विशिष्टकाे दसैं टिका

मङ्गलबार, २१ असोज २०७६, ०४ : ३६ शुक्रवार
विशिष्टकाे दसैं टिका तस्बिरः रासस

राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको अवसरमा आज बिहान शुभसाइतमा आमा मिथिला पाण्डेबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेकी छिन्। राष्ट्रपति भण्डारीले बिहान १० बजेर ३५ मिनेटको शुभसाइतमा वैदिक विधिपूर्वक श्री नवदुर्गा भवानीको टीका ग्रहण गरेकी हुन्।

राष्ट्रपति भवन शीतल निवासको कोशी हलमा आयोजित कार्यक्रममा उनले हनुमानढोकाबाट ल्याइएको देवीको प्रसादसहित हनुमानढोकाका मूल पूजारी देवराज अर्याल र राष्ट्रपति कार्यालयका पुरोहित खेमचन्द्र ढकालको हातबाट टीका–प्रसाद, तिलक, जमरा र रक्षासूत्र ग्रहण गरेकी हुन्।

राष्ट्रियगान गायन पछि शुरु भएको सो कार्यक्रममा पुरोहितद्वारा स्वस्तिवाचनका साथै मङ्गलधून बजाइएको थियो। राष्ट्रपतिले आफ्ना काकाकाकीबाट समेत टीका ग्रहण गरेकी हुन् भने देवर कैलाश भण्डारी, छोरी जुवाइँहरु, परिवारजन, स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीलाई टीका लगाइदिएकी थिइन्।

यसैगरि राष्ट्रपति भण्डारीले बडा दशैँका अवसरमा आज शीतल निवासमा प्रधानमन्त्री केपी शर्मा ओली, उनकी धर्मपत्नी राधिका शाक्यलगायत विशिष्ट महानुभावलाई टीका लगाइ दिएकी थिइन्। भण्डारीले प्रधानन्यायाशीध चेलेन्द्रशमशेर राणा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, उच्च अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललगायतलाई टीका लगाइ दिएकी थिइन्।
राष्ट्रपति भण्डारीले सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम छ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट दसैँको टीका ग्रहण गरेका छन्। उनले आज उपराष्ट्रपति भवन, हरितगृहमा आफ्ना ८६ वर्षीय बुवा रामसुर पुनबाट दसैँको टीका ग्रहण गरेका हुन्। उनले आफ्ना सचिवालय सदस्य, सुरक्षाकर्मी र केही आफन्तलाई टीका लगाइदिएका थिए।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैँका अवसरमा आज प्रधानमन्त्री निवास बालुवाटारमा पिता मोहनप्रसाद ओलीबाट टीका लगाएका छन्। प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्य, परिवारजन, उपस्थित उपप्रधानमन्त्री, मन्त्रीगण तथा नेता कार्यकर्ता, कर्मचारी र सुरक्षाकर्मीलाई पनि टीका लगाइदिएका थिए। प्रधानमन्त्री ओलीले आज साँझ कार्यकर्ता र सर्वसाधरणलाई पनि टीका लगाउने कार्यक्रम रहेको छ।














Leave A Comment