दसैंमा पठन : नयाँ किताबको होड

आइतबार, १९ असोज २०७६, ०१ : ०७ शुक्रवार
दसैंमा पठन : नयाँ किताबको होड

प्राध्यापक लोकराज बराल मण्डला बुक पोइन्ट जमलमा भेटिए। उनको हातमा विष्णु रिजालको ‘नेपालको कूटनीतिक अभ्यास’ र बिपी कोइरालाको उपन्यास सङग्रह साथैमा थिए। ‘दसैंका लागि हो यी पुस्तक ?,’ बराल मुसुक्क हाँसे। ‘हुन त म सधैँ पढिरहेको हुन्छु,’ बरालले भने, ‘बिपीका कतिपय कृतिहरु छुटेका थिए। यसलाई मसिनो गरी केलाउने सोचमा छु।’

पहिलाको दसैंमा नाना र खानाको बजार गर्माउँथ्यो। एकाध वर्षदेखि भने पुस्तकले पनि बजार लिन थालेको छ। कपडा र खसीबोका व्यापारीझैँ किताबका व्यापारी पनि व्यस्त हुन थालेका छन्। सामाजिक सञ्जाल दसैंमा पढ्ने पुस्तकको चाङका तस्बिरले भरिन थालेका छन्। हरेक दिनजसो नयाँ नयाँ पुस्तकको विमोचन भइरहेका छन्। प्रकाशक, लेखक र वितरक व्यस्त छन् अहिले।

घटस्थापनाको दुई दिनअघि ३ बजेतिर जमलस्थित एजुकेसन बुक हाउस पुग्दा पुस्तक किन्नेको भीड नै थियो। पसलका सञ्चालक शिवराम श्रेष्ठ व्यस्त देखिन्थे ग्राहकको मागअनुसारको पुस्तक देखाउन। उनका अनुसार केही वर्षदेखि दसैंको बेला केही मात्रामा भए पनि पुस्तक बिक्री बढेको  छ।
‘५ वर्ष भयो दसैंका बेला पुस्तक बिक्री बढ्न थालेको छ,’ श्रेष्ठले भने, ‘त्यसअघि रेगुलर पढ्नेले मात्रै पुस्तक लैजान्थे।’

एजुकेसन बुक हाउसमा छोरीका साथ पुस्तक किन्न आएका पदमराज श्रेष्ठ भेटिए। उनले आफ्ना लागि पदमजंग राणाको ‘जंगबहादुर राणाको जीवनयात्रा’ र खगराज बरालको ‘सिकाउने शैली’ पुस्तक छाने भने छोरीका लागि जेफ केन्नीको ‘डायरी अफ विम्पी किड’ किनिदिए।  शिक्षण पेसामा संलग्न पदमराज दसैंको बिदा कटाउन पुस्तक किन्ने रहेछन्।

‘लामो समय बिदा हुन्छ, पहिलो लटमा यी पुस्तक किनेको छु,’ श्रेष्ठले भने, ‘छोरीको पनि मेरो जस्तै फुर्सद भयो कि पढ्ने बानी छ अनि सँगै ल्याएको।’

अमर न्यौपानेको ‘गुलाबी उमेर’, योगेशराजको ‘रणहार’ पुस्तक छानेकी सबिना आचार्य अन्य उपन्यास पनि छान्दै थिइन्। उपन्यास पढ्न औधि रुचि लाग्ने बताउने उनी बिदा भयो कि पुस्तक किनिहाल्ने बताइन्। बैंकमा काम गर्ने उनी यो दसैंमा ४/५ वटा पुस्तक पढिसक्ने योजना रहेको बताइन्।
‘मलाई लगातार पढ्न मन पर्छ,’ सबिनाले भनिन्, ‘यो बिदामा ४/५ वटा उपन्यास सक्ने योजनामा छु।’

