ऋण लिँदा कति ब्याज दिने

बुधबार, १५ असोज २०७६, ११ : १९ स्वीकृति बराल
ऋण लिँदा कति ब्याज दिने

आजकल बजारमा जताततै मिटर ब्याजको कुरा सुनिन्छ जसका कारण धेरैले लिएको साँवाभन्दा धेरै ब्याज तिर्नुपरेको देखिन्छ। मिटर ब्याजमा लेनदेन गर्नु गैरकानुनी हो। लिखत नभएको कारणले गर्दा यो गैरकानुनी नै भए पनि कानुनी कारबाही गर्न सकिँदैन। आपसी लेनदेन, सापटी र ऋण लिनेदिनेबारे कानुनी व्यवस्था छ। यस्तो कारोबार गर्दा कानुनी दायराभित्रै बसेर गरे फस्ने सम्भावना हुन्न।

दुई वा दुईभन्दा बढी व्यक्तिबीच कुनै शर्त राखी कुनै रकम वा वस्तु लिने दिने गरेमा निजहरूबीच लेनदेन भएको मानिन्छ। लेनदेन गर्दा जहिले पनि कानुनबमोजिम लिखत गरेर मात्र गरे राम्रो।

लेनदेन गर्दा लेनदेन व्यवहारको प्रकृतिबमोजिम कानुनले तोकेबमोजिमका सबै पक्ष खुलाउनु पर्छ। मुलुकी देवानी संहिता अनुसार लिखतमा लेनदेन गर्ने व्यक्तिको नाम, थर, उमेर, ठेगाना तथा बाबु, आमा, बाजे, बजैको नाम खुलाउनुपर्छ।

विवाहित व्यक्तिले श्रीमान्, श्रीमतीको नाम, लेनदेन गर्नु परेको कारण, लेनदेनको परिमाण, कुनै वस्तु लेनदेन गरेकोमा त्यस्ता वस्तुको मूल्य, कुनै वस्तु निश्चित समयपछि फिर्ता गर्ने गरी सापटी, पैँचो वा अन्य तवरले लिनु दिनु भए त्यस्तो व्यहोरा, कुनै वस्तु सट्टापट्टा गरेको भए त्यस्तो व्यहोरा, लेनदेन गरेको रकम बुझाउने मिति, लेनदेन गर्दा ब्याज लिने, दिने भए ब्याजको दर, लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखतबमोजिमको अन्य शर्त पूरा नगरेमा लेनदेनबमोजिमको रकम साहूले ऋणीको सम्पत्तिबाट असुल गरी लिन पाउने कुरा, लिखत गरिएको ठाउँसमेत उल्लेख गर्नुपर्छ।

लिखतमा प्रस्ट कति प्रतिशत ब्याजमा पैसा लिएको हो सो खुलाउनु पर्छ। चुपचाप ऋण पाइयो भन्दैमा जति ब्याजमा पनि पैसा लिनु आफूले खनेको खाल्डोमा आफैँ फस्नु हो।

सँगै लिखत तयार गरिएको मिति,  लेनदेनको प्रकृतिबमोजिम खुलाउनु पर्ने अन्य आवश्यक पक्षहरु अनिवार्य खुलाउनु पर्छ। लिखत नगरी वा गरेको लिखत पनि नपढी हचुवाको भरमा लेनदेनको कारोबार गर्दा अप्ठ्यारो पर्दा कानुनको सहायता लिन सकिन्न।

लेनदेन गर्दा कतिकति प्रतिशतको दरले ब्याज लिने हो भन्ने कुरा पनि लिखतमै लेखिएको हुनुपर्छ। लिखत हुँदा लिखतमा ब्याजको दर किटान नगरी ब्याज लिनेदिने कुरा सम्म उल्लेख भएकोमा साहूले ऋणीबाट साँवा रकमको वार्षिक दस प्रतिशतका दरले ब्याज लिन पाउँछ।

ऋणीबाट ब्याजको ब्याज लिन पाइँदैन। ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवामा कट्टी हुनेछ र साँवा चुक्ता भइसकेको रहेछ भने त्यस्तो ब्याज फिर्ता गर्नुपर्छ। मुलुकी देवानी संहिता, २०७४ को दफा, ४८१ अनुसार साँवाभन्दा बढी ब्याज लिन पाइँदैन। त्यसैले सबैले ऋण लिँदा कानुनले तोकेको भन्दा बढी ब्याज दिँदैनौ भन्न सक्नुपर्छ। लिखतमा प्रस्ट कति प्रतिशत ब्याजमा पैसा लिएको हो सो खुलाउनु पर्छ। चुपचाप ऋण पाइयो भन्दैमा जति ब्याजमा पनि पैसा लिनु आफूले खनेको खाल्डोमा आफैँ फस्नु हो।

Leave A Comment