धन्न ! त्यो रात खुकुरीले लागेन

मङ्गलबार, १४ असोज २०७६, १० : ४२ शुक्रवार
धन्न ! त्यो रात खुकुरीले लागेन

डान्सबार, क्यासिनोमा डान्स गर्दा गर्दै ‘तिमी जहाँ भए पनि’, ‘मानव,’ ‘शिरफूल’, नेपाली फिल्म र भोजपुरी, जनजातिका फिल्ममा नृत्यनिर्देशन गर्दै आएका अजय स्याङ्तानले भोला अधिकारीसँग बाँडेको रात्रिकालीन अनुभव :

म  सर्लाहीमा जन्मेको हुँ। गाउँघरमा हुने सांस्कृतिक कार्यक्रममा डान्स  गर्थेँ। यसरी डान्स गर्दा धेरैले डान्सर बन्न काठमाडौं जा भन्थे। डान्सर बन्छु भन्ने सपना बोकेर एसएलसी सकेपछि  काठमाडाैं आएँ।  काठमाडौं आएपछि नयाँबानेश्वरमा चर्चित डान्स सिक्ने ठाउँ डाइमण्डपफमिङ आर्ट सेन्टर थियो। त्यहाँ प्रकाश सायमीले डान्स सिकाउनुहुन्थ्यो।

म पनि त्यहीँ भर्ना भएँ। कमल राई, राजेन्द्र खड्गी, जल शाहलगायत नेपाली फिल्म क्षेत्रका सबै जसो कलाकार डान्स सिक्न त्यहाँ आउँथे। जल शाह भने भर्खर भर्ना भएकी थइन्।  नयाँबानेश्वरको डन भनेर चिनिने एकजना महेन्द्र दाइ थिए। उहाँसँग त्यहीँ डान्स सिक्दासिग्दै भेट भयो।

एकदिन महेन्द्र दाइले आफ्नो बर्थ डे पार्टीमा मलाई डान्स गर्न बोलाउनुभयो। आर्थिक अवस्थाले फिटफिट परेको बेला थियो। ओके भनिदिएँ। माइतीघरमा प्याराडाइज डान्सबार थियो। त्यहाँबाट डान्सबारमा नाच्ने काम सुरु भयो।

डान्सबारदेखि क्यासिनोसम्म
म काठमाडौंका अधिकांश डान्सबारमा नाचेको छु। मलाई डान्सबारमा नाच्न सुरु सुरुमा रहर पनि थियो। पछि पेसा नै भयो। जुन डान्सबारमा धेरै पैसा आउँछ म त्यतै जान थालेँ। ठमेलको ‘द नाइट क्वीन डान्सबार, मुनलाइट डान्सबार, एभरेष्ट क्यासिनो, सोल्टि प्रायः जसो  सबै डान्सबारमा नाचेँ। 

क्याम्पस पढ्छु भनेर आएको डान्सबारमा नाच्दा नाच्दै पढ्न नै भुलेँ। डान्सबारमा नाच्ने मात्र गरिनँ, डान्सबारका डान्सरहरुलाई दिनभरि डान्स सिकाउँथेँ । 

जति गरे पनि डान्सबारका साहुले हाम्रो कामलाई पैसा दिँदैनथे। शोषण गर्थे। इज्जत पनि थिएन डान्सबारमा काम गर्नेको। गेष्टहरुको हेपाइ पनि उस्तै हुन्थ्यो। डान्सबारमा भन्दा क्यासिनोमा कलाकारलाई इज्जत थियो।

शोषणमा लेडी डान्सर
मैले डान्स गरेको ठाउँमा धेरै जसो केटी साहुबाटै पीडित थिए। कोही यौन शोषणमा परेका देखिन्थे। कोही साहुको प्रिय बन्न खोज्थे। त्यस्तो मान्छेलाई साहुले के बाँकी राख्थ्यो र ? केटीहरुलाई थोरै तलब दिन्थ्यो। कतिपय केटी डान्सबारमा ग्वाँ ग्वाँ रुन्थे। त्यसको कारण धेरै हुन सक्छन्।

मलाई त पाँच महिनासम्म माइतीघरको प्याराडाइज डान्सबारले पैसा दिएन। पैसा माग्यो भने तलाई मार्दिन्छु , त्यो गर्छु भनेर दादागिरी देखाउँथेँ।  

केटी छैनन् भनेर तलब दिएनन्   
लामै समय नाचिसकेपछि मैले त्यहाँको साहुलाई सोधेँ दाइ मेरो तलब पनि आएन भन्दा तँसँग ग्रुप नै छैन। केटीहरु लिएर आइज अनि तलब दिउँला भनेँ। पछि मैले केटीहरु लिएर गएँ त्यसो गर्दा केटीहरुले तलब पाए, मैले पाइनँ।

केटीको निहुँमा झगडा
डान्सबारमा धेरै जसो झगडा भइरहन्थ्यो। माइतीघरको प्यारागाइज, नयाँबानेश्वरको मुनलाइट र मैतीदेवीमा अलिक बढी झगडा भइरहन्थ्यो।  खुकुरी हानाहानसम्म हुन्थ्यो। ठमेलको एउटा डान्सबारमा हामी नाचिरहेका थियाैँ। राति एघार बजेतिर एक हुल केटा आएर टेबुलमा बसे। एकजना बैनी थिइन् राम्रो नाच्ने। उनी त्यही बेलामा डान्सबारबाट निस्केर कता गइन्।  आएका केटाले त्यो बैनीलाई डान्स देखाउन लगा भने। कोडिनेटरले त्यो बैनी त गइसकिन् भने। हामी त्यो बैनीको डान्स हेर्न आएको हो तँलाई हेर्न आएको हो र भने। छैन भन्दा भन्दै उनीहरुले पिट्न थाले।

यत्तिकैमा बोतल हानाहान, टेबल कुर्सी फालाफाल भयो। हामी डान्सरहरु मुसो जस्तो भएर कोही कता कोही कता बसियो। भित्र त रणसंग्राम भएको थियो। उताबाट हानेको खुकुरीको झटारो मेरो काखी मुनिबाट गयो । त्यो मेरो बाँच्ने दिन थियो। नत्र म तपाईंहरुसामु यसरी बोल्न पाउने थिइनँ।

छाडा गीतमा नाचियो
नेपाली गीतमा त कमै नाचियो। धेरै जसो भोजपुरी, हिन्दी गीतमा नाच्नुपथ्र्यो। काम गरेकोमध्ये राम्रो लागेको क्यासिनोमा मात्रै हो। डान्सबारमा त सबैभन्दा तुच्छ व्यवहार गरिन्थ्यो। केटीहरु रक्सी नखाने सायद कमै थिए। उनीहरु नशाको तालमा जस्तो गीतमा पनि खुलेर नाच्थेँ।

Leave A Comment