लामो समयदेखि पुस्तक बिक्री गर्दै आइरहेका मण्डला बुक पोइन्टका सञ्चालक माधवलाल तुलाधरले युवापुस्तामा नेपाली पुस्तक पनि लोकप्रिय हुँदै गइरहेको र चाडबाड विशेषमा पुस्तक किन्नेको संख्या पनि बढेको जनाए।

विमोचनको प्रतिस्पर्धा
दसैं अगाडि पुस्तक व्यापार निक्कै सुस्त थियो। केही प्रकाशकहरुले सामाजिक सञ्जालमा पुस्तक बिक्री घटेको गुनासो गरेपछि बिक्री घट्नुको कारणबारे बहससमेत भएको थियो। केहीले केही प्रकाशकको मात्र पुस्तक बिक्न छाडेको दाबी गरे भने अधिकांशले खदिलोपनका आधारमा भन्दा लेखक र प्रकाशकको हल्लाका आधारमा पुस्तक चर्चा बढ्दा पाठक आकर्षित हुने तर गुदी नहुँदा पाठक निरास भएको निष्कर्ष निकालेका थिए।
दसैं अगाडि पुस्तक प्रकाशनको क्रम केही सुस्त भए पनि दसैं नजिकिएसँगै यसले रफ्तार पक्डिहाल्यो।

दसैंको बजार लक्षित गरेर यो बीचमा टन्नै पुस्तक निस्किए। फाइनप्रिन्टले दसैँ लक्षित गरेर अमर न्यौपानेको ‘गुलाबी उमेर’ र सन्दुक रुइतको जीवनी बजारमा ल्यायो।

बुलबुल पब्लिकेशनले ध्रुव शर्माको ‘अन्तर्मनको आवाज’, चन्द्र कटुवालको ‘सिपाहीको डायरी’ ल्यायो भने फिनिक्सले सरदार भीमबहादुर पाण्डेको ‘त्यो बखतको नेपाल’को सम्पूर्ण खण्ड पुनः मुद्रण ग-यो।

रत्न पुस्तक भण्डारले  डा. बलराम कायस्थको ‘नयाँ मध्यकालीन भक्तपुर’, चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’, युवराज नयाँघरेको ‘तनख्खा’ निबन्ध सङ्ग्रह प्रकाशनमा ल्यायो।

बुकहिल पब्लिकेसनले चैतन्य मिश्रको ‘लोकतन्त्र र आजको माक्र्सवाद’, सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’, सरुभक्तको उपन्यास ‘प्रतिगन्ध’, रुपेश श्रेष्ठको कविता सङ्ग्रह ‘घिन्ताङ घिसी ट्वाक’ बजारमा ल्यायो।

शिखा बुक्सले महेश पौड्यालले अनुवाद गरेको ‘बिपीका डायरी’ शैलेन्द्र अधिकारीको ‘निर्वेद’, रामप्रसाद खनालको ‘ऊ त बेपत्ता भएछ’, डा. शोभाकर पराजुलीको ‘लोकतन्त्र र समाजवाद’ ल्याएको छ भने मञ्जरी प्रकाशनले डा. विश्वबन्धु थापाको गैरआख्यानात्मक कृति ‘मान्छेको मन’, कृष्णराज वर्माको ‘मधेस र मधेसी आन्दोलन’ बजारमा ल्याएको छ।

यस्तै साङ्ग्रिलाले मनोहर थापाको अंग्रेजी उपन्यास ‘द सट् डाउन’, गणेश रसिकको ‘छपक्कै मनमा बसेकाहरु’, दामोदर न्यौपानेको ‘सम्पदा लडाइँ’, डा. गोविन्द टण्डनको ‘नेपालमा गुठी व्यवस्था’, भानुप्रसाद आचार्यको ‘नेपालमा उदारवाद’ पुस्तक बजारमा ल्याएको छ। उता नेपालयले भने दसैँको मौका छोप्दै मञ्जुलको ‘सम्झनाका पाइलाहरु’, कालीप्रसाद रिजालको संस्मरणात्मक कृति ‘काँडामा हिँडेको जिन्दगी’ विमोचन गरिसकेको छ।
दसैंमा पुस्तक किन ?

