राष्ट्रपति, प्रधानमन्त्रीको तलब बढ्ने हाम्रो नबढ्ने

मङ्गलबार, १४ असोज २०७६, ११ : १२ शुक्रवार
राष्ट्रपति, प्रधानमन्त्रीको तलब बढ्ने हाम्रो नबढ्ने

टोपबहादुर खत्री, ट्याक्सी चालक बा२ज ३९७१

ट्याक्सी चलाउन थाल्नुभएको कति भयो?
चार वर्ष भयो।

चालक बन्नुभन्दा अगाडि के गर्नुहुन्थ्यो ?
नेपाली सेनामा कार्यरत थिएँ। सैनिक सेवामा १९ वर्ष काम गरेपछि अवकाश लिएँ।  

ट्याक्सी पेसामा आउनुको कारण?
नेपाली सेनामा हुँदा पनि गाडी नै चलाउँथेँ। त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्न  ट्याक्सी किनेर चलाएको हुँ। अर्को पेसा गर्न जानिएन।

ट्याक्सी चलाएर जीवन चलाउन कत्तिको सजिलो रहेछ?
केही वर्ष यतादेखि निकै गाह्रो भएको  छ। हाम्रो टिप टुटल पठाओले लिएर हिँड्न थालेको छ। म त नाइट ट्याक्सी चलाउने मान्छे। एकजना यात्रु त पाउनै मुस्किल छ। आम्दानी छैन। विदेशतिर लाग्नुपर्ने अवस्था आउँदैछ। सरकारले सबैको तलब भत्ता बढाउँछ तर ट्याक्सीलाई ७ वर्षअगाडिकै मिटरको रेटमा हिँडाइ राखेको छ। प्रधानमन्त्री, राष्ट्रपतिको तलब वृद्धि हुने तर हाम्रो भाडादर ७ वर्षमा पनि ज्युँका त्युँ रहिरहने। गाडीको मूल्य बढेर आकाश छुन लागिसक्यो। दलालहरुले अहिले ट्याक्सीको मुल्य ३२ लाखमा बेच्न थालिसके। सरकारले यसलाई वास्ता नै गर्दैन। हरेक कुरामा ट्याक्सीवाला मर्कामा परेका छन्।
ट्याक्सी चालकहरु कुटिने, लुटिने घटना भइरहेका छन् । यसमा कसैको ध्यान गएको छैन।

यस्तो घटना कहिले भएको छ र?
रातिका यात्रु धेरै जसो मातेका नै भेटिने गरेका छन्। रातिका कतिपय यात्रुले दुःख दिने। वास्तविक मर्का परेका यात्रुलाई उठाउँदा पनि सोच्नुपर्ने बाध्यता देखा परेको छ। कति ठाउँमा अहिले पनि ट्याक्सी चालक जानका लागि सुरक्षा छैन। महिना दिन अगाडिको घटना हो। रातिको साढे नौ बजेको थियो।  टिचिङ हस्पिटलको बाहिर बसिरहेको थिएँ। टिचिङबाट एकजना बैनी आउनुभयो। मलाई लाग्यो हस्पिटलबाट निस्केको व्यक्ति बिरामी कुरुवा होला।  उहाँले नारायणथानको भङ्गाल भन्ने ठाउँको गणेश मन्दिरको  साइडमा पु-याइदिनु भन्नुभयो र ट्याक्सीमा चढ्नुभयो।

ट्याक्सीमा उहाँ चढेपछि रक्सी ह्वास्सै गनायो। मैले हुन्छ भनेर उहाँले भनेको ठाउँमा पु-याइदिएँ। मैले पैसाको बार्गेनिङ गरिनँ जति दिए पनि हात थाप्छु भन्ने नै थियो। उहाँले भनेको ठाउँमा पु-याइदिएँ। जुन ठाउँ एकान्त रहेछ।  ट्याक्सीबाट ओर्लेर म पैसा लिएर आउँछु भन्नुभएको मान्छे निकै बेर आउनुभएन। त्यहीँको एकजना बाजे १० बजेतिर बाहिर हावा खाँदै हुनुहुँदो रहेछ। उहाँलाई सोधेको  यो ठाउँमा धेरै ट्याक्सीलाई यसरी नै ठग्ने गरेका छन्। भाइले पैसा नपर्खे पनि हुन्छ भन्नुभयो  अनि फर्केर आएँ।

लुटिने र कुटिने त कम भयो होला हैन?
कहाँ कम हुनु र ? रातिको समयमा घटना धेरै हुने गरेका छन्। कुनै–कुनै साथीको त ट्याक्सी नै अपहरण गरेका छन्। गत शनिबार हाम्रा एकजना साथीको ट्याक्सी अपहरणमा परेको थियो। ४ जनाको समूहले नारायणटारबाट नारायणथान लगेर हाम्रै साथीको मोबाइल, पाँच हजार पैसा र ट्याक्सी नै अपहरण गरेर लगेका थिए। ट्याक्सी भने पछि सामाखुसी चोकमा छोडिदिएका रहेछन्। प्रहरीलाई खबर गर्ने अवस्था पनि थिएन रहेछ। एकान्त ठाउँमा लगेर लुटपाट गरेका रहेछन्। सुरक्षाको हिसाबले निकै गाह्रो छ रातिमा।
प्रस्तुति : भोला अधिकारी  

Leave A Comment