पारसकालको पुनरागमन

बिहिबार, १६ असोज २०७६, ०५ : १८ प्रजु पन्त
पारसकालको पुनरागमन

महिला सांसद ज्युहरु,
नमस्कार 
धेरैलाई लाग्ला किन महिला सांसदको नाममा मात्र यो चीठी लेखियो ? के पुरुष सांसदले महिलाको मुद्धा उठाउनु हुन्न र ? 
त्यसो हैन । कुन मुद्धामा कसले कसरी कुरा उठाएको छ भन्ने जानकार छु । महिलाको हरेक मुद्धा संवेदनशील रुपमा उठाउने पुरुष सांसद पनि छन् अनी महिला सांसद भएर भालेवादी सोचाइ राख्नेहरुबारे पनि जानकार छु । यो पत्र तिनलाई लेखीएको हो जो महिला सांसद जो हिजोका दिनमा महिला अधिकार र समानताबारे ठुला कुरा गर्थे । 
अब विषय प्रवेश गरौँ,

तपाईंहरुलाई थाहै छ , संघीय लोकतान्त्रीक गणतन्त्र नेपालको संविधान  जारी भएपछि  चुनाव भयो ।  लोकप्रिय मत ल्याएर प्रतिनिधी सभामा निवार्चीत कृष्णबहादुर महरा सहजताका साथ प्रतिनीधी सभाको सभामुख भए । आर्थिक रुपमा विवादमा नआएका हैनन् उनी । चुनावताका चिनीयासँग ५० करोड मागेको टेप सार्ववजनिक भएकै हो । लडाकुको शिविरका लागि लिएको रकमको अनियमिततामा परेकै हुन् । 

आम नागरिकलाई उनका ती काण्डको प्रभाव परेन । जनताले पत्याए र उनी सांसदहुँदै सभामुख भए । तर उनको काण्डकारी काम भने रोकिएन । सभामुख जस्तो सम्मानित पदमा आसिन रहेकै बेला उनी बलात्कारको गम्भिर अपराधको आरोपि बने । आरोपी उनी सभामुख रहेको संसद सचिवालयको कर्मचारी मात्रै नभई उनको परिवारसँग समेत निकट सम्बन्ध रहेको महिला रहेको खुलिसक्यो ।

घरबाट निस्केकै छैन, सरुवा भएको रिस पोखेको जस्ता कुतर्क काम नलागेपछि सभामुख पदबाट राजीनामा त दिए, तर कानुनी प्रकृयाभने अवरुद्ध बनाइयो । जसले महराका कर्तुत सार्वजनिक गरेकी छिन् अहिले उनै महिला ‘उनी त मेरा बा जस्ता, मैले भनेकै हैन’ जस्ता अपत्यारिला तर्क गरिरहेकी छिन् । दृष्य प्रष्ट छ, यस्तो भन्ने मुख उनको भए पनि बोलीमा कतै न कतै महराको प्रभाव छ नै ।

उनको शरिरभरी रहेका कुटाईका डाम, बयान बदलिनु अगाडि उनले सार्वजनिक गरेका प्रमाणले नै उनको बदलिएको दावी गलत हो भन्ने प्रष्ट्याउँछ नै । हुँदाहुँदा उनी र श्रीमान्विच छोडपत्रको सहमती भएको कागज समेत सार्वजनिक भइसक्यो । यी सबै घटनाक्रममा महराको शक्तिको प्रयोग भएको संकेतहरु कतै लुकेका छैनन् ।

महिला सांसदज्युहरु,

पीडितले भनेअनुसार उनले घटना लगत्तै उनले तीन महिला नेतालाई घटनाबारे जानकारी गराएकी थिइन्, नेपाली कांग्रेसकी सांसद उमा रेग्मी, नेकपाकी पुर्वसभामुख ओनसरी घर्ति मगर र पुर्व मन्त्री पम्फा भुषाल । 
कांगे्रस नेतृले त फोन आएको स्विकारी सकिन् । तर अन्य २ जना सम्पर्क भएकै छैन भनेर टारिरहेका छन् । पुर्व सभामुख ओनसरी घर्तीले त उल्टो ‘ति केटीले पहिले पनि त्यस्तै भनेको र मानसीक रोगी भएको तर्क गरेर विषयान्तरको प्रयास गरिरहेकी छिन् । 

