पर्वमा सताउने रोग

मङ्गलबार, ०५ कार्तिक २०७६, १२ : ५१ शुक्रवार
पर्वमा सताउने रोग

गोपाल ढकाल,मनोविद्

मौसम परिवर्तन भए जसरी मन छिनछिनमा परिवर्तन हुन्छ। व्यक्तिको मनलाई हावापानी, भुगोल, ग्रहको अवस्थाजस्ता कारणले प्रभाव पार्छ।

चाडपर्व, धर्म, संस्कृति राजनैतिक अवस्थाजस्ता कारणले व्यक्तिको मनलाई प्रभाव पारेको हुन्छ। कतिपय यस्ता किसिमका मानसिक समस्या हुन्छन्, जसलाई चाडपर्वले प्रभाव पारेको हुन्छ। चाडपर्वमा बढी सताउने मानसिक समस्या हुन्छन्।

यस्तै एउटा मानसिक समस्या हो, ‘डिसोसिएटिब डिसअर्डर’। यो कुनै पनि किसिमको मानसिक तनावका कारण व्यक्तिमा हुने मानसिक समस्या हो। यो समस्या मेनियाजस्तो कडा किसिमको मानसिक समस्या भने हैन। यस समस्यालाई ‘कन्भर्जन’ जस्तो नामले समेत चिनिन्छ।

यसरी थाहा पाउन सकिन्छ
लक्षणका आधारमा यो समस्या खुट्याउन सकिन्छ। ‘कन्भर्जन ’ वा ‘डिसोसिएटिब डिसअर्डर’ जस्तो मानसिक समस्यामा परेका व्यक्तिमा देवी–देवता, धामी उत्रिएजस्तो लक्षण देखिन्छ। यस्तो मानसिक समस्यालाई पहिले–पहिले हिस्टेरिया भनिन्थ्यो। 

‘डिसोसिएटिब डिसअर्डर’ मानसिक समस्या भएको व्यक्तिले  धामी बसेको जस्तै गरी काप्ने तथा बक्ने, काँचो वायु तथा इष्टदेवी हुँ भन्दै मृत्यु भएको व्यक्तिको जस्तै आवाज निकाली बक्ने (बोल्ने) जस्तो व्यवहार देखाउँछन्। यस्तो मानसिक समस्यामा परेको व्यक्तिले लामो–लामो श्वास लिने, बेहोस हुने, आगोले पोल्दासमेत थाहा नपाउने लक्षण देखाउँछन्। ‘कन्भर्जन’को अवस्थामा पुग्दा नदुख्ने भएकाले धामी उफ्रँदै आगोमा टेक्न सक्छन्। यस्तो अवस्थामा धामी कन्भर्जनको अवस्थामा पुग्छन्। तर पटक–पटक यस्तै लक्षण दोहो¥याएको अवस्था भने ‘कन्भर्जन डिसअर्डर’ को अवस्था हो। धामी काप्ने दुईवटा कारण हुन्छन्, एक त अभ्यासले काप्न सक्छन्, भने अर्को यस्तो मानसिक समस्याका कारण समस्यामा परेको व्यक्ति सामाजिक व्याख्याले गर्दा व्यक्ति धामीको रुपमा पुग्न सक्छ।

‘डिसोसिएटिब डिसअर्डर’को समस्या भएका व्यक्तिले स्मृतिमा गडबडी हुने, भविष्य वाणी गर्नेजस्ता लक्षण देखाउँछन्। वास्तविकरुपमा नभए पनि मुटु तथा छाति पोलेको अनुभूति गर्छन्। कतिपय समस्यामा परेका व्यक्तिले त आफूलाई आफैँ बोक्सी हुँ भन्नेजस्ता व्यवहार देखाउँछन्।

यस्तो मानसिक समस्या भएको अवस्थामा बोलि नै नआउने, हातखुट्टा तथा शरीर नचल्ने, कतिपय व्यक्तिलाई बढी हाइ आउने, रुने, आफुले आफैँलाई चिथोर्नेजस्ता लक्षण देखिन्छ।

