अल्छ्याइँ कसरी हटाउने ?

बुधबार, ०८ असोज २०७६, ०२ : १० प्रकाश जंग थापा
अल्छ्याइँ कसरी हटाउने ?

अल्छी कसलाई लाग्दैन र ! अल्छीपन अनुभूत नगर्ने सायदै होलान्। हामीमा थरिथरिका अल्छ्याइँ उत्पन्न हुने गर्छ। यहाँ केही थरिका अल्छ्याइँबारे चर्चा गरौँ। पहिलो, जागिर गुमेपछि वा छाडेपछि उत्पन्न हुने अल्छीपन। प्रायः जागिर नखाएको अवस्थामा घरमै बसिन्छ। दिनभर घरमा बसेर नेट चलाउनु वा टिभी हेर्नुको विकल्प हुँदैन। चौबिसै घन्टा फ्रि भइन्छ तापनि नयाँ जागिर खोज्ने चाह हुँदैन। यसै क्रममा कयौँ महिना त्यसै खेर जान्छ। कतिको त वर्षौँ पनि खेर जान सक्छ। दोस्रो, सफलता पाएपछि उत्पन्न हुने अल्छीपन। धेरै यस्ता मानिस भेट्न सकिन्छ जो सफल छन्, बौद्धिक छन्, आर्थिक अवस्थामा पनि मजबुत छन्। जे चाह्यो त्यही कार्य गर्न सक्ने हैसियत राख्छन् तर त्यसप्रति उत्साहित भने हुँदैनन्। एउटा विषयमा ज्ञान, महारत हासिल गरेका छन् भने अर्को विषयमा ज्ञान, महारत हासिल गर्न आकर्षित हुँदैनन्। करोडपति छन् भने अर्बपति बन्ने कोसिस गर्दैनन्। भन्नुको अर्थ निश्चित उचाइ हासिल गरेपछि त्यो पछिको उचाइमा पुग्न थप कार्य गर्न अल्छी गर्छन्। त्यसैगरी तेस्रोमा, स्कुल, कलेज, विश्वविद्यालय, जिम हल आदिमा जानुअगाडि उत्पन्न हुने अल्छीपन। शिक्षा लिन स्कुल, कलेज र विश्वविद्यालय छुटाउनु हुन्न। स्वस्थ हुन जिम हल जानुपर्छ भन्ने पनि अवगत हुन्छ। यसो हुँदाहुँदै पनि कहिलेकाहीँ स्कुल जान मन लाग्दैन। चिसो मौसममा कलेज, विश्वविद्यालय तथा जिम हल जान बिहान सबेरै उठ्न अल्छी लाग्न सक्छ। आखिर यस्तो परिस्थिति कसरी निर्माण हुन्छ ? यसका केही कारणहरू छन्।

कारण एक, जीवन उद्देश्यविहीन हुनु। जीवन उद्देश्यविहीन हुनु र कार इन्जिनविहीन हुनु उस्तै हो। जीवनमा के गर्ने ? के उपलब्धि हासिल गर्न चाहेको हो ? संसारलाई के कस्तो योगदान दिन चाहेको हो ? यी यावत् कुराहरुप्रति स्पष्ट मानचित्र छैन भने जीवनको गाडीले गति लिन सक्दैन।

कारण दुई, आन्तरिक प्रेरणा भन्दा बाहिरी प्रेरणाबाट परिचालित हुनु। आन्तरिक प्रेरणा व्यक्ति भित्रबाट जाग्छ। कुनै काम प्रतिफलको लागि नभएर आनन्द प्राप्तिको लागि, सिक्ने उद्देश्यले र सम्भावनाहरू यथार्थमा परिणत गर्न गरिन्छ भने त्यो आन्तरिक प्रेरणाबाट परिचालित भएको बुझिन्छ। त्यसैगरी बाह्य प्रेरणा व्यक्तिको बाहिरबाट जाग्ने गर्छ। कुनै काम प्रतिफलको लागि जस्तै पैसा, नाम, प्रशंसा आदिको लागि गरिन्छ भने त्यो बाह्य प्रेरणाबाट परिचालित भएको बुझिन्छ। जो व्यक्ति बाह्य प्रेरणाबाट परिचालित हुन्छ, उसमा कुनै पनि बेला अल्छीपन उत्पन्न हुन सक्छ।

