इलियुदको रेकर्ड

बिहिबार, ३० असोज २०७६, १२ : ५७ शुक्रवार
इलियुदको रेकर्ड

केन्याका धावक इलियुद किपचोगेले २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गरेर इतिहास कायम गरेका छन्। अस्ट्रियाको भियाना पार्कमा भएको म्याराथन किपचोगेले एक घण्टा ५९ मिनेट ४०.२ सेकेन्डमा पूरा गर्दै इतिहास कायम गरे।

ओलम्पिक च्याम्पियनसमेत रहेका किपचोगेले म्याराथनकै उत्कृष्ट समय निकाले पनि यो प्रतियोगिता ओपन प्रतिस्पर्धा नभएकाले म्याराथनको औपचारिक रेकर्डमा भने समावेश हुने छैन।

म्याराथनमा अफिसियल विश्व रेकर्डमा पनि किपचोगेकै नाम रहेको छ। गत वर्ष सेप्टेम्बरमा सम्पन्न बर्लिन म्याराथनमा किपचोगेले २ घण्टा १ मिनेट ३९ सेकेन्डको कीर्तिमान राखेका छन्। शनिबार यो सफलता प्राप्त गर्न किपचोगेले ४१ पेसमेकरको साथ लिएका थिए। उनकै देशका धावकले पनि उत्कृष्ट समय निकाल्न किपचोगेलाई साथ दिए।

दुई वर्षअघि इटालीमा किपचोगेको उत्कृष्ट समय निकाल्ने प्रयास असफल भएको थियो। तथापि शनिबार प्रतिकिलोमिटर २.५० मिनेटमा पार गरेपछि किपचोगेले उत्कृष्ट समयमा निकाल्न सफल भए।

म्याराथनको मध्य भागसम्म आइपुग्दा उनको समय ११ सेकेन्डले राम्रो देखिएपछि केन्याका समर्थकले राष्ट्रिय झन्डा फहराउँदै ताली बजाएर खुसी व्यक्त गरेका थिए। अन्ततः त्यो लक्ष्य पूरा गरेसँगै उनले आफ्नी पत्नीसँग अंकमाल गर्दै खुसी साटेका थिए।

Leave A Comment