‘डिसोसिएटिब डिसअर्डर’जस्तो मानसिक समस्यामा परेका व्यक्तिले यस्ता लक्षण तथा व्यवहार देखाएको आधारमा परिवार तथा समाजले आ–आफ्नै किसिमले व्याख्या गरेको पाइन्छ। समाजमा यस्ता मानसिक समस्यामा परेका व्यक्तिलाई कसैले माता उत्रिएको रुपमा लिन्छन् त कसैले धामी। समस्यामा परेका व्यक्तिले मृतकको जस्तै स्वर निकालेर बोल्दा मृतकको आत्मा भड्किएको ठान्ने गरेको पाइन्छ। मृतकसँग घनिष्ठ सम्बन्ध भएको तथा स्वर सुनेको अवस्थामा मात्रै मानसिक समस्यामा परेको व्यक्तिले हुबहु आवज निकाल्न सक्छ।

महिलामा बढी समस्या
पहिले–पहिले ‘डिसोसिएटिब डिसअर्डर’जस्तो मानसिक समस्यालाई यौन चाहना पूरा नहुँदा विशेषगरी महिलालाई हुने समस्याका रुपमा लिइन्थ्यो। वास्तविक रुपमा यो धारणा गलत हो। यो समस्या पुरुष–महिला दुवैलाई हुनसक्छ। गौण रुपमा यौन समस्याको कारण पनि यो समस्या नहोला भन्न सकिन्न। तर पुरुषको तुलनामा दुई देखि १० गुणा बढी यस्तो समस्या महिलामा हुन्छ। महिलालाई नै बढी ‘डिसोसिएटिब डिसअर्डर’जस्तो मानसिक समस्याले सताउनुको कारण महिलाप्रति हुने सामाजिक तथा मनोवैज्ञानिक व्यवहार, कारक हो।

पुरुषले आफ्नो मनको कुण्ठा तथा तनाव तुरुन्तै र सजिलै अन्य व्यक्तिसँग व्यक्त गर्न सक्छन्। तनाव व्यवस्थापन गर्न सक्छन्। महिलाले भने पारिवारिक, सामाजिक, साँस्कृतिक तथा धार्मिक कारणले तुरुन्तै सहज रुपमा आफ्नो तनाव व्यक्त गर्न मुस्किल पर्छ। जसले गर्दा पुरुषको तुलनाम महिलालाई यस्तो मानसिक समस्याले बढी सताउँछ। पुरुषको तुलनामा महिलालाई कुनै पनि घटनाले बढी प्रभाव पार्ने भएकाले महिलामा चाँडै तनाव उत्पन्न हुन्छ। जसले मानसिक समस्याको जोखिम हुन्छ।

विशेषगरी गाउँघरमा बसोबास गर्ने महिलामा यस्तो मानसिक समस्या बढी देखिनुको कारण उनीहरुको कुण्ठा अभिव्यक्त गर्ने क्षमता नहुनु हो। समस्याको व्यवस्थापन गर्न नजान्ने, अत्मविश्वास कमजोर हुनेजस्ता कारणले ‘डिसोसिएटिब डिसअर्डर’ समस्याको जोखिम बढी हुन्छ।

नेपाली समाजको तुलनामा विशेषगरी विकसित मुलुकका महिलामा यो समस्या कम भएको पाइन्छ। कारण, उनीहरुले सजिलै मनको कुण्ठा व्यक्त गर्न सक्छन्।

यो मानसिक समस्या विशेषगरी १२ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा देखा पर्छ। यो तनावपूर्ण उमेर भएकाले यहि उमेर समूहमा बढी समस्या देखिन्छ।

चाडपर्वमै किन बढी ?
विशेषगरी चाडपर्वमा ‘डिसोसिएटिब डिसअर्डर’ जस्तो मानसिक समस्याले व्यक्तिलाई बढी सताउँछ। चाडपर्व सामाजिक तथा साँस्कृतिक मात्रै हैन धार्मिकतासँगसमेत जोडिन्छ। चाडपर्व देवी–देवताको पूजा–पाठ, व्रत, अलौकिक शक्तिलगायतसँग जोडिन्छ। विशेषगरी महिलामा धार्मिक अन्धविश्वास, चोखोनितो,  रजश्वला भएको अवस्थामा जथाभावी छुँदा देवी–देवता रिसाउलान् भन्ने विषयले डर, चिन्ता पैदा गर्छ। यस्तो तनावका कारण चाडपर्वमा महिलामा बढी काप्ने, डराउने, धामी बस्ने, देवता हुँ भन्नेजस्ता ‘डिसोसिएटिब डिसअर्डर’का लक्षण देखिन्छ।

