‘विदेशीसँग नाइट लाइफबारे सिकियो’

मङ्गलबार, ०७ असोज २०७६, ११ : ४५ शुक्रवार
‘विदेशीसँग नाइट लाइफबारे सिकियो’ रविन श्रेष्ठ

रविन श्रेष्ठ

दाइको पाँचपोखरी पब्लिकेसन हाउसमा काम गर्दागर्दै बिजनेसको चस्का लाग्यो। मेलम्चीमा रिभरसाइड इन होटल शुरु भयो। होटलको व्यवस्थापन मेरो जिम्मामा आयो।

२०७२ मा भूकम्प गयो, मेलम्चीमा ठूलो क्षति भयो। होटललाई पनि नराम्रो धक्का दियो तर देशविदेशबाट गाउँगाउँमा सहयोग गर्नेहरुको लर्को पनि लाग्यो।

विदेशीहरु होटलमा बस्न आउँथे। उनीहरुसँग राम्रो परिचय हुन थाल्यो र कहिलेकाहीँ उनीहरुसँगै शुक्रबार गुड फ्राइडे मनाउन काठमाडौंका नाइट लाइफ चहार्ने गर्थेँ।

योभन्दा अघि पनि कलेज पढ्दा साथीभाइहरुसित नाइट लाइफमा नरमाउने होइन तर विदेशीहरुसँग आउँदा अझ बढी नाइट लाइफ कसरी इन्जोय गर्ने भन्ने बुझेँ।

२०७२ को भूकम्पपछि केही विदेशीहरुसँग दोस्ती जम्यो। उनीहरुले मसँग सापटी मागेर रमाइलो गर्न ठमेल जान्थे, मलाई पनि सँगै लैजान्थे। म पनि उनीहरुलाई सापटी दिन्थेँ। उनीहरु छक्क परेर सोध्थे, ‘तँलाई डर लाग्दैन ?’
म भन्थेँ, ‘मलाई विश्वास छ, घर फर्केपछि तैँले पैसा पठाइदिन्छस्।’

नभन्दै उनीहरुले त्यो पैसा पठाइदिन्थे। अझ केहीले त सोचेभन्दा बढी पठाइदिन्थे। नसोचेको रकम आउँदा म साथीहरुलाई लिएर नाइट लाइफमा जान्थेँ। र, कहिलेकाहीँ नराम्रो गरी ठगिन्थेँ। रमाइलो गर्दा पैसा तिर्नु मलाई नराम्रो लाग्दैन तर ठगिएँ भन्ने लाग्यो भने मलाई पैसा तिर्दा मज्जा आउँदैन।

त्यसैको झोँकमा मैले कफीलय खोले। त्यहाँ छिर्दा कम्तीमा आर्ट, आनन्द र आस्वादन तीनवटै कुराको मज्जा एकै झमटमा ग्राहकहरुले पाऊन् भन्ने मेरो उद्देश्य हो। म नाइट लाइफमा गएको थिइनँ भने ममा यस्तो सोच आउँदैनथ्यो होला।

पब्लिक रिलेसनका लागि म नाइट लाइफ हेर्न जाने गर्छु। बिजनेस भनेको पब्लिक रिलेसनबाट नै हुने हो। बजारमा के नयाँ आयो, अहिलेका युथको चाहना के छ ? के नयाँ गर्न सकिन्छ भन्ने बुझ्नका लागि पनि म कहिलेकाहीँ जाने गरेको छु। एलओडीको इन्टेरियर मन पर्छ।

नाइट लाइफमा सबै जना राम्रो मनसायका साथ व्यापार गर्न आएका हुँदैनन्। त्यहाँ पैसाकै लागि मरिहत्ते गर्ने पनि छन्। एउटा राम्रो व्यापारीमा उद्देश्य, प्यास र नैतिकता हुनुपर्छ।

एकबेला त नाइट लाइफ भन्नेबित्तिकै छुट्टि भयो कि ठमेलका गल्लीमा म फेला परिहाल्थेँ। हिजोआज भने स्वाद अलि फेरिएको छ। ट्रेकिङजस्ता कुराले मलाई लोभ्याउन थालेको छ। हरेक वर्ष लामो यात्रामा निस्कने गरेको छु। गएको वर्ष सिन्धुपाल्चोकको पाँचपोखरीको यात्रा गरियो। यो वर्ष गोसाइँकुण्ड घुमियो। अर्को वर्ष पनि यस्तै कुनै दुरदराज घुम्ने योजना छ। र, पनि नाइट लाइफले आकर्षित गरिहाल्छ।

Leave A Comment