कारण तीन, सकारात्मक प्रेरणाभन्दा नकारात्मक प्रेरणाको जगमा भर पर्नु। कुनै काम सकारात्मक परिणामको कल्पना गरेर गरिन्छ भने त्यो सकारात्मक प्रेरणा अनुशरण गरेको बुझिन्छ। त्यसैगरी कुनै काम नकारात्मक परिणाम कल्पना गरेर गरिन्छ भने त्यो नकारात्मक प्रेरणा अनुशरण गरेको बुझिन्छ। नकारात्मक प्रेरणा प्रयोग गरेर उपलब्धि हासिल गर्न नसकिने होइन। यस खालको प्रेरणाबाट हासिल गरेको उपलब्धि दिगो हुँदैन। जब यस्तो प्रेरणाको प्रयोगमार्फत उपलब्धि अथवा सुरक्षित स्थान हासिल हुन्छ, अधिकांश त्यही स्थानमा लिप्त हुन पुग्छन्। चुनौती मोल्न तयार हुँदैनन्। अर्को स्थान ओगट्न अल्छी गर्छन्।

अल्छीपनको परीक्षण सूची
अल्छीपन किन हुन्छ भन्ने प्रस्ट हुन निम्न परीक्षण सूचीमा आफूलाई राख्न सकिन्छः
–जीवनको उद्देश्य। के तपाईँसँग उद्देश्य छ ? संकल्प छ ? उद्देश्यसम्म पुग्ने नक्सा छ ? कम्पास छ ? कार्ययोजना छ ? छैन भने अल्छीपन उत्पन्न हुनु नौलो होइन।

–प्रमुख दश मूल्य मान्यता। तपाईँको प्रमुख मूल्य मान्यता के–के हुन् ? के तपाईँले गर्ने काम ती मूल्यमान्यतासँग मिलान हुन्छ ? हुँदैन भने अल्छीपन उत्पन्न हुनु निश्चित छ।

–बिदाको सदुपयोग। कहिल्यै बिदामा बस्ने गर्नु भएको छ ? कहिल्यै छुट्टी मनाउन नयाँ–नयाँ ठाउँ भ्रमण गर्नु भएको छ ? तपाईँले पछिल्लो पटक कहिले कामबाट बिदा लिनु भयो ? त्यो मिति ६ महिना देखि १ वर्ष बढी भइसकेको छ भने अल्छीपन उत्पन्न हुनु अप्राकृतिक होइन।

–जीवन आधार स्तरबाट सुरु हुन्छ। केही समयपछि चरम स्तरमा प्रस्थान गरिन्छ। त्यसपछि पुनः आधार स्तरमा झरिन्छ। यसको तात्पर्य जीवनमा विभिन्न उतारचढाव आइपर्छन्। विभिन्न चरणहरु पार गर्नुपर्ने हुन्छ।

कहिले आधार स्तर त कहिले चरम स्तरमा जिउनु पर्ने हुन्छ। आधार स्तरमा अबको कदम के हुने, त्यो थाहै हुँदैन। जीवनको कुन अध्याय सुरु हुन्छ भन्नेबारे पनि कुनै जानकारी हुँदैन। यो स्तरमा प्रायः तनाव, भ्रम र अल्छीपन सिर्जना हुन्छ। चरम स्तर यथावत् रहन्छ भन्ने कुनै ग्यारेन्टी छैन। विभिन्न असफलताका शृंखला सुरु हुनुका साथै जीवनको अध्याय पुरानो हुँदै जान्छन्। नयाँ अध्याय सुरुवात गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा अल्छीपन उत्पन्न हुनु अस्वभाविक होइन।

अल्छीपन हटाउने विधि
अल्छी गर्नु अस्वाभाविक होइन। मुख्य कुरा त्यो अल्छीपन अल्पकालीन हुन्छ कि दीर्घकालीन, त्यो मुख्य हो। अल्पकालीन अल्छीपन त्यति घातक नहुन सक्छ, जति दीर्घकालीन हुन्छ। अल्छिपन हटाउन निम्न कार्यविधि अपनाउन सकिन्छः
(क) कार्यलाई प्राथमिकता दिनेः काम सोचविचार गरेरै गर्नुपर्छ। अन्यथा ठूलो दुर्घटना निम्तिन सक्छ। तपाईं र तपाईंले प्राप्त गर्न सक्ने सम्भावित सफलताबीच दुरी पैदा हुन्छ। यसो भन्दैमा काम थालनीपूर्व धेरै सोच्न थालियो भने समयमै अपेक्षित परिणाम आउँदैन। यसले कामप्रति वितृष्णा बढाउँछ। अल्छीपनको अनुभूति जगाउने काम गर्छ। त्यसैले गर्दा अनावश्यक सोच बन्द गरेर काम सुरुवात गर्न ढिलासुस्ती नगर्नोस्। मानौँ, तपाईँलाई लेख्न अल्छी लाग्यो ! गज्जबको आइडिया फुर्ला र लेख्न बसुँला, मुड चल्ला र लेख्न थालुँला भन्न थाल्नुभयो भने तपाईँको लेखनयात्रा अघि बढ्न सक्दैन। लेखन कार्यमा अल्छ्याइँ हटाउने मनोवैज्ञानिक तरिका खोज्नु साटो लेखन कक्षमा प्रवेश गर्नोस्। कापी र पेन लिएर कुर्सीमा बस्नुहोस्। एउटा खाका डिजाइन गर्नोस्। जति शब्द लेख्न सकिन्छ त्यति लेख्नुस्। यसो गर्दा केही समयपश्चात लेखन कार्यमा अल्छीपन हट्दै जान थाल्छ। यही सिद्धान्त अरु काममा पनि प्रयोग गर्नोस्।

