एसिडपीडितलाई कलाकारको साथ

बिहिबार, ०९ असोज २०७६, ११ : ५२ शुक्रवार
एसिडपीडितलाई कलाकारको साथ

बलिउड अभिनेता वरुण धवनले एसिड आक्रमणमा परेर कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचार गराइरहेकी वीरगञ्जकी १४ वर्षे मुस्कान खातुनलाई पठाएको भिडियो सामाजिक सञ्जाल चर्चा पाउँदैछ।

‘हेलो मुस्कान ! तपाईंको उपचार राम्रो हुँदै गएको खबर सुनेर खुसी लाग्यो। तपाई राम्रो गर्दै हुुनुहुन्छ। मन लगाएर पढ्नु होला। उपचारबाट निको भएपछि हामी भेट्नेछौं,’ अभिनेता धवनले एसिड आक्रमणकी पीडित मुस्कान खातुनलाई पठाएको सो भिडियो बुधबार साँझ सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो।

गत भदौ २० मा बिहान स्कुल जाने क्रममा स्थानीय एक युवाले अनुहारमा एसिड प्रहार गरेपछि उपचारको लागि उनलाई कीर्तिपुर अस्पताल भर्ना गरिएको थियो। खातुन बलिउड अभिनेता धवनकी फ्यान हुन्।

अनुहारको शल्यक्रिया सिध्याएलगत्तै बलिउड अभिनेता धवनले पठाएको भिडियो हेरेर उनी खुसीले भावविह्वल भएकी थिइन्। अभिनेता धवनको फिल्म र डान्सकी फ्यान उनी भिडियो सन्देश हेरेर केहीबेर एसिड आक्रमणको चोटलाई भुलेर हाँस्ने कोसिस गरिरहेकी थिइन्। सेतो पट्टीले ढाकिएको अनुहारबाट मधुरो स्वरमा उनले अभिनेता धवनलाई ‘धन्यवाद’ दिएकी छन्। यसअघि मंगलबार साँझ बलिउड अभिनेत्री कृति सनोनले उपचाररत खातुनसँग ह्वाट्स एपमार्फत भिडियो कल गरेकी थिइन्। भिडियो कलमा अभिनेत्री सनोनले खातुनलाई जतिसक्दो चाँडो उपचार गरेर निको हुन आग्रह गरेकी थिइन्। ‘तपाई असल व्यक्ति हुनुहुन्छ, भिडियो कलमा अभिनेत्री सनोनले भनेकी छन्,’ अहिले तपाईं उपचारार्थ अस्पताल भर्ना हुनु भएको हुँदा जतिसक्दो चाँडो निको भएर घर फर्कनु होला भन्ने मेरो कामना छ। उपचारपछि हामी पक्कै भेट्नेछौं।’

यसअघि पनि नेपाली रियालिटी सो ‘भ्वाइस  अफ नेपाल’का निर्णायकमध्ये एक गायक राजु लामा र मिस नेपाल २०१७ की रनरअप नीति शाह पनि अस्पताल पुगी खातुनको हिम्मत बढाएका थिए। नेपाली सांगीतिक ब्यान्ड मंगोलियन हर्टको टोलीसहित अस्पताल पुगेको गायक लामाले खातुनलाई ‘तिमीलाई देखेर हिमाल हाँसेको’ बोलको गीत गाएर सुनाएका थिए। राप्रपा अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा एसिड आक्रमणलाई अपराधको संज्ञा दिँदै यस्तो अपराधमा संलग्नलाई कठोर सजाय हुनुपर्ने ट्वीट गरेका थिए। उनले उपचाररत खातुनको शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन्। यसअघि प्रदेश नम्बर २ सरकारका मुख्यमन्त्री लालबाबु राउतपनि अस्पताल पुगी खातुनको हौसला बढाएका थिए। उनले खातुनको उपचारमा कुनै कमी हुन नदिने बताए। प्रदेश सरकारले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाइरहेको भन्दै मुख्यमन्त्री राउतले खातुनको उपचारमा लाग्ने सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताएका थिए।

प्रदेश सरकारले तत्काल ५ लाख उपलब्ध गराएको बताउँदै उनले उपचारमा कुनै किसिमको कमी हुन नदिन अस्पताल व्यवस्थापनसँग आग्रह गरे। ‘पाँच लाखभन्दा बढी लागेपनि हामी तिर्छौं ’ मुख्यमन्त्री राउतले भने, ‘तर, उपचारमा कुनै समस्या नहोस्।’

खातुनलाई एसिड आक्रमण गर्ने सम्साद आलम र माजिद आलमलाई प्रहरीले हिरासतमा लिएको छ। एसिड आक्रमणमा परेकी वीरगञ्जको त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्यनरत खातुनको मुख, हात, छाती र पाखुरामा गम्भीर चोट लागेको छ। समाजसेवी उज्ज्वल विक्रम थापा एसिड आक्रमण पीडित खातुनलाई विभिन्न कलाकारसँग भेटघाट र कुराकानी गराएर पीडा कम गर्न लागि परेका छन्। ‘एसिड आक्रमण योजनाबद्ध अमानवीय अपराध हो,’ थापाले भने, ‘चोटलाई हेरेर होइन, सोचलाई दण्ड दिनुपर्छ।’

Leave A Comment