शुक्रवार फलोअप : चित्रबहादुरको छल्ने दाउ

शुक्रबार, १७ असोज २०७६, ०१ : ३३ प्रजु पन्त
शुक्रवार फलोअप : चित्रबहादुरको छल्ने दाउ

जापान पठाउने लोभमा जेठा छोराका दुई सन्तानलाई कान्छा छोराको बनाएको आरोपमा छानबिनमा परेका पूर्व उप्रधानमन्त्री तथा जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी भारत घुमघाम सक्काएर नेपाल फर्किए। नेपाल फर्किएलगत्तै उनी विभिन्न युट्युब च्यानलमा आफूमाथि लागेको आरोपको खण्डनमा सक्रिय भए तर ‘शुक्रवार’सँग भने बोल्न मानेनन्।

क्यानडानेपाल लगायतका विभिन्न युट्युुब च्यानलमा दिएको अन्तर्वार्तामा उनले जेठाका दुई जना र कान्छोका दुई जना सन्तान भएको भने स्वीकार गरेका छन्। क्यानडा नेपालसँगको अन्तर्वार्तामा उनी र उनकी पत्नीले जेठाका तर्फबाट दुई जना नाति र कान्छाका तर्फबाट दुई जना नाति भएको र जेठा र कान्छा दुवै छोराका जेठा सन्तान जापानमा रहेको स्वीकारेका छन्।

तर उनले जेठा छोरा सचित्रका दुई छोरा सचित र सचिन केसीलाई आफ्नै कान्छा छोरा विष्णुको छोरा बनाएको भन्नेबारे आफूलाई केही थाहा नभएको र उनीहरु जापान कसरी पुगे भन्नेसमेत थाहा नभएको भनेर उम्कने प्रयास गरेका छन्।

‘शुक्रवार’ साप्ताहिकमा केसीले कानुन छलेर आफ्ना जेठा छोरा सचित्रका दुई छोरा सचित केसी र सचिन केसीलाई आफ्नै कान्छा छोरा विष्णुका सन्तान बनाएर जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट नाबालिग परिचयपत्र बनाएको समाचार प्रकाशित गरेको थियो।

केसीले तत्कालीन माल्म गाउँ विकास समितिबाट जेठा छोरा सचित्रका दुवै छोराहरु सचित र सचिन केसीको नाबालिग प्रमाणपत्रको सिफारिस बनेको थियो। सोही नाबालिग प्रमाणपत्रकोे आधारमा जिल्ला प्रशासन कार्यालय बाग्लुङबाट २०६७ माघ ५ मा सचित र सचिनको नाममा ११०४ र ११०६ नम्बरको नाबालिग प्रमाणपत्र जारी भएको थियो।

प्रमाणपत्र जारी हुनु अगाडिसम्म सचित र सचिनका वास्तविक र कानुनी बाबु सचित्र केसी र आमा तारा गिरी थिए। प्रमाणपत्र जारी भएपछि यी दुवै जनाका कानुनी बाबु काका विष्णु केसी भए भने आमा काकी मीरा केसी पुरी भइन्। नाबालिग प्रमाणपत्र बनाउने कार्यमा केसी स्वयं सक्रिय सहभागी थिए।

उनीहरुले २०६७ माघ ५ मा नाबालिग प्रमाणपत्र बनाएका थिए। सोही नाबालिग परिचयपत्रका आधारमा राहदानी विभागले सचित र सचिनको नाममा २०६७ माघ २० (सन् २०११ फेब्रुअरी ३) मा राहदानी जारी गरेको थियो।

उक्त समाचार प्रकाशनपूर्व केसीसँग कुरा गर्न खोज्दा उनी पार्टीको कार्यक्रमले भारतमा भएका कारण कुराकानी हुन सकेको थिएन। उनी स्वदेश फर्किएपछि ‘शुक्रवार’ले उनीसँग यस विषयमा कुराकानी गर्ने प्रयास गरेको थियो। तर उनी पार्टीमाथि आक्रमण भएको भन्दै थप कुराकानी गर्न तयार भएनन्।

