तकसँगै जर्नलको अध्ययन, डकुमेन्ट्री, फिल्म हेर्ने तथा अनलाइन सेमिनारहरुमा सहभागी हुने गरे स्वयम् अध्ययन थप प्रभावकारी हुन्छ।

५. पुस्तकमा सन्दर्भ सामग्रीहरु समेत उल्लेख गरिएको हुनसक्छ। पुस्तक अध्ययन गर्न सकिएपछि सम्भव भएसम्म त्यस्ता सन्दर्भ सामग्रीहरुसमेत अध्ययन गर्नुपर्छ। यसले ज्ञानको दायरा फराकिलो बनाउँछ। एक विषयलाई अनेक कोणबाट विश्लेषण गर्ने बानी बढाउन सन्दर्भ सामग्री अध्ययनले सघाउँछ।

७. जसरी औपचारिक अध्ययनका लागि नियमित स्कुल या कलेज गइन्छ, स्वयम् अध्ययनका प्रभावकारी बनाउनसमेत नियमित अध्ययन गर्ने बानी बसाल्नुपर्छ। मन लागेको बेला या फुर्सद भएको समयमा मात्र पढ्ने गर्दा नियमित हुन सक्दैन। नियमित नभएको पढाई प्रभावकारी हुँदैन।

८. पढेका सबै कुरा सत्य हुन् भन्ने भ्रमबाट मुक्त हुनुपर्छ। पढिसकेको विषयकै पहिलाको भन्दा थप गहकिलो र प्रभावकारी पठन सामग्रीसमेत फेला पर्न सक्छ। एकै विषयका भिन्नभिन्न सामग्रीको अध्ययनले विषयलाई गहिरोसँग हेर्ने र विवेचना गर्ने बानीको विकास गराउँछ।

९. स्वयम् अध्ययन गर्ने अनलाइन समूहहरुसँग सहकार्य गर्नु थप प्रभावकारी हुनसक्छ। त्यस्ता समूहको सदस्य बन्ने, उनीहरुसँग अन्तत्र्रिmया गर्ने गरे अध्ययन पद्धतिमा सुधार हुन्छ। आफ्ना कमजोरी सुधार्न सकिन्छ भने अरुलाई आफूले जानेको सिकाउन पनि सकिन्छ।

१०. अध्ययनलाई दैनिक जीवनको अंग बनाउनुपर्छ। मनमा लागेको जिज्ञासाको खोजी बानी बसाल्नुपर्छ। कुनै विषय कठिन लाग्यो भनेर छाड्ने हो भने कहिल्यै सिकिदैन।

११. पुस्तक, जर्नल मात्रै हैन समाचारको अध्ययनबाट पनि धेरै विषय सिक्न सकिन्छ। यसका लागि विश्वसनीय समाचार साइटहरुको सूची बनाएर नियमित अध्ययन गर्न सकिन्छ।

१२. पढ्ने मात्रै हैन, त्यसको विवेचना गर्ने बानीसमेत बसाल्दै लैजानुपर्छ। अध्ययनपछि किन यस्तो लेखियो, यस्तो हुन सक्दैन र ? भनेर आफैंले विवेचना तथा प्रश्न गर्दा कुनै विषयलाई गम्भीरतापूर्वक हेर्ने बानीको विकास हुन्छ।

१४. अध्ययनसँगै आफ्नो लक्ष्यसमेत निर्धारण गर्ने गर्नुपर्छ। कति समयमा कति वटा पुस्तक या आर्टिकल पढ्ने, कुन कुन विषयमा के के गर्ने जस्ता सम्भावित लक्ष्य निर्धारण गरेर अध्ययन गर्दा चाँडै लक्ष्यमा पुग्न सकिन्छ।

१५. निबन्ध र शोधको लेखन अभ्यासले अध्ययनसँगै लेखन सीपसमेत बढाउँछ। त्यसैले आफूले जे विषयमा पढेको हो, त्यसबारे समीक्षा लेख्ने गर्दा राम्रो हुन्छ। कुनै विषयमा सन्दर्भ सामग्री संकलन गरी शोधपत्रसमेत लेख्न सकिन्छ।

१६. आफूले पढेका विषय अरुलाई पढाउने गर्दा ज्ञान थप बढ्छ। यसले पढेको कुरा सम्झाउँछ।

Leave A Comment