फ्रान्सेली फोटोग्राफरको नेपाल चिनाउने फोटो

सोमबार, २७ असोज २०७६, ०१ : २७ शुक्रवार
फ्रान्सेली फोटोग्राफरको नेपाल चिनाउने फोटो

फ्रान्सेली फोटोग्राफर मिचेल मिलेले नेपाल बसाईका क्रममा खिचेका फोटोहरू पाटन संग्रहालयको ग्यालरीमा प्रदर्शन भइरहेका छन्। गत असोज १० देखि सुरू भएको ‘फिप्टिन इयर्स इन नेपाल’ नामक प्रदर्शनीमा उनले विगत १५ वर्षमा खिचेका फोटोहरू समावेश भएका छन्।

६७ वर्षीय मिसेल मेले सन् २००५ देखि २०१९ सम्म नेपालका विभिन्न स्थानमा पुगेर खिचेका एक सय ८ फोटो प्रदर्शनीमा राखिएको छ। फोटोमार्फत् नेपालको प्रचार गरिरहेका उनले हिमाल, पहाड, तराईसम्मका जीवनशैली झल्काउने फोटोहरु प्रदर्शनीमा छन्। विगत १५ वर्षमा नेपालको विभिन्न सांस्कृतिक र जनजीविकालाई नियालेर उनले फोटो खिचेका थिए। उनले १५ वर्षको अवधिमा ३० हजार फोटोहरु खिचेका थिए। १५ वर्षको अवधिमा उनी फोटो खिच्न कैयौं पटक नेपाल आउनेजाने क्रम जारी छ। ‘फोटोमार्फत् नेपालको प्रचार गरिरहेको छु। मैले खिचेका फोटोहरू हेर्न हरेक दिनजसो पर्यटक आइरहेका छन्,’ उनी भन्छन्, ‘ नेपालमा पाइने विविधताको प्रतिनिधित्व गरेका फोटोहरू पर्यटकले रुचाएका छन्।’

नेपाली रहनसहनमा रमाएर उनले खिचेका फोटाहरूको प्रदर्शनी योङ पिकासो फाइन आर्ट स्कुलले गरेको हो। उनले काठमाडौं उपत्यकाको जातीय पहिचान झल्काउने फोटोदेखि मनाङ र मुस्ताङुसम्मका जीवनशैली फोटोमा उतारेका छन्। त्यस्तै मन्दिर आसपासको रहनसहन, साँघुरा गल्लीदेखि महाभारत पर्वतको फोटो प्रदर्शनीमा समेटेको छ।

नेपालको कला, संस्कृति तथा पर्यटन क्षेत्रको प्रचार गर्न भ्रमण वर्ष २०२० लाई लक्षित गरेर प्रदर्शनीको आयोजना गरिएको उनले बताए। नेपालको हिमाल चढ्ने रहर लिएर विसं। २०६२ मा नेपाल आएका उनलाई नेपाल रमणीय दृश्यले लोभ्याएको थियो। फ्रान्स रहेका प्राय हिमालहरू चढेका उनले नेपालमा समेत केही हिमाल चढे। उनलाई नेपालको जीवनशैली, संस्कृति, हिमाल र पहाडको रमणीय दृश्यले लोभ्याएको थियो।

उनले खिचेका ३० हजार वटा फोटामध्येबाट उत्कृष्ट १०८ फोटा छनोट गर्दा भने गाह्रो महसुस गरेका थिए। ‘मैले खिचेका ३० हजार फोटोहरु प्रदर्शनीमा राख्नु सम्भव थिएन। यसमध्येबाट १०८ फोटोहरु छान्न मलाई झण्डै चार महिना लाग्यो,’ उनले भने, ‘मैले खिचेका केही फोटोहरू यस्ता छन् जो अहिलेसम्म कसैका क्यामेरामा कैद भएका छैनन्।’

उनका अनुसार तुलनात्मक रुपमा नेपालका हिमाल हेर्न आउने पर्यटकको संख्या बढेको छ। ‘नेपालमा विदेशी पर्यटक आउनेक्रम बढिरहेको छ। यो संख्या बढाउन नेपालले आफ्नो सुन्दर पक्षको जर्गेना गरिरहनु जरुरी रहेको छ,’ उनले भने। उनले प्रदर्शनीमा राखेका फोटोहरुलाई समेटेर किताबसमेत तयार गरेका छन्। उनका अनुसार सो प्रदर्शनी नेपाललगत्तै फ्रान्समा पनि प्रदर्शन हुनेछ।

Leave A Comment