घर्ति हुन् या भुषाल यी दुबै महिला अधिकारबारे प्रखर मुद्धा उठाएको प्रभावले नै अहिले त्यो स्थानमा पुगेका हुन् । तर अहिले एक महिला चौतर्फी प्रभाव, दवावमा परेर के बोल्ने, के नबोल्ने अन्यौल र तनावमा रहँदा उनीहरुबाट आएका अभिब्यक्तिले उनीहरुको बोली र ब्यबहारविचको विभेद छर्लङ बनाएको छ । 

निवार्चीत जनप्रतिनिधी जो हिजो महिला मुक्तिको नारा उराल्र्दै बन्दुक बोकेर सामन्ती सत्ता ढाल्न हिडेका थिए उनको यस्तो अभिव्यक्ति ! बडो दुखका साथ भन्दैछु, हामीले कस्तो तुच्छ सोच भएकाहरुलाई निर्वाचित गरेछौँ ? 

सत्ताधारी नेकपा, प्रमुख प्रतिपक्ष काँग्रेस मात्र हैन अन्य दलमा पनि महिला सांसदको संख्या राम्रै छ । तीन तहकै सरकारमा रहेका महिला प्रतिनिधि हेर्ने हो भने एक तिहाई पुग्छ । भुषाल र घर्ती मात्रै हैन यो केसमा ती सबै मौन छन् । दलिय प्रभावमा महिला मुद्धामा लागेको बुझो दुखदायी हो । मुक्तिको नारा लगाउनेहरु आफैं दास बनेको कस्तो नमिठो दृष्य ।

हाम्रो कानुनले अनौपचारिक सम्बन्धबारे मात्रै औपचारिक सम्बन्धबारे समेत बोलेको छ । नेपालको कानुन अनुसार विवाह पश्चात असहमतीमा हुने यौन सम्वन्धलाई समेत बलात्कार मान्छ । 

तर महरा ती पीडित महिलाविच पहिल्यैदेखि सम्बन्ध रहेको र अहिले कुरा नमिलेर बाहिर आएको तर्क गरेर गम्भिर गम्भिर घटनालाई सामान्यीकरणको अभ्यास भइरहेको छ । यदी यी दुबैविच पहिल्यै देखि सम्वन्ध रहे पनि अहिले जुन प्रकृतीको घटना भएको सार्वजनिक भएको छ त्यो दण्डनिय नै हो । 

हैन र सांसद महोदय ?

एक पुर्व आइजीपीसँगको कुराकानीमा कसरी पारस शाहको सवारीले निधन भएका गायक प्रविण गुरुङको हत्यामा भक्तपुरका सोझा नेवार फसाइएका थिए भन्ने खुलेको थियो । अहिले त्यही कुरा झलझल्ती दिमागमा घुमिरहेको छ । 
हिजो राजतन्त्र भएको बेलामा भएको त्यो घटना सत्ता प्रभावकै बलमा दबाइएको सत्य लुकेको छैन अझै ।

राजतन्त्र ढल्यो । तर सत्ता र शक्तिको उपयोग गरेर गम्भिर अपराधमा संलग्नलाई उन्मुक्ति दिने र पीडितलाई नै उल्टो दोषी देखाउने अभ्यास संघीय लोकतान्त्रीक गणतन्त्रमा पनि जारी रहेको महरा प्रकरणले देखायो ।
महिला सांसदज्युहरु, 

कुन प्रकारको अपराध भनेर हेर्न छाडेर कहिलेसम्म आफ्नो पार्टीको संलग्न कि अर्काको हेरेर सोही अनुसार ब्यबहार गरिरहने ?

दलिय संलग्नताको आधारमा कोही निर्दोश हुने, केही दोषी हुने सामन्ती कानुनी ब्यवस्था कहिलेसम्म भोगिरहनुपर्ने ? पीडकको प्रभावका कारण कहिलेसम्म पिडितले बयान फेरिरहनुपर्ने ? 
 

Leave A Comment