पारसकालको पुनरागमन

सोमबार, ०४ कार्तिक २०७६, ०१ : ०१ प्रजु पन्त
पारसकालको पुनरागमन

महिला सांसदज्युहरू,
नमस्कार

धेरैलाई लाग्ला किन महिला सांसदको नाममा मात्र यो चिठी लेखियो ? के पुरुष सांसदले महिलाको मुद्दा उठाउनु हुन्न र ?

त्यसो हैन। कुन मुद्दामा कसले कसरी कुरा उठाएको छ भन्ने जानकार छु। महिलाको हरेक मुद्दा संवेदनशील रुपमा उठाउने पुरुष सांसद पनि छन् अनि महिला सांसद भएर भालेवादी सोचाइ राख्नेहरूबारे पनि जानकार छु। यो पत्र तिनलाई लेखिएको हो जो महिला सांसद जो हिजोका दिनमा महिला अधिकार र समानताबारे ठूला कुरा गर्थे।

अब विषय प्रवेश गरौँ,
सबैलाई थाहै छ, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि चुनाव भयो।  लोकप्रिय मत ल्याएर प्रतिनिधि सभामा निर्वाचित कृष्णबहादुर महरा सहजताका साथ प्रतिनिधि सभाको सभामुख भए। आर्थिक रुपमा विवादमा नआएका हैनन् उनी। चुनावताका चिनियासँग ५० करोड मागेको टेप सार्वजनिक भएकै हो। लडाकुको शिविरका लागि लिएको रकमको अनियमिततामा परेकै हुन्।

आम नागरिकलाई उनका ती काण्डको प्रभाव परेन। जनताले पत्याए र उनी सांसद हुँदै सभामुख भए। तर उनको काण्डकारी काम भने रोकिएन। सभामुख जस्तो सम्मानित पदमा आसिन रहेकै बेला उनी बलात्कारको गम्भीर अपराधको आरोपी बने। आरोपी उनी सभामुख रहेको संसद सचिवालयको कर्मचारी मात्रै नभई उनको परिवारसँग समेत निकट सम्बन्ध रहेको महिला रहेको खुलिसक्यो।

घरबाट निस्केकै छैन, सरुवा भएको रिस पोखेको जस्तो कुतर्क काम नलागेपछि सभामुख पदबाट राजीनामा त दिए, पक्राउ पनि परे। जसले महराका कर्तुत सार्वजनिक गरेकी छिन् अहिले उनै महिला ‘उनी त मेरा बा जस्ता, मैले भनेकै हैन’ जस्ता अपत्यारिला तर्क गरिरहेकी छिन्। दृश्य प्रष्ट छ, यस्तो भन्ने मुख उनको भए पनि बोलीमा कतै न कतै महराको प्रभाव छ नै। प्रहरीमा दिएको जाहेरीबाट पनि उनमा बढेको दवाव देखिन्छ नै।

उनको शरीरभरि रहेका कुटाइका डाम, बयान बदलिनु अगाडि उनले सार्वजनिक गरेका प्रमाणले नै उनको बदलिएको दाबी गलत हो भन्ने प्रष्ट्याउँछ। हुँदाहुँदा उनी र श्रीमान्बीच छोडपत्रको सहमति भएको कागजसमेत सार्वजनिक भइसक्यो। यी सबै घटनाक्रममा महराको शक्तिको प्रयोग भएको संकेतह޽रू कतै लुकेका छैनन्।

महिला सांसदज्यूहरू,
रोशनीले भनेअनुसार उनले घटनालगत्तै उनले तीन महिला नेतालाई घटनाबारे जानकारी गराएकी थिइन्, नेपाली कांग्रेसकी सांसद उमा रेग्मी, नेकपाकी पूर्वसभामुख ओनसरी घर्ती मगर र पूर्वमन्त्री पम्फा भुसाल।

कांग्रेस नेतृले त फोन आएको स्विकारी सकिन्। तर अन्य २ जनासँग सम्पर्क भएकै छैन भनेर टारिरहेका छन्। पूर्व सभामुख ओनसरी घर्तीले त उल्टो ‘ती केटीले पहिले पनि त्यस्तै भनेको र मानसिक रोगी भएको तर्क गरेर विषयान्तरको प्रयास गरिरहेकी छिन्।