बुकहिल पब्लिकेशनका सञ्चालक भूपेन्द्र खड्का दसैंमा आम्दानी पनि राम्रो हुने भएकोले पुस्तक बिक्री बढी हुने बताउँछन्।

‘राम्रा र अपेक्षा गरिएका पुस्तकहरु दसैंअघि निकालिन्छ,’ खड्काले भने, ‘सबैको आम्दानी पनि हुने र आर्थिक गतिविधि यो समयमा अन्य समयको तुलानामा भन्दा बढी हुने भएको हुँदा राम्रो बिक्री हुने अपेक्षा राखिन्छ।’
मञ्जरी प्रकाशनकी सञ्चालिका कल्पना भट्टराई यो बेला पुस्तक बिक्री राम्रो हुने बताउँछिन्।

‘जागिरेहरुको फुर्सद पनि र पैसा पनि हुने भएर हो कि पुस्तक बिक्री राम्रै हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर धेरै अपेक्षा गरिएका पुस्तकहरु दसैंको सेरोफेरोमा आउँछन्।’ 

रत्न पुस्तक भण्डारका कर्मचारी श्याम तण्डुकार भने दसैंमा खासै पुस्तक बिक्री नहुने बताउँछन्। ‘मेरो अनुभवमा त दसैंमा पुस्तक बिक्री भएजस्तो लाग्दैन,’ तण्डुकारले भने, ‘२/४ जना पढ्ने मान्छे आउँछन्, त्यति न हो ! बरु अघिपछि व्यापार राम्रो हुन्छ।’

धार्मिक, आख्यान, गैरआख्यान तथा पाठ्यक्रमका विगत ५० वर्षदेखि पुस्तक बिक्री गर्दै आइरहेका भोटाहिटीस्थित हरेक पुस्तक भण्डारका सञ्चालक जीवनकृष्ण श्रेष्ठ पुस्तक संख्या बढेको तर पाठक संख्या तुलनात्मक रुपमा नबढेको बताउँछन्।

‘यो पसल ७० वर्ष पुरानो हो,’ जीवनकृष्णले भने, ‘मै बसेको ५० वर्ष भयो। पहिले पुस्तक थोरै थिए, पढ्ने पनि थोरै थिए। अहिले पुस्तक संख्या बढेको छ, पढ्ने पुस्तक संख्या बढेअनुरुप पाठक संख्या भने बढ्न सकेको छैन।’
पुरस्कृत पुस्तकहरु तुलनात्मक रुपमा बढी बिक्ने अनुमान उनको छ। पुरस्कार वितरणको रामै्र प्रचार–प्रसार हुने भएकोले पनि अन्य पुस्तकको तुलनामा तिनको बिक्री बढी भएको उनी देख्छन्।

धार्मिक पुस्तकको बजार
चाडबाडका बेला धार्मिक पुस्तक पनि रामै्र बिक्री हुने जीवनकृष्ण बताउँछन्। माघ महिनामा स्वस्थानी व्रतकथा र दसैंका बेला चण्डीको पुस्तक आफूकहाँ बढी बिक्री हुने गरेको बताए। दसैं नजिकिएसँगै दैनिक डेढ सयदेखि दुई सय वटासम्म ‘चण्डी’ पुस्तक बिक्री उनले बताए।

न्युरोड झोँछेकी होलसेलर तारा चापागाईंले पनि दसैँका बेला चण्डी राम्रै बिक्री भएको बताइन्। अन्य कर्मकाण्डका पुस्तक भने बिक्नै छोडेका कारण बजारमा लुप्त हुन थालेको उनको अनुभव छ। उनले भनिन्, ‘पहिले–पहिले कर्मकाण्डी पुस्तक बिक्थे र पाइन्थे पनि, हिजोआज नबिक्नाले विशेष ठाउँमा बाहेक अन्यत्र पाइनै छाडेको छ।’

Leave A Comment