भतिजले काकाबाट अंश पाउँछन् कि पाउँदैनन् ?

बुधबार, ०६ कार्तिक २०७६, ०१ : ५१ शुक्रवार
भतिजले काकाबाट अंश पाउँछन् कि पाउँदैनन् ?

स्विकृती बराल,अधिवक्ता

मेरो सम्पत्ति म आफैँले कमाएको हो तर मेरो भतिजले अंश चाहियो भनेर मुद्दा हालेछ। अब कानुनी प्रक्रिया के कसो हुन्छ ?
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ३ कोे दफा २०५ ले एकै परिवारका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई अंशियार मानेको छ। अंशको भागबण्डा लगाउँदा सगोलको सम्पत्ति र सगोलको सम्पत्तिबाट बढे बढाएको सम्पत्तिको मात्र अंशबण्डा लगाउनु पर्छ।

सगोलको सम्पत्तिमा परिवारका प्रत्येक सदस्य बराबरका हकदार हुन्छन्। निजी आर्जनबाट कमाएको सम्पत्ति हो भने त्यस्तो सम्पत्ति सगोलको सम्पत्ति मानिँदैन तर निजी आर्जनबाट कमाएको सम्पत्ति हो भन्ने कुरा प्रमाणित गर्न सक्नु पर्छ किनभने कानुन प्रमाण खोज्छ र प्रमाण भएमा मात्र विश्वास गर्छ। अंशबण्डा गर्नु भनेको परिवारको सगोलमा रहेको सम्पत्तिको बण्डा लगाउनु हो। अंशबण्डाको कुरा गर्दा सबैभन्दा पहिले अंशको दाबी गर्न पाउने हकदार को–को हुन् बुझ्न जरुरी हुन्छ।

अब सगोलको सम्पत्ति र निजी आर्जनको सम्पत्ति कसरी पत्ता लगाउने ? यसका लागि पनि मुलुकी देवानी संहिता, २०७४ को दफा २५६  ले  कस्ता–कस्ता सम्पत्ति निजी सम्पत्ति मान्ने र दफा २५७ ले कस्ता सम्पत्तिलाई सगोलको सम्पत्ति मान्ने भन्ने बारेमा स्पष्ट उल्लेख गरेको छ। आफ्नो ज्ञान, सीप वा प्रयासबाट आर्जन गरेको, दान, बकस वा अपुतालीस्वरूप प्राप्त गरेको,  चिठ्ठा वा उपहारस्वरूप प्राप्त गरेको, पारिश्रमिक, उपदान, निवृत्तभरण, उपचार खर्च, सञ्चयकोष, बीमा वा अन्य सामाजिक सुरक्षणबापत प्राप्त गरेको, कानुनबमोजिम मानो छुट्टिई भिन्न बसेको अवस्थामा वा त्यसरी मानो नछुट्टिए पनि आ–आफ्नो गरी खानु बस्ने गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति सगोलको हुन्न।

यसैगरी,  महिलाले विवाहपूर्व आर्जन गरेको, प्राप्त गरेको वा विवाह हुँदाका बखत माइतीबाट प्राप्त गरेको सम्पत्ति वा त्यसबाट बढे बढाएको,  महिलालाई पति वा पतितर्फका सबै अंशियारहरूको मञ्जुरीले निजको एकलौटी हक हुने गरी लिखत गरी दिएको वा पतितर्फका नातेदार वा इष्टमित्रबाट प्राप्त चल वा अचल सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति, बौद्धिक सम्पत्ति वा रोयल्टी स्वरूप प्राप्त गरेको, कानुनबमोजिम कुनै व्यक्तिको मात्र निजी सम्पत्ति हुने उल्लेख गरेको सम्पत्तिलाई निजी आर्जनको सम्पत्ति मानिन्छ।

त्यसैगरी पुख्र्याैलीबाट प्राप्त सम्पत्ति,  निजी सम्पत्तिबाहेक अंशियारको नाममा रहेको अन्य सम्पत्ति, र अंशियारले सगोलको खेती, उद्योग, व्यापार, व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे बढाएको सम्पत्तिलाई सगोलको सम्पत्ति मानिन्छ।

भतिजको समेत भाग लाग्ने सगोलको सम्पत्ति प्रयोग गरेर आर्जन गरेको सम्पत्ति हो भने त्यसमो भतिजको पनि भाग लाग्छ तर यत्तिकै सम्पत्ति देखेकै भरमा मुद्दा हालेर मात्र कसैको सम्पत्ति कसैले पाइहाल्ने होइन।

मुद्दादर्ता गर्ने दुवै पक्षले आफ्नो दाबी पुष्टि हुने आधार र प्रमाणहरु पेश गर्न सक्नुपर्छ र जसको प्रमाण बलियो र प्रभावकारी देखिन्छ फैसला उसैको हकमा हुन्छ। पहिले नै आफ्नो दाजु भाइबीच अंश छुट्याइसकेको लिखत छ भने कुनै पनि किसिमको तनाव लिनु पर्दैन किनभने भतिजले अंश पाउने भनेको आफ्नो बुबाको सम्पत्तिबाट हो अरुकोबाट हैन।

तर यदि दाजु भाइको बीचमै अंशबण्डा भएको छैन भने आर्जन गरेको सम्पत्ति सगोलको सम्पत्तिबाट नभई नितान्त आफ्नो निजी आर्जन हो भनेर प्रमाणित गर्न सक्नुपर्छ।

Leave A Comment