घर्ती हुन् या भुसाल यी दुवै महिला अधिकारबारे प्रखर मुद्दा उठाएको प्रभावले नै अहिले त्यो स्थानमा पुगेका हुन्। तर अहिले एक महिला चौतर्फी प्रभाव, दबाबमा परेर के बोल्ने, के नबोल्ने अन्योल र तनावमा रहँदा उनीहरूबाट आएका अभिव्यक्तिले उनीहरूको बोली र व्यवहारबीचको विभेद छर्लङ बनाएको छ।

निर्वाचित जनप्रतिनिधि जो हिजो महिला मुक्तिको नारा उराल्दै बन्दुक बोकेर सामन्ती सत्ता ढाल्न हिँडेका थिए उनको यस्तो अभिव्यक्ति बडो दुःखका साथ भन्दैछु, हामीले कस्तो तुच्छ सोच भएकालाई निर्वाचित गरेछौँ ?

सत्ताधारी नेकपा, प्रमुख प्रतिपक्ष कांग्रेस मात्र हैन अन्य दलमा पनि महिला सांसदको संख्या राम्रै छ। तीन तहकै सरकारमा रहेका महिला प्रतिनिधि हेर्ने हो भने एक तिहाई पुग्छ। भुसाल र घर्ती मात्रै हैन यो केसमा ती सबै मौन छन्। दलीय प्रभावमा महिला मुद्दामा लागेको बुझो दुखदायी हो। मुक्तिको नारा लगाउनेहरू आफैँ दास बनेको कस्तो नमिठो दृश्य।

हाम्रो कानुनले अनौपचारिक सम्बन्धबारे मात्रै औपचारिक सम्बन्धबारे समेत बोलेको छ। नेपालको कानुनअनुसार विवाहपश्चात् असहमतिमा हुने यौन सम्बन्धलाई समेत बलात्कार मान्छ।

तर महरा ती पीडित महिलाबीच पहिल्यैदेखि सम्बन्ध रहेको र अहिले कुरा नमिलेर बाहिर आएको तर्क गरेर गम्भीर घटनालाई सामान्यीकरणको अभ्यास भइरहेको छ। यदि यी दुवैबीच पहिल्यैदेखि सम्बन्ध रहे पनि अहिले जुन प्रकृतिको घटना भएको सार्वजनिक भएको छ त्यो दण्डनीय नै हो।
हैन र सांसद महोदय ?
पूर्व आइजीपी अच्युतकृष्ण खरेलसँगको कुराकानीमा कसरी पारस शाहको सवारीले निधन भएका गायक प्रविण गुरुङको हत्यामा भक्तपुरका सोझा नेवार फसाइएका थिए भन्ने खुलेको थियो। अहिले त्यही कुरा दिमागमा घुमिरहेको छ।

हिजो राजतन्त्र भएको बेलामा भएको त्यो घटना सत्ता प्रभावकै बलमा दबाइएको सत्य लुकेको छैन अझै। राजतन्त्र ढल्यो। तर सत्ता र शक्तिको उपयोग गरेर गम्भीर अपराधमा संलग्नलाई उन्मुक्ति दिने र पीडितलाई नै उल्टो दोषी देखाउने अभ्यास संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि जारी रहेको महरा प्रकरणले देखायो।

महिला सांसदज्यूहरू,
कुन प्रकारको अपराध भनेर हेर्न छाडेर कहिलेसम्म आफ्नो पार्टीको संलग्न कि अर्काको हेरेर सोहीअनुसार व्यवहार गरिरहने ?

दलीय संलग्नताको आधारमा कोही निर्दोष हुने, केही दोषी हुने सामन्ती कानुनी व्यवस्था कहिलेसम्म भोगिरहनुपर्ने ? पीडकको प्रभावका कारण कहिलेसम्म पीडितले बयान फेरिरहनुपर्ने ?

Leave A Comment