महिलाले व्यायाम गर्न नहुने तीन अवस्था

मङ्गलबार, ०५ कार्तिक २०७६, ०१ : ०३ शुक्रवार
महिलाले व्यायाम गर्न नहुने तीन अवस्था

डा. डीबी सुनुवार
अध्यक्षः होलिस्टिक ग्रुप अफ कम्पनी

महिलाका लागि व्यायाम शारीरिक तथा मानसिक स्वस्थ मात्रै हैन सौन्दर्यतासँग पनि जोडिएको हुन्छ। नियमित व्यायाम गर्नाले शारीरिक तथा मानसिकरुपमा स्वस्थ हुन सकिन्छ नै सुन्दरतामा समेत निखार आउँछ।

कुन समयमा व्यायाम गर्न हुन्छ र कुन समयमा व्यायाम गर्न हुन्न भन्नेमा भने ध्यान दिनु पर्छ। महिलाले सबै अवस्थामा व्यायाम गर्नु उचित हुन्न। कतिपय अवस्थामा व्यायाम गर्दा स्वास्थ्यमा नकारात्मक असर पुग्छ। त्यसैले व्यायाम गर्न हुने र नहुने अवस्थाका बारेमा थाहा पाउनु उचित हुन्छ।

रजश्वलामा व्यायाम
नेपाली समाजमा  रजश्वलालाई आ–आफ्नै किसिमले व्याख्या गरेको पाइन्छ। जसलाई संस्कार तथा संस्कृतिले समेत बाँधेको देखिन्छ। रजश्वला महिलाको मासिक धर्म चक्र हो। जसले स्वस्थ रहन सहयोग गर्छ। रजश्वला प्राकृतिक प्रक्रिया भएकाले यसलाई नकारात्मकरुपमा लिनु हुन्न।

रजश्वलाको समयमा आराम गर्नु पर्छ। शरीर सिथिल हुने भएकाले सुतिरहनु भने हुन्न। यस्तो अवस्थामा कडा किसिमको व्यायाय गर्नु उचित हुन्न। शरीरलाई कम भार पर्ने किसिमले बिहान–बेलुकी मर्निङवाक गर्न सकिन्छ। खाना पकाउने, घरको सरसफाइजस्ता काम गर्न सकिन्छ। कम तौल उठाउनुपर्ने किसिमका दैनिक काम गर्न सकिन्छ।

रजश्वलाको समयमा उत्पन्न हुने तनाव कम गर्नका लागि १०/१५ मिनेट गीत–संगीत सुन्न सकिन्छ। कडा किसिमको व्यायाम गरेको खण्डमा बढी मात्रामा रक्तश्राव हुने जोखिम हुन्छ। जसले व्यक्ति बेहोस हुनेजस्तो जोखिम हुन्छ। त्यसैले रजश्वला भएको पाँच दिनसम्म कडा किसिमको व्यायाम गर्नु उचित हुन्न। रजश्वला भएको अवस्थामा मांशपेशी कमजोर हुन्छ। यस्तो अवस्थामा यौन सम्पर्क गर्दा समेत बढी रक्तश्राव भई समस्या उत्पन्न हुन सक्छ। रजश्वला भएको अवस्थामा दुखाइका कारण यौन सम्पर्कमा असहजता हुने भएकाले यौन जीवन नै अस्तव्यस्त हुन्छ। यसमा सजगता अपनाउनु पर्छ। त्यसैले यस्तो अवस्थामा कडा किसिमको व्यायाम मात्रै हैन यौन सम्पर्कसमेत नगर्नु नै बुद्धिमता हुन्छ।

गर्भवतीमा व्यायाम    
विशेषगरी महिलाले गर्भवती भएको अवस्थामा अनावश्यक रुपमा शारीरिक तथा मानसिकरुपमा भार पर्नेगरी व्यायाम गर्नु हुन्न। शारीरिक तथा मानसिक रुपमा बढी भार पर्ने किसिमले व्यायाम गरेको खण्डमा गर्भमा रहेको भ्रुणमा नकारात्मक असर गर्ने जोखिम हुन्छ। ५/६ किलो भन्दा बढी तौल नउचालेकै ठिक। गर्भमा रहेको भ्रुणलाई कुनै पनि हिसाबले असर पर्नु हुन्न। यसमा सजगता अपनाउनु पर्छ। यसको अर्थ व्यायाम नै नगर्ने भन्ने हैन।