(ख) सकारात्मक आनीबानी विकास गर्नेः सकारात्मक आनीबानी विकास गरिएको छ कि नकारात्मक ? त्यसले जीवनको नक्शा निर्धारण गरिदिन्छ। यहाँ सकारात्मक आनीबानीको अर्थ सफलता दिलाउने र नकारात्मक आनीबानीको अर्थ असफलता दिलाउने भन्ने अर्थ लाग्छ। नकारात्मक आनीबानीमा थाहै नपाई फँस्न पुगिन्छ। विकास गरिरहनु आवश्यक पर्दैन। सकारात्मक आनीबानीको हकमा भने यो लागु हुँदैन। यसको विकास गर्न सोचे जस्तो सजिलो छैन। अतिरिक्त समय र ऊर्जा आवश्यक पर्छ। समयमा सुत्ने, समयमा उठ्ने, ध्यान गर्ने, व्यायाम गर्ने, अध्ययन गर्ने आदि सफलता दिलाउने आनीबानी हुन्। यस प्रकारको आनीबानी विकास गर्न सके सफलता प्राप्त गर्न सहज हुन्छ। जब एउटा सफलता प्राप्त हुन्छ, थप सफलता प्राप्तिका लागि काम गर्न प्रेरित भइन्छ। अल्छीपन हट्दै जान्छ। त्यसैले सफलता दिलाउने आनीबानी विकास गर्नमा गम्भीर हुनोस्।

(ग) पूर्णतावादको पछि नलाग्नेः हरेक कार्यमा निपुर्ण हुन सकिँदैन। क्षमताले साथ नदिन सक्छ। हरक्षण ऊर्जाशील रहन सम्भव छैन। त्यसमाथि हरेक व्यक्तिमा विविध कमीकमजोरी हुन्छन् नै। जस कारण धेरै गल्ती हुन सक्छन्। हरेक कार्यमा शतप्रतिशत दिन, उत्कृष्टता कायम राख्न खोज्नु काल्पनिक कुरा हो। त्यसैले पूर्णतावादी सोच त्याग्नुहोस्। जति गर्न सकिन्छ, त्यसका लागि तयार रहनोस्। मानौँ, कुनै दिन काममा जान अल्छी लाग्यो ! घरमा त्यसै बस्नु भन्दा अफिस जाने मन बनाउनुहोस्। अफिसको काममा पूर्णता दिने उत्साह नरहला। तैपनि केही हिस्सा काम गर्न अग्रसर हुनोस्। त्यही अग्रसरताले पूर्णतातर्फ उन्मुख गराउँछ।

(घ) कामको गति कम गर्नेः कतिपयलाई द्रुतगतिमा काम गरे मात्र चाँडो भन्दा चाँडो परिणाम ल्याउन सकिन्छ भन्ने भ्रम हुन्छ। र, काम गर्ने गति निरन्तर बढाउँछन्। यति मात्र होइन, समय र ऊर्जाको पनि अधिकतम लगानी गर्छन्।  कुनै पनि काम गरेपछि परिणामको अपेक्षा राखिन्छ। यस्तोमा न्यूनतम अथवा अनपेक्षित परिणाम आए ? उनीहरुमा काम गर्ने उत्साह हराउन सक्छ। यत्तिका काम गरे पनि परिणाम आउँदैन भने किन काम गर्नु भन्ने जस्तो नकारात्मक भावना उत्पन्न हुन्छ। अर्थात् काम गर्न अल्छी लाग्न थाल्छ। अब तिनलाई कामको गति कम गर्न भनियो भने ? हतारको काम लतार हुने सम्भावना निकै कम हुन्छ। यसपछि बल्ल अपेक्षित परिणाम पाइन सक्छ। जोश जाँगर भरिएर आउँछ। त्यसैले कामको गतिलाई कम गर्नोस्।

Leave A Comment