दसैं किनमेल : पोखरेलीको दसैं मेनु च्यांग्रा

आइतबार, १९ असोज २०७६, ०३ : १८ मनोज घर्तीमगर
दसैं किनमेल : पोखरेलीको दसैं मेनु च्यांग्रा तस्बिर : उमेश पुन

पोखराका विभिन्न ठाउँमा सार्वजनिक जग्गा प्रशस्त थिए। ती जग्गामा दसैं आउनु दुई/तीन हप्ता अघि नै चहलपहल सुरु हुन्थ्यो। त्यो चहलपहल दसैंभर मात्रै होइन, दसैं सकिएको हप्तादिनसम्म उत्तिकै देखिन्थ्यो। कारण ती सार्वजनिक जग्गामा लिङ्गे पिङ हुन्थे। कतै कतै रोटेपिङको मज्जा पनि लिन पाइने। पिङ खेल्न मरिहत्ते गर्ने केटाकेटी, युवायुवती, प्रौढदेखि पाका उमेरका मान्छेले दसैं आएको संकेत दिन्थे।

समय बदलिएको छ। अहिले पोखरामा दसैं आएको संकेत गर्ने भनेको च्यांग्राले हो। मुस्ताङबाट म्याग्दी, पर्वत हुँदै पोखराको फेदी, घट्टेखोला, हेम्जा, याम्दीमा जब  भेडा च्यांग्राको लस्कर देखिन्छ अनि दसैं बसाउँछ।

नयाँ लुगा, अनेकन मिठा परिकार, विशेष गरी मासु एकसाथ आउँदा दसैं आउँछ। धेरै नेपालीको घरको दसैं मेनु यही हो। तर, अरु ठाउँको भन्दा पोखरेलीको दसैं मेनुको फरक भनेकै च्यांग्रा हो। दसैंको बेला च्यांग्राको मासु नपाक्ने लगभग पोखरेलीको घरै हुँदैन। हिमाली जडिबुटी खाएर हुर्किएका च्यांग्राको स्वाद लिने मौका भनेकै दसैं हो। पोखरेलीले धेरै पहिलेदेखि नै च्यांग्राको स्वाद लिन थालेका हुन्। पोखरेलीले दसैंमा च्यांग्रा ढाल्नु शानसौकतको विषय मानिन्छ। ‘बोकाको मासु भए पनि वर्षको एकपल्ट जति परे पनि च्यांग्रा खाने पोखरेली चाहना हुन्छ,’ समावेशी टोल विकास संस्थाका अध्यक्ष राजु गिरी भन्छन्, ‘विशेष गरी हिमाली जडिबुटी खाएको भनेर धेरैले च्यांग्राकै मासु खान मरिहत्ते गर्छन्।’

मुस्ताङमा पालेका च्यांग्राले मात्रै पोखरेली बजारको माग धान्दैन। सीमावर्ती तिब्बत, डोल्पा, हुम्ला र मुगुबाट मुस्ताङ ल्याइन्छन्। जोमसोमको बाटो हुँदै विभिन्न ठाउँमा पु-याइन्छ। यस वर्ष दसैंका लागि झन्डै ३० हजार भेडा–च्यांग्रा मुस्ताङबाट बाहिरिएका छन्। तीमध्ये आधा जति पोखरामै बिक्री हुन्छन्। बाँकी म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, काठमाडौं र रुपन्देहीसम्म पुग्छन्। दार्चुलाबाट पनि पोखरामा च्यांग्रा भित्रिन्छन्। व्यापारीले ट्रकमा ढुवानी गरेर च्यांग्रा ल्याउँछन्। हेम्जाको याम्दी, बगरको टुँडिखेलमा राखेर बेच्छन्। यसपटक च्यांग्राको मूल्य पोखरामा  २५ देखि ३२ हजारसम्म पुगेको छ। ‘दसैंमा च्यांग्राको मासु नखाए छिमेकीले समेत खिसी गर्छन्। छरछिमेकी मिलेरै भए पनि च्यांग्राको मासु खाने भन्ने छ’ पोखरा २१ का केशव लामिछाने भन्छन्, ‘पोखरामा दशैंमा च्यांग्रा ढाल्नु शानसौकत जस्तै भएको छ।’