तर देखिएको कागजपत्रले जेठातर्फका दुई छोरा कान्छाको पो देखिन्छ भन्ने जिज्ञासामा उनले टालटुले जवाफ दिए। भेटेर कुरा गर्न शुक्रवारकर्मीले गरेको आग्रहमा उनले ‘आफूलाई लागेको लेख्नू भन्दै’ फोन काटिदिए।

‘शुक्रवार’मा समाचार प्रकाशनपछि असोज ६ गते जिल्ला प्रशासन कार्यालयले  छानविन समिति गठन गरिसकेको छ। प्रशासकीय अधिकृत तथा सूचना अधिकारी धीरेन्द्रराज पन्तको नेतृत्वमा प्रशासकीय अधिकृत केशव लामिछाने र नायब सुब्बा विष्णुप्रसाद ढकाल सदस्य रहेको समितिले अहिले छानविन गरिरहेको छ।
छानविन समितिका संयोजक पन्तले एक हप्तासम्म पुराना अभिलेखहरु खोज्ने काम भएको जानकारी दिए।
‘पहिलो चरणमा पुराना अभिलेखहरु खोज्ने काम भइरहेको छ,’ पन्तले भने, ‘दोस्रो चरणमा को को सहभागी थिए उनीहरुलाई सोधपुछको लागि बोलाइन्छ र प्रतिवेदन बन्छ।’

‘के–के लेख्नसक्नुहुन्छ त्यो लेख्नू’ :चित्रबहादुर केसी, पूर्वउपप्रधानमन्त्री
नमस्कार सर...।
हजुर नमस्कार, को बोल्नुभयो ?

म प्रजु पन्त शुक्रवार साप्ताहिकबाट बोलेको सर। भेटेर कुरा गरौँ कि फोनमा कुरा गरौँ ?
तपाईंले लेखिहाल्नुभो अब के कुरा गर्नुहुन्छ र ?

तपाईं भारत भएको बेला तपाईंको प्रतिक्रिया लिन खोजेकी थिएँ। आनन्द शर्माले फोन उठाउनु भएको थियो।
हो म मद्रासमा थिएँ।

सरले युट्युबमा दिनुभएका अन्तर्वार्ताहरु हेरेँ। सरले भन्नुभएको कुरा र हामीले फेला पारेको डकुमेन्ट फरक देखियो त्यही भएर कुरा गरौँ कि ?
ए, तपाईंले लेखिहाल्नुभयो क्यारे ! के–के लेख्नसक्नुहुन्छ त्यो लेख्नू।

जेठा छोराको छोरालाई कान्छो छोराको छोरा त बनाउनुभएको हो नि है ! भदौ ६ र ७ गते बाग्लुङमा भएको प्रशिक्षण भेलामा यो कुरा उठेको रहेछ नि ?
कस्ले भन्यो तपाईंलाई ?

योबारे फेला परेको डकुमेन्टले।
कस्ले भन्यो तपाईंलाई ? त्यस्तो थाहा पाउनुहुँदोरहेछ हाम्रो पार्टी भित्रको कुरा।

पार्टी त जनताप्रति उत्तरदायी हुन्छन् पार्टीभित्र उठेका कुरा जनताले थाहा पाइहाल्छन् नि ?
हैन तपाईंलाई पार्टी भित्रको कुरा कस्ले बतायो ?

पार्टीभित्र त जनताका लागि कुराकानी भएको हुन्छ, जनताकै मान्छे हुन्छन्। जनताका मान्छेका कुरा समाचार लेखिन्छन् अनि थाहा भइहाल्छ नि ?
ए हैन, तपाईंले त लेखिहाल्नु भयो क्यारे। के–के लेख्न सक्नुहुन्छ, के–के लेख्नपर्छ तपाईंले लेख्नुस्। अरु कुरा त किन चाहियो र ?