चाडपर्वको समयमा आफन्तसँग भेटघाट हुन्छ। यस्तो मानसिक समस्यामा परेका व्यक्तिले आफूलाई माया गर्ने व्यक्ति चाडपर्वको समयमा आफ्नो अगाडि देख्ने भएकाले चाडपर्वमा बढी लक्षण देखिन्छ। आफूलाई माया तथा सहयोग गर्ने व्यक्ति अगाडि भएको अवस्थामा  स्वतस्फुर्त रुपमा समस्याका लक्षण देखिन्छ। आफन्त भएको समयमै काप्नेलगायतका लक्षण देखाउँछु भनेरै समस्यामा परेका व्यक्ति देखाएको हुन्न। चाडपर्वमा आफूलाई मन परेको व्यक्तिसँग भेट हुन नपाएको अवस्थामा समेत समस्या हुन्छ। आफन्तले एक्लै नछोडोस् भन्ने सोच्दासमेत यस्तो समस्या हुन सक्छ।

गुरुका अगाडिसमेत गुरुले मद्दत गर्छ भन्ने हेतुले समस्यामा परेको व्यक्ति स्वतस्फुर्त रुपमा काप्छ। धामी तथा गुरुका अगाडिसमेत व्यक्ति कापेको अवस्थामा समस्यामा परेका व्यक्तिलाई समाजले धामीका रुपमा लिने गरेको पाइन्छ। धामीका रुपमा समाजले व्याख्या गर्दा यस्तो मानसिक समस्यामा परेका व्यक्ति बिस्तारै आफूलाई धामीकै रुपमा समेत प्रस्तुत गर्न थाल्छन्। त्यसैलाई व्यावसायिकता बताउँछन्। एक्लै भएको अवस्थामा भने यस्तो समस्याको लक्षण देखिँदैन। त्यसैले ‘डिसोसिएटिब डिसअर्डर’ मानसिक समस्यालाई ध्यान आकर्षित गर्ने समस्यासमेत भनिन्छ।

उपचारपछि ठिक
‘डिसोसिएटिब डिसअर्डर’ सामान्य किसिमको मानसिक समस्या भए पनि बेलैमा उपचार नगरेको अवस्थामा समस्या बढेर डिप्रेसन, नैरास्यता, डर, चिन्ता, आत्मविश्वासको कमीजस्ता समस्या उत्पन्न भई दैनिक जीवनमा समस्या उत्पन्न हुन्छ।

लक्षणको आधारमा ‘डिसोसिएटिब डिसअर्डर’ छुट्याएर उपचार विधि अपनाउन सकिन्छ। ‘डिसोसिएटिब डिसअर्डर’जस्तो मानसिक समस्यामा लक्षण क्षणिक रुपमा केही समय देखिन्छ। यो समस्या भएका व्यक्तिमा सामान्यतः समस्याको लक्षण ह्वात्तै बढ्ने र तुरुन्तै कम हुन्छ। कतिपय व्यक्तिलाई भने १/२ दिन समेत लक्षण देखिन सक्छ। लक्षण आफैँ हराउन सक्छन्। लक्षण हराएपछि भने व्यक्ति सामान्य अवस्थामा फर्कन्छ। फुर्ती हुन्छ। शरीर हलुका भएको अनुभूति गर्छ। निदाएको अवस्थामा भने यस्ता लक्षण देखिँदैनन्।

‘डिसोसिएटिब डिसअर्डर’मा तनावको कारण पत्ता लगाई तनाव व्यवस्थापनका उपाय अपनाउनु पर्छ। यो समस्या मनोपरामर्श उपचार विधिबाट ठिक हुने समस्या हो। औषधि सेवन गर्नुपर्ने अवस्था आउँदैन। समस्यामा परेको व्यक्तिको तनावको कारण पत्ता लगाएर कुण्ठा पोख्ने अवसर दिने, कुरा सुन्ने, समस्याको हल गर्न मद्दत गर्नाले तनाव व्यवस्थापन गरी समस्या समाधान गर्न सकिन्छ।
प्रस्तुति : उपेन्द्र खड्का

Leave A Comment