पोखरेलीले च्यांग्राको स्वाद लिन थालेको झन्डै तीन दशक अघिदेखि हो। उतिबेला मुस्ताङका किसानले नै च्यांग्रा लिएर पोखरा झर्ने गर्थे। उनीहरुले बाटोबाटै च्यांग्रा बेच्दै पोखरासम्म पुग्थे। मुस्ताङबाट पोखरासम्म च्यांग्रा ल्याइपु-याउँदा थोरै संख्यामा मात्रै पुग्थे। यहाँ बिक्री वितरणमा खासै समस्या हुन्थेन। अलि पछि मुस्ताङका व्यापारीले किसानबाट खरिदेर पोखरा ल्याउन थाले। अहिले भने पोखरा, काठमाडौं र बुटवललगायत सहरबाट व्यापारी मुस्ताङै पुग्न थालेपछि स्थानीय च्यांग्रा पालक पोखरासम्म पुग्ने कष्ट गर्दैनन्। ‘मुस्ताङी कृषकले उतैबाट बाटोमै च्यांग्रा बेच्दै पोखरा झर्थे। पैसा नहुनेसँग फर्कँदा लिने गर्थे त्यस्तो जमाना छैन अहिले’ हेम्जाका किशोर कुँवरजंग भन्छन्, ‘अहिले यतैका व्यापारीहरु च्यांग्रा कारोबारमा लागेपछि यसको भाउ पनि बढेको छ। पैसा नभएकाले तत्काल च्यांग्रा किन्न पनि सक्दैन। विश्वास हराइसक्यो।’

पोखराको बगरस्थित टुँडिखेलमा च्यांग्रा मेला लाग्ने। त्यहाँ ठेक्का लिनेहरुले हेम्जाबाटै हानथाप गर्ने र विभिन्न ठाउँमा करबापत अनेकन रकम तिनुपर्ने झन्झटले मुस्ताङका कृषक च्यांग्रा बेच्न पोखरा आउने क्रममा कमी आएको हो। त्योभन्दा बढी युवाहरुको समूहले अनेकन बहानामा च्यांग्रा व्यापारीलाई दुःख दिने, जबरजस्ती खोसेर लगिदिने, अनाहकमा व्यापारीसँग रकम असुली गरेपछि मुस्ताङीहरु च्यांग्रा बेच्न आउन छाडेका हुन्। मुस्ताङकै व्यापारी आउ छाडेपछि पोखरामा च्यांग्राको मूल्य ह्वात्तै बढेको सुनाउँछिन् पोखरा १० की सपना गुरुङ। ‘अघिल्लो वर्ष २५ हजारमा किनेको च्यांग्रा यसपटक ३० हजार प-यो,’ उनी भन्छिन्, ‘जति परे पनि वर्षमा एक पटक च्याङंग्रा ढाल्नैपर्छ। नत्र छोराछोरीले मान्दैनन्। छिमेकीले समेत खिसी गर्छन्।’

मुस्ताङी व्यापारी पोखरा नआएपछि पोखराबाटै व्यापारी मुस्ताङ उक्लिन थाले। उनीहरु उक्लिएसँगै च्यांग्राको भाउ पनि ह्वात्तै बढेको छ। व्यापारी बढेर प्रतिस्पर्धा बढेको सुनाउँछन् मुस्ताङका च्यांग्रा व्यापारी कोन्जोक गुरुङ। ‘पहिले मुस्ताङी व्यापारीले पोखरामा च्यांग्रा ल्याएपछि जसरी पनि बेचेर फर्किनुपर्ने भएकाले सस्तो पथ्र्यो’ कोन्जोक भन्छन्, ‘अहिले यतैका व्यापारी जान्छन्। उनीहरुले जसोतसो बेचिहाल्छन्। नभए पूर्णिमासम्म बिक्री गर्छन्। त्यही भएर महँगो भएको हो। पहिलेजस्तो व्यापार नभएर मैले आजभोलि च्यांग्रा ल्याउन छाडिसकेँ।’

Leave A Comment