भनेपछि यस विषयमा तपाईं बोल्नुहुन्न ?
म  त धेरै आमसभामा बोलिरहेको छु। हिजो चितवनमा पनि बोलेको थिएँ।

यही विषयमा ?
तपाईंको तर्फबाट कति अनुसन्धान गर्न मनलाग्छ गर्नु न ! मैले सार्वजनिक रुपमा बोलिसकेको छु। आफ्नो स्थिति सार्वजनिक गरिसकेको छु। तपाईंलाई मेरो व्यक्तिगत सबै कुरा सोध्न पर्ने आवश्यक के छ ? भन्नुस् त ?

तपाईं हाम्रो नेता हो। तपाईंका गतिविधि त चासोका विषय हुन् नि ?
तपाईंले निराधार कुरा लेख्नुभएको छ। जनतालाई भ्रम पारेर पार्टीमा उठेको कुरा भनेर बदनाम गर्नुभएको छ।

कसरी निराधार भयो ? जबकि प्राप्त डकुमेन्टले र केही तथ्यअनुसार तपाईंले  आफ्नो दुवै छोराको अनुपस्थितिमा जेठाका दुई छोरालाई कान्छोका छोरा बनाउन लगाउन जिल्ला प्रशासन कार्यालय बाग्लुङमा२०६७ साल माघ ५ गते आफैँ उपस्थित हुनुभएको जनाउँछ नि ?
विदेशमा जाने छोराले आफ्ना छोरालाई के के कागजात चाहिन्छ आफैँ बनाउन सक्दैनन  र ? मैले सघाउ पुराउनुपर्छ ? म उपस्थित हुन पर्छ र ? लाखौँका छोराहरु विदेश गएका छन्। सबैका आमाबाबुले खर्च हालेर पठाएका छन् र ? कागज गरेर पठाएका छन् र ?

डकुमेन्टले त त्यस्तो भन्दैन नि ?
तपाईंले पीत पत्रकारिता गरिरहनुभएको छ। त्यस्तो अरुलाई नगर्नुहोला। त्यति हो मेरो भनाइ।

प्रमाणले त्यस्तो देखाएपछि कसरी पीत पत्रकारिता भयो सर ?
(उताबाट कुनै आवाज आएन। फोन राखियो।)


‘सबै कुरा बाहिर भन्दैनौं’ : मोहनविक्रम सिंह,पार्टी महामन्त्री नेकपा मसाल
हेल्लो नमस्कार हजुर...
नमस्कार।

मोहनविक्रम सिंह बोल्नुभयो ?
हो भन्नुस्।

म ‘शुक्रवार’बाट प्रजु पन्त। चित्रबहादुर केसीबारे तपाईंको पार्टी प्रवक्ता दुर्गा पौडेलसँग कुरा गरेका थियौँ। यसबारे आएको तपाईंको विज्ञप्तिमा त देशी–विदेशी  शक्तिको षडयन्त्र भन्नुभएको रहेछ !
हजुर हो। हामीविरुद्ध देशी–विदेशी शक्ति लागेकै छन्।

आफ्नो पार्टीभित्रका नेताबारे सञ्चार माध्यममा आइसकेपछि तपाईंहरुको पार्टीभित्र  छानविन हुँदैन ?
बाग्लुङको जिल्ला प्रशासन कार्यालयले आयोग बनाएको छ रे ! त्यो आयोगको प्रतिवेदनै राम्रो आउला भन्ने हाम्रो विश्वास छ।

मैले तपाईंहरुले निकाल्नुभएको विज्ञप्ति पढेँ। त्यसमा देशी–विदेशी शक्ति लागेका छन् भन्नुभएको रहेछ, पार्टीभित्र कुनै अनुसन्धान नै नगरी कसरी निष्कर्ष आयो त ?
हामीले यो घटनालाई मात्र भनेका हैनौँ। हामीले उठाएका मुद्दामा धेरै प्रकारका शक्तिहरु लागिपरिरहेका छन्। त्यसकारणले त्यो विज्ञप्ति आएको हो। मूल राजनीति कता जाँदैछ भनेर त्यता चित्रित गरेका हौँ।