गर्भवती भएको अवस्थामा कुनै किसिमको काम तथा व्यायाम नगरी बस्नाले शरीर चलायमान नभई बच्चा जन्माउनसमेत गाह्रो हुन्छ। सहजरुपमा बच्चा जन्माउन आफ्नो शारीरिक अवस्था अनुसार नियमित रुपमा हल्का किसिमको व्यायाम गर्नुपर्छ। यसरी व्यायाम गर्नाले शरीरका मांशपेशी चलायमान हुन्छन्। जसले आमाको शरीरमा सहज रुपमा पोषण त पुग्छ नै भु्रणसमेत स्वस्थ हुन सहयोग पुग्छ। मांशपेशी चलायमान हुँदा शिशु जन्माउनसमेत सहज हुन्छ। जिमखानामै गएर व्यायाम गर्नु आवश्यक छैन। घरमै हल्का किसिमका व्यायाम गर्न सकिन्छ। हल्का तौल उठाउने, बिस्तारै हिँड्ने, भान्छाको धन्दापात गर्ने, खाना बनाउने जस्ता व्यायाम गर्न सकिन्छ।
यी त भए रजश्वला र गर्भवती भएको अवस्थाको व्यायाम। अब चर्चा गरौँ सुत्केरी अवस्थाको व्यायामको बारेमा।

सुत्केरीमा व्यायाम
महिलाले सुत्केरी भएको अवस्थामा कडा किसिमको व्यायाम गर्नु हुन्न। सामान्य किसिमले हिँडडुल गर्ने, सरसफाइ गर्नेजस्ता व्यायाम भने सुत्केरी भएको केही दिनबाट गर्न सकिन्छ।  सामान्यतः नेपालमा सुत्केरी भएको केही समयमै गह्रौँ तौल उठाउने गरेको पाइन्छ। विशोगरी गाउँघरमा सुत्केरी भएको २२ दिन पुग्नासाथ घाँस–दाउराका भारी बोक्नुपर्ने हुन्छ।

सुत्केरी भएको करिब तीन महिनासम्म गह्रौँ तौल उठाउनु भने हुन्न। गह्रौँ तौल उठाउँदा पाठेघर कोमल तथा कमजोर हुने भएकाले पाठेघरै बाहिर निस्कन सक्छ। पाठेघर बाहिर निस्किएको खण्डमा शारीरिक समस्या त हुन्छ नै मानसिक समस्यासमेत हुन्छ। शरीरका मांशपेशीमा नकारात्मक प्रभाव पर्ने भएकाले यस्तो अवस्थामा शारीरिक संरचना बिग्रने डरले व्यायामका लागि हतारिनु उचित हुन्न। जथाभावी व्यायाम गर्नाले शारीरिक सेप बिग्रने जोखिम त हुन्छ नै शरीरमा समेत नकारात्मक असर पुग्छ। यस्तो अवस्थामा महिलाको प्राथमिकता शिशुलाई स्तनपान गराउनु तथा शिशुको पालनपोषण नै हो। तीन महिनापछि बिस्तारै व्यायामको भार बढाउँदै लैजान सकिन्छ।

यति मात्रै हैन पाठेघर खस्ने समस्या उचित उपचार नभई बिग्रिएको खण्डमा क्यान्सरसम्मको जोखिम हुन्छ। त्यसैले सुत्केरी भएको अवस्थामा गह्रौँ तौल उचाल्न हुन्न। सुत्केरी अवस्थामा सामान्य हल्का किसिमको व्यायाम बाहेक कडा व्यायाम गर्नु हुन्न।

पोषण
व्यायाम गर्नु त छँदै छ। गर्भवती, सुत्केरी अवस्थामा मात्रै नभएर रजश्वला भएको अवस्थामा समेत सन्तुलित पोषणको आवश्यकता हुन्छ। यस्तो अवस्थामा हरियो सागपात तथा पहेँला फलफुल सन्तुलितरुपमा खानु पर्छ। दैनिक भान्छामा आइपुग्ने सागसब्जी प्रशस्त मात्रामा खानु पर्छ। दैनिक खानपानमा सन्तुलित भोजन गर्नुपर्छ। प्रशस्त पानी पिउनु पर्छ। सामान्य अवस्थामा भन्दा रजश्वला भएकोे अवस्थामा रक्तश्राव हुने भएकाले षौष्टिक आहारा बढी मात्रामा खानु पर्छ। पोषणको अभावमा व्यक्ति शिथिल हुन्छ। विशेषगरी सहर बजारमा बसोबास गर्ने महिलाले पोषणको रुपमा नोनी फलबाट बनेको जुस, घ्यूकुमारीको जुुस, जौको जमराको जुस (बार्ली), स्पिरुलिनाको जुस (लेउको जुस) सेवन गर्न सकिन्छ। यस्ता जुसले कमजोरीपना हटाउँछ। जसले शरीरमा स्फुर्ती ल्याउँछ। यस्ता जुस भने प्राकृतिक चिकित्सकको सल्लाहमा पिउनु उचित हुन्छ।
प्रस्तुतिः उपेन्द्र खड्का

Leave A Comment