प्रायः कम्युनिस्ट पार्टीमा आफ्ना नेता र कार्यकर्तालाई केही आरोप लागे, बदमासी देखिए पार्टीमा छानविन गर्ने प्रचलन छ क्यार ! यसबारे छानविन गर्नुहुन्न ?
अहिले हामीले भन्दा पनि सरकारले नै बनाएको छ। त्यही कुरा हामीले पर्खिरहेका छौँ।

केसीले जेठा छोरा सचित्रका दुई छोराहरुलाई कान्छा छोरा विष्णुका छोरा बनाउनुभएको कुरा तीन वर्षदेखि पार्टीमा उठेको रहेछ। तपाईं, दुर्गा पौडेल र केसीले नै ढाकछोप गरेको देखियो। किन ?
वक्तव्यमा हाम्रा कुरा गएको छ। सरकारले छानविन समिति बनाएको छ। बीचमा हामीले केही बोल्नु राम्रो हुँदैन।

तपाईंको पार्टी बदनाम गर्न लागिपरेका ‘देशी–विदेशी शक्ति’ को रहेछन् भनिदिनुस् न ?
पत्रपत्रिका अनलाइनहरुमा धेरै कुराहरु आइरहेका छन्। त्यतैतर्फ भन्न खोजेको हो।

जब आफ्ना प्रमाणहरु कमजोर हुँदै जान्छन् देशी–विदेशी प्रतिक्रियावादी शक्तिले हामीलाई सकाउन लगाए भन्नुहुन्छ। यो–यो शक्तिले सकाउन लगाए भन्न सकिन्न हगि ?
हामीले त्यसलाई जड रुपमा व्याख्या गरेका हौँ।

जड रुपमा व्याख्या भन्दा पनि यो–यो शक्तिले हामीलाई सकाउन लागे भन्नु न ?
जड रुपमा भनेका हौँ, अनलाइनहरुमा जुन रुपमा आइरहेका छन्, यो खास परोक्षरुपमा आएका छैनन्। हामीले जड रुपमा नै भनेका हौँ।

मिडियाले प्रमाण भेटेर लेख्नेबित्तिक्कै देशी–विदेशी शक्ति लागे भन्न मिल्छ ?
धेरै शक्तिहरु लागिरहेका छन्। सबै तिरबाट हामीमाथि आक्रमण भइरहेको छ।

आफूमाथि प्रश्नचिह्न उठ्नेबित्तिक्कै देशी–विदेशी शक्ति लाग्यो भन्ने कि भएको के हो भनेर अनुसन्धानमा सघाउ पु-याउने ?
इतिहासदेखि नै हामीमाथि आक्रमण भइरहेको छ भनेर भनेका होैँ। अनुसन्धानमा सघाउ पुराउनकै लागि हामी केही बोल्दैनौँ।

त्यो शक्तिको नाम किन तोक्नुहुन्न ? त्यो शक्ति नै नभएर जनतालाई भ्रममा राख्न देशीविदेशी र प्रतिक्रियावादी शक्ति भन्नुभएको हो ?
वक्तव्यमा जे आइरहेको छ, त्यही हो। हामी बढी बोल्दैनौँ।

पार्टीमा तपाईंहरुले केसीजीको कुरा उठाउन किन नदिनुभएको त ?
पार्टीभित्र के–के भयो, कसो भयो, सबै हामीले बाहिर लैजाने गर्दैनौँ।

आफूहरु जनताको पार्टी भन्नुहुन्छ। तपाईंहरुको आन्तरिक विषय जनताले थाहा नपाउने त ?
पार्टीभित्र जे–जे छलफल हुन्छ त्यो–त्यो सबै कुरा बाहिर ल्याउने हामी गर्दैनौँ। भन्ने कुरा पनि भएन। अहिलेलाई यत्ति।